इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - मानव बेचबिखन अनुसन्धान ब्युरोले बलि दिन नेपालबाट भारत पुर्याइएकाे आशङ्कामा एक १६ वर्षीया किशाेरीको उद्धार गरेकाे छ । ब्युरोको पहलमा भारतको दिल्लीमा रहेकाे मङ्गलबजार गल्लीबाट यही मङ्गलवार किशाेरीकाे उद्धार गरिएको हो । उद्धारपछि किशाेरीलाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ ।
ब्युराेले यहाँ आज पत्रकार सम्मेलन गरी किशाेरीको उद्धारबारे जानकारी दिएको हो ।'किशाेरीलाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ । भारत लैजानुअघि उनकाे को तौल, उचाइ, शरीरमा दाग, ट्याटु र रजस्वला भए/नभएको परीक्षण गरिएको रहेछ', ब्युरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भन्नुभयो ।
उहाँका अनुसार उनलाई भारत लैजानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो । ६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा ट्याटु नभएकाे, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको किशाेरीको खोजी हुने क्रममा उनलाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ ।
उहाँले थप्नुभयो,'प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले उनलाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ । उनीहरुको आउँदाे पूर्णिमामा उनको बलि चढाउने योजना रहेछ।'
निर्देशक श्रेष्ठले किशाेरी भने यसबारे जानकार नभएको बताउनुभयो । उहाँले भन्नुभयो,'हामी दुई महिनादेखि किशाेरीको खोजी अनुसन्धानमा जुटेका थियाैँ । दुई दिनअघि पाएको सूचनाका आधारमा किशाेरीको उद्धार गरिएको हो ।'
पीडित किशाेरी मङ्सिर १७ गते मामाघरबाट काठमाण्डाै ल्याइएको थियो । पुस १९ गतेसम्म काठमाण्डाैमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते उनलाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीमा रहेकाे पाहाडगञ्जमा पुर्याइएको प्रहरीको भनाइ छ ।
भारत पुर्याएपछि भारतका विभिन्न तीन ठाउँमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा उनलाई लगिएको प्रहरीकाे भनाइ छ । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण उनी मामाघरमा बस्दै आएकी थिइन् । ती किशाेरीलाई प्रलोभन देखाउनेमा किशाेरीको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ ।
अहिले प्रहरीले यस घटनामा संलग्न छ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीको तथ्याङ्कअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघ महिनामा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको छ ।
पछिल्ला पाँच वर्षमा ३० जना किशाेरीलाई बेचबिखन तथा ओसारपसार हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ । बेचबिखन तथा ओसारपसार हुनबाट किशाेरी, महिला, बालक र पुरुष गरी ४ सय ४३ जनाको उद्धार गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।