कर्णालीका हिमाली जिल्लामा हिमपात, हवाई सेवा ठप्प

 माघ ११, २०७९ बुधबार १०:५२:१७ | रासस
unn.prixa.net

फाइल तस्बिर

सुर्खेत - कर्णालीका हिमाली जिल्लामा हिमपात भइरहेकाे छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ । त्यस्तै जाजरकोटको उत्तरी क्षेत्र, रुकुमपश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ । हिमपातपछि लामो समयदेखि काला देखिएका डाँडाकाँडा सेताम्य भएका छन् । 

डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाईसेवा दुई दिनदेखि ठप्प छ । लामो समयदेखि पानी नपरेर आकाशे पानीको भरमा लगाएको बालीनालीमा भने राहत पुगेको छ । हिमाली क्षेत्रमा  हिमपात हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या परेको छ ।

चिसोका कारण जनजीवन मुस्किल हुँदै गएको छार्काताङसुङका निमा गुरुङले बताउनुभयो । निम्न वर्गका स्थानीयवासीलाई मात्र हिमाली जिल्लामा रहेका कारण चिसोको प्रभाव त्यहाँ परेको छ । जाजरकोट, रुकुमपश्चिम, सल्यान, सुर्खेत र दैलेखमा परेको पानीका कारण यस क्षेत्रमा लगाएको गहुँबालीलगायत बेमौसमी तरकारी बालीमा राहत पुगेको किसान बताउँछन् । 

चिसोका कारण विद्यालयसमेत बन्द छन् । अन्य ठाउँमा वैशाखदेखि सुरु हुने नयाँ शैक्षिकसत्र हिमाली जिल्लामा भने फागुनदेखि सुरु भएर पुसमा बिदा हुने गर्दछ । यातायातको पहुँचदेखि विद्युत् सेवाको पहुँच नभएका हुम्ला, मुगु र डोल्पामा हिमपातले यहाँ सञ्चार सेवासमेत विच्छेद भएको छ । सौर्य ऊर्जाबाट सञ्चालन हुने यहाँका फोन सेवा लगातार तीन दिनदेखि घाम नलाग्दा अवरुद्ध भएको छ ।  

सदरमुकाममा रहेका टावर सञ्चालनमा रहे पनि गाउँमा रहेका सबै टावर बन्द भएका छन् । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ । हुम्लाको यारी, हिल्सा नाका, लिमी जाने बाटोसमेत हिमपातले अवरुद्ध भएको छ । उपल्लो डोल्पा र मध्य डोल्पाको सम्पर्कसमेत विच्छेद भएको छ । कर्णाली राजमार्गअन्तर्गत जुम्लाबाट मुगुसम्म सञ्चालन हुने यातायात सेवासमेत प्रभावित भएको छ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया