उच्चस्तरीय संयन्त्रको बैठक भोलि, राष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल हुने

 माघ २५, २०७९ बुधबार १२:१७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर: केपी ओलीकाे सचिवालय

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । 

बिहान ओली निवास बालबोटमा भएको छलफलमा भोलि संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको उम्मेदवारको विषयमा सत्तारुढ दलहरुभित्र एकमत भैनसकेको बेला संयन्त्रको बैठक बस्न लागेको हो ।

यसअघि सरकार गठनको बेला एमालेलाई राष्ट्रपति दिने सहमति भए पनि पछिल्लोपटक प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुने बताउँदै आउनुभएको छ ।

कांग्रेसलेसमेत सरकारलाई समर्थन दिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाउन थाल्नुभएको हो । तर एमालेले भने पूर्वसहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आएको छ । निर्वाचन आयोगले आउँदो फागुन २५ गते राष्ट्रपतिको चुनावको मिति तोकेको छ । 

ओली र प्रचण्डबीच आज भएको भेटवार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थाको बारेमा पनि कुराकानी भएको छ ।

सर्वोच्चको आदेश र राष्ट्रिय स्वतन्त्र पार्टीको पछिल्लो निर्णयपछि गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय खाली छ ।

यी मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगर्ने गरी प्रधानमन्त्रीले नै सम्हाल्दै आउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउन प्रयास भैरहेको सत्तारुढ नेताहरुको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया