‘पाँच वर्ष भयो धुलाे खाएकाे, कति सास्ती खेप्नु’

 माघ २३, २०७९ सोमबार १०:२५:४५ | रासस
unn.prixa.net

तस्बिर : रासस

दाङ - तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै । खानेकुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ । 'घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ', उहाँले भन्नुभयो, 'धुलोले नानीबाबुहरूका आँखा रसाउँछनु, छाती दुख्ने समस्या हुन्छ ।'

घोराही–तुलसीपुर चारलेन सडक निर्माण जारी रहँदा यस क्षेत्रमा धुलोले समस्या बनाएको छ ।  त्यही ठाउँकै मुना पोख्रेललाई पनि त्यस्तै समस्याले सताउने गरेको छ । काम गर्ने क्रममा नाक, मुखमा धुलो पस्ने, घर वरिपरि धुलैधुलो हुने, बिहान सफा गरेको छत बेलुकीमा धुलैधुलोले भरिने समस्या छ । शरीरमा धुलौधुलो, मुखमा हातले छुँदा माटो नै निस्किने, माझेर राखेको भाँडामा पनि माटैमाटो हुने गरेको उहाँको दुःखेसो छ । 'बिहान बढार्यो बेलुकी धुलो, मुखमा हातले छोयो माटो नै निस्किन्छ', उहाँले भन्नुभयो, 'पाँच वर्ष भयो, यसरी सास्ती खेप्न थालेको ।'

सडकमा आवतजावत गर्दा यात्रुहरूलाई पनि त्यत्तिकै समस्या हुने गर्छ । पैदलयात्रु होस् वा गाडीमा यात्रु गर्दा पनि निकै सास्ती खेप्नुपरेको छ । 'धुलैधुलो हुँदा अगाडिको गाडी पनि देखिँदैन । श्वासप्रश्वासको समस्या हुन्छ, नै अगाडिको गाडी नदेखिँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ', चालक ध्रुव रावतले भन्नुभयो, 'गाडी चलाउन पनि समस्या हुन्छ ।'

यसरी धुलोले स्वास्थ्यमा निकै असर गर्ने चिकित्सकहरूले बताउने गर्छन् । धुलोले गर्दा घाँटी, फोक्सोमा समस्या निम्त्याउने, नियमित खोकी लाग्ने, औषधि खाँदा पनि सञ्चो नहुने अवस्था आउने डा अशोककुमार पण्डितले बताउनुभयो ।

लामो समयदेखि अलपत्र चार लेन 

घोराही–तुलसीपुर चार लेनको काम २०७५ साल माघदेखि सुरु भएको हो । तीस महिनामा काम सक्ने गरी सम्झौता भयो । तर अहिलेसम्म पनि त्यो काम पूरा नहुँदा यात्रुलाई मात्रै नभइ वरपरका बासिन्दालाई पनि समस्या हुने गरेको छ । यस सडकमा अहिलेसम्म सात जना पेटी ठेकेदार फेरिएका छन् ।  चौथोपटक म्याद थप भइरसकेको छ ।

२०७८ साल जेठ ६ गतेभित्र काम सक्नुपर्ने भए पनि त्यसो हुन सकेन । काम सक्ने त टाढाको कुरा छ प्रतिशतभन्दा बढी प्रगति हुन सकेन ।  त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलोपटक, २०७८ पुस २८ गते सक्ने गरी दोस्रोपटक म्याद थप भयो । तर काम अघि बढ्न नसकेपछि तेस्रोपटक २०७९ वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेन । अहिल खरिद ऐनको १२औँ संशोधनले  चौथोपटकका लागि २०८० असारसम्म स्वतः म्याद थप गरेको छ ।

सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाए त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगीले पेटी ठेकेदारका रूपमा जिम्मा पाए । त्यसपछि पुनः अनुप पाण्डे आए । उनले पनि गर्न नसकेपछि एकेन्द्र खड्का, विजय पाठक र रोशन श्रेष्ठले पनि प्रत्येकले पेटी ठेक्का पाए । उनीहरुबाट पनि काम हुन नसकेपछि अहिले सुनिलजङ्ग रायमाझी आएका हुन् । पटक–पटक म्याद थप हुने तर, काम नसिकँदा नागरिक स्तरबाट पनि विरोध हुने गरेको छ । केही दिनअघि मात्रै सामाजिक अभियन्ताहरूको पहलमा चार लेनमा परेका खाल्डाखुल्डी पुर्ने काम भएको थियो । 

चारलेन सडक भ्याटसहित एक करोड २१ लाख ८२ हजार तीन सय एक अमेरिकी डलर (नेपालीमा एक अर्ब २३ करोड रुपैयाँ) मा निर्माण हुन लागेको हो । भारतीय तथ्य इञ्जीनियरिङले ठेक्का लिएको हो । तर, उसले विभिन्न पेटी ठेकेदारलाई जिम्मा दिने तर, समयमा काम नगर्ने अवस्था हुँदा नागरिकले निकै सास्ती खेप्नुपरेको छ ।

पछिल्लो समय पुस १८ देखि बुटवलका सुनिलजङ्ग राइमाझीले पेटी ठेक्का पाएका छन् । तर, उनले पनि काम अगाडि बढाउन सकेका छैनन् । तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीलाई दैनिक करिब तीन लाख २१ हजार नौ सय रुपैयाँ जरिबाना गर्ने गरेको छ । कुल रकमको १० प्रतिशतसम्म जरिबाना हुने व्यवस्थाअनुसार ठेकेदार कम्पनीलाई जरिबाना गरिएको हो । यसको मुख्य ठेकेदार भारतीय तथ्य इञ्जीनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट रहेको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया