इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
महाेत्तरी - माघ दोस्रो हप्ता लागेसँगै पारिलो घाम लाग्न थालेपछि त्यसअघिको बाक्लो हुस्सु र चिसो स्याँठको मुटु कमाउने जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गएकाे आइतवारयता बिहानै घाम लागेर आङ तात्दै गए पनि किसान भने मन खुलाएर खुसी छैनन् ।
यसपालि पानी नै नपरि हिउँद सकिन लागेपछि किसानमा खुसी छाउन नसकेको हो । हिउँदे वर्षा नहुँदा खेतबारीका बालीबिरुवा क्रकँदै गएको हेरेर चित्त बुझाउनुपरेको किसानको भनाइ छ । 'ल हेर्नोस्, अब पारिलो घाम लागेर जिउ त तात्न थाल्यो, बाक्लो हुस्सु फाटेर झलमल्ल उज्यालो देखिँदा खुसी नै हुनुपर्ने हो', बलवा नगरपालिका–१० धमौराका ७० वर्षीय वासुदेव पासवानले भन्नुभयो, 'यसपालि पानी नपरि हिउँद बित्यो, आउने दिन खुसीका हुने छैनन् ।' हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कंन नसकेको र अब चाँडै पानीका मुहान सुक्दै जाने पासवानले चिन्ता व्यक्त गर्नुभयो ।
हिउँदे वर्षा जमिन भिजाउने मात्र नभइ बालीनालीका लागि अत्यन्त पोषिलो हुने यहाँका पाका किसान बताउँछन् । भर्खरै हुर्कँदै गरेका वैशाखी लहरे तरकारी, उखु, अन्नबालीमा गहुँ र आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने किसानको अनुभव छ । यसपालि वर्षा नै नभइ हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने चिन्ता बढेको भङ्गाहा नगरपालिका–४ पलारका ७५ वर्षीय किसान चौठी बाँतर बताउनुहुन्छ ।
हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोत इनार, चापाकल पनि गर्मी चढेसँगै चाँडै सुक्ने गरेका छन् । भङ्गाहा–४ कै रामनगरका ८० वर्षीय किसान रामनन्दन महतो यसपालि हिउँदमा पानी नपरि माघ दोस्रो हप्ता लागेसँगै घाम चर्कंदै गएको हुँदालगत्तै खानेपानीको हाहाकार पर्नसक्ने बताउनुहुन्छ ।
'माघ मध्यअघि नै खोल्साखोल्सी सुक्दैछन्, पहिले सदाबहार भुल्के पानीका मुहानमा अहिल्यै पानी देखिन छाडेको छ', बर्दिबास नगरपालिका–५ गणन्ताका ८० वर्षीय धनबहादुर स्याङ्वा भन्नुहुन्छ, 'अब यी पाखा बारीमा हरियो देखिने छाँट छैन ।'
फलफूल खेती (आँप, लिची, सपाटो र रुखकटहरसहितका फल) सघन हुने बर्दिबास नगरपालिकाका बिजलपुरा, पशुपतिनगर, खयरमारा, चेरु, टुटेश्वर, पाटु, वरडाँडा र माइस्थानका किसान यसपालि हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको प्रकोप बढ्ने चिन्तामा किसान छन् । यसैगरी जिल्लाकै फलफूल खेतीको पकेटक्षेत्र मानिने गौशाला नगरक्षेत्रका भरतपुर, लक्ष्मीनियाँ र बेलगाछीका किसान पनि हिउँदे वर्षा नहुँदा अपेक्षित उत्पादन लिन नसकिने चिन्ता व्यक्त गर्छन् ।
हिउँदे वर्षा बालीनालीका लागि माटो भिजाउने मात्र नभइ रोग लाग्न नदिने र बाली हलक्क बढाउने अमृतसरह भएको किसानको अनुभव छ । 'हिउँदे वर्षा सिँचाइका लागिमात्र होइन, बालीको पोषण र रोग प्रतिरोधका लागि पनि रामवाण हुन्छ', बर्दिबास–९ पशुपतिनगरका ८० वर्षीय किसान नथुनी महतो भन्नुहुन्छ, 'हिउँदे वर्षा नहुँदा प्रकृतिका सन्तुलन खलबलिन्छन्, जताततै यसको असर बढ्नेछ ।'
जिल्लाको कुल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये प्रायजसाेमा आकाशे पानीको भरमा खेती गरिन्छ । यहाँ १० प्रतिशतमात्र खेतीयोग्य जग्गामा स्थायी सिँचाइ पुगेको छ । हिउँदे वर्षा नहुँदा पानीका मुहान चाँडै सुक्ने र विभिन्न रोगव्याधका प्रकोप पनि बढ्ने गर्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।