स्वास्थ्य चौकीले तलब दिएर चालक राख्न नसकेपछि नि:शुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य

 माघ २७, २०७९ शुक्रबार १३:४१:१० | रासस
unn.prixa.net

तस्बिर : रासस

गुल्मी - गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आउनुभएको छ । उहाँले  ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गएकाे फागुनदेखि  निःशुल्क चलाउँदै आउनुभएको हो ।

गएकाे वैशाखमा वडा सदस्यमा निवार्चित भएपछि थापाले एम्बुलेन्स चलाउँदै आउनुभएको छ । स्वास्थ्य चौकीले मासिक तलब दिएर चालक राख्न नसकेपछि उहाँले समाजसेवीको रुपमा विना तलब एम्बुलेन्स चलाउन थाल्नुभएको हो । लामो समयसम्म वैदेशिक रोजगारीमा रहनुभएका वडासदस्य थापा विदेशबाट फर्केपछि पनि आफ्नो सिपअनुसार वडामा सेवा गरिरहनुभएको हो ।    

चालक राख्न नसकेपछि एम्बुलेन्स बेकामे भएर थन्किएकाले आफूमा सेवाको भावना जागेको उहाँले जानकारी दिनुभयो । त्यही सेवाभावका कारण गएकाे पालिका चुनावमा उहाँले नेपाली कांग्रेसबाट वडा सदस्यको टिकट पाउनुभयो । निवार्चित भएपछि पनि थापाले थप जिम्मेवारी महसुस गरी एम्बुलेन्स चालकको कामलाई निरन्तरता दिनुभयो । पछिल्लो समय ग्रामीण भेगका स्वास्थ्य चौकीमा एम्बुलेन्सको व्यवस्था भए पनि चालक राख्न कठिनाइ भइरहेको छ । त्यही समस्यामा रहेकाे मालिकाको विकट मानिने ह्वाङदी स्वास्थ्य चौकीलाई वडासदस्य थापाले राहत दिलाउनुभएको छ । 

वडा सदस्यको कार्यकाल रहुन्जेल पाँच वर्षसम्म निःशुल्क एम्बुलेन्स चलाएर सहयोग गर्ने उहाँले बताउनुभयो । 'समाजसेवा गर्ने हो, माध्यम जस्तो पनि हुनसक्छ', वडासदस्य थापाले भन्नुभयो, 'स्वास्थ्य संवेदनशील कुरा हो, नचलेको एम्बुलेन्स निःशुल्क चलाएर सहयोग गरेको छु ।' उहाँले वडासदस्यको हैसियतमा वडाबाट पाउने सेवासुविधा लिएर काम गरिरहनुभएको छ । आफूले पाँच वर्षसम्म वडासदस्यको भूमिकासँगै निःशुल्क एम्बुलेन्स चलाएर सहयोग गर्ने थापाले बताउनुभयो । उहाँको  कामलाई वडावासी सबैले प्रशंसा गरिहहेका छन् ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Keshav Dhakal

    Feb. 12, 2023, 3:23 a.m.

    सेवाको भावना भएकोमा उहाँलाई नमन छ।

  •  0 Reply
  • मन बहादुर थापा

    Feb. 10, 2023, 6:12 p.m.

    अति नै सर्हानिय काम भयको छ ! सदियु देखि थापाहरुले देशको लागि केही न केही बलिदान गरिरहेकै छन ! धन्यवाद छ सुर्य थापा कालिकोटे थापा को नाम रोशन गरेका छौ तिम्रो यो योगदान को जनताले पक्कै पनि मुल्यांकन गर्ने छन

  •  0 Reply

तपाईको प्रतिक्रिया