इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
स्याङ्जा - पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडक खण्डको एक सय ५७ किलोमिटर सडक स्तरोन्नतिका लागि वर्षौँदेखि आवाज उठ्दै आएको छ ।
स्याङ्जाको गल्याङ, वालिङ, भिरकोट, पुतलीबजारलगायत ठाउँमा सार्वजनिक सुनुवाइ गरी सरोकारवालाको राय तथा सुझाव सङ्कलन गरिएको सडक विभागका प्रतिनिधि युवराज सत्यालले बताउनुभयो । बुटवलबाट पोखरासम्म सुझाव सङ्कलन गरिएको उहाँले बताउनुभयो । 'सिद्धार्थ राजमार्ग धेरै पुरानो, साँघुरो र जीर्ण हुँदै गएको छ, यसको स्तरोन्नति गर्नुको विकल्प छैन', वालिङ नगरका मेयर कृष्ण खाण बताउनुहुन्छ ।
स्याङ्जालीको भविष्यसँगै जोडिएको यस राजमार्गको स्तरोन्नति अति अत्यावश्यक भएको उहाँको भनाइ छ । 'सडक छेउछाउका बासिन्दा पटक–पटक आतङ्कित भइरहनुभन्दा एकपटक दीर्घकालीन हुने गरी सडक विस्तार गर्नु उपयुक्त हुन्छ', खाणले भन्नुभयो । भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने सडकको स्तरोन्नति जरुरी छ ।
सिद्धार्थ राजमार्गको दायाँबायाँ रहेका घरटहरा बचाऔँ सङ्घर्ष समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ सडक स्तरोन्नति नगरिए यसको प्रयोगमा कमी आउने बताउनुहुन्छ । 'वैकल्पिक मार्ग प्रयोग गर्ने बढ्दै छन्, त्यसैले यो सडक खण्डकाे स्तरोन्नति आवश्यक छ', उहाँले भन्नुभयो । सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको ५२ वर्ष भए पनि अहिलेसम्म स्तरोन्नति हुन नसक्नु दुःखद् भएको उहाँको भनाइ छ । सडकका घुम्ती काट्दा र चौडा बनाउँदा अहिले सडक खण्डको लम्बाई करिब ३२ किलोमिटर कम हुने दाबी गरिएको छ । घुमाउरो र साँघुरो भएकै कारण दुर्घटना बढी हुने गरेको पाइएको छ ।
सिद्धार्थ राजमार्ग स्तरोन्नति गरी बाह्रैमास सञ्चालन गर्न सकिने बनाउने योजना छ । भारतसँग जोड्ने व्यापारिक मार्गका रूपमा रहेको यस राजमार्गको सबैभन्दा बढी ६७ किलोमिटर क्षेत्र स्याङ्जामा पर्छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने तथा तराईलाई पहाडसँग जोड्ने मुख्य सडकको रूपमा यो राजमार्ग रहेको छ । अहिले यो सडक ६ दशमलव ८ देखि ७ मिटर चौडा छ । अब स्तरोन्नति हुने सडक कुल १० मिटर चौडाइको हुने छ । स्याङ्जा अन्तर्गतको क्षेत्रमा ३७ पुल निर्माण गरिने छन्।
विस्तारित सडक खण्डमा ४७ हेक्टर वन क्षेत्र पर्छ । यसमा ४३ सामुदायिक वन र एक धार्मिक वन रहेको बताइएको छ । सडक विस्तारका क्रममा दुई हजार आठ सय ८६ रुख कटान गर्नुपर्ने देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।