एमालेले दुई महिने सङ्गठन सुदृढीकरण अभियान चलाउने

 माघ २६, २०७९ बिहीबार १८:२१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले सङ्गठनात्मक सुदृढीकरणका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको वैचारिक र सङ्गठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । 'मिसन ग्रासरुट' नाम दिइएको अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले पार्टीलाई वैचारिक र सङ्गठनात्मकरूपमा जगैदेखि बलियाे बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताउनुभयो ।

अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलाई पालिकामा खटाइने उपमहासचिव ज्ञवालीले बताउनु भयो । केन्द्रीय सदस्यहरूलाई पार्टी सदस्यको सदस्यता नवीकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टी कमिटीका सम्बन्ध सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उहाँले उल्लेख गर्नुभयो । अभियान फागुन ५ गतेदेखि औपचारिकरूपमा सुरु हुने उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘पार्टीमा वैचारिक, सङ्गठनात्मक सुदृढीकरण र विस्तारका लागि आउँदाे फागुन र चैत दुई महिना विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ । दुई महिनाभर हाम्रो पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य विभिन्न पालिकामा खट्नुहुनेछ । उहाँहरूलाई ११ वटा काम तोकिएको छ । अभियानकाे विधिवत् थालनी फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रमबाट सुरु हुनेछ । सातै प्रदेशमा एक/एक जना उपाध्यक्ष जानुहुन्छ ।’

बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई दिएको छ । त्यस्तै धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी शिला यादवलाई दिएको छ भने अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी डा. विन्दा पाण्डेलाई दिएको छ । त्यसैगरी पार्टीको अपाङ्गता क्षेत्र हेर्ने जिम्मेवारी पार्वत गुरुङलाई दिने निर्णय भएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया