गलेश्वर मन्दिरमा सङ्कलन भएकाे भेटीबाट सडकबत्ती जडान

 फागुन २, २०७९ मंगलबार ७:३:३३ | रासस
unn.prixa.net

म्याग्दी - म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट सडकबत्ती जडान गरिएको छ ।

गलेश्वर बजारको २ दशमलव ५ किलोमिटर सडक र मन्दिर परिसरमा सोमवार ५५  सडकबत्ती जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटी परिचालन गरेर सडकबत्ती राखिएको जानकारी दिनुभयो ।

सडकबत्ती जडान गर्न कुल दुई लाख ३० हजार सात सय ५० रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । स्थानीयवासी, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई रातका समयमा पैदल र गाडीमा आवतजावतका लागि सहज भएको छ।

'गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट बत्ती जडान गरिएको छ', अध्यक्ष रेग्मीले भन्नुभयो, 'मर्मत र विद्युत् महसुल पनि मन्दिरको आम्दानीबाट व्यवस्थापन गर्छाैँ।' सडकबत्तीले बजारलाई उज्यालोका साथै सुरक्षित बनाउन सहयोग पुगेको स्थानीयवासी बमबहादुर पुनले बताउनुभयो ।

गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी पुजारी, कर्मचारीको तलब, संस्कृत विद्यालय, ज्येष्ठ नागरिक आश्रम सञ्चालन र पूर्वाधार निर्माणमा परिचालन हुँदै आएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब  १० करोड रुपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको छ ।

गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरूपमा गनेर सार्वजनिक गर्ने गरिएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि रहेको गलेश्वरलाई पश्चिमको पशुपतिनाथ र मुक्ति क्षेत्रको प्रवेशद्वारका रूपमा चिनिन्छ ।

साउन महिनाको सोमवार, बालाचर्तुदशी, महाशिवरात्रि पर्वमा विशेष मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआजा हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गर्नाले पुण्य मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया