एमालेलाई 'रबर स्ट्याम्प' राष्ट्रपति चाहिएकाे छ : प्रदीप पाैडेल

 फागुन ३, २०७९ बुधबार १४:३९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिले नेकपा एमालेलाई राष्ट्रपति नभई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको आरोप लगाउनुभएकाे छ । आज बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाैडेलले यस्ताे आराेप लगाउनुभयाे । उहाँले संविधानको रक्षा गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपति यहाँ चाहिएको होइन, रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ । त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनेर मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौँ ।’ 

सांसद पाैडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुपरप्रधानमन्त्रीको संज्ञा पनि दिनुभयाे । ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चलाउने प्रयास भइरहेको भन्दै ओलीले सुपरप्रधानमन्त्री बनेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरिरहेको आरोप लगाउनुभएको हो । उहाँले ओलीले सुपरप्रधानमन्त्री ठानेर फुर्ती प्रस्तुत गरिरहेको भन्दै तत्कालीन ओली सरकारमा भएको संसद् विघटन कायरता भएको उल्लेख गर्नुभयो । उहाँले अध्यक्ष ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोसिस गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘संसद् विघटनको महिमा गान भएको हामीले यही सदनमा सुन्यौँ । वास्तवमा संसद् विघटन कायरता थियो । कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोसिस गरिएको छ । म चुनौती दिन चाहन्छु, अब कायरता दोहोरिन दिइने छैन । यो संसद् पनि असुरक्षित छ भनेर अनुमान गर्ने स्थिति बनेको छ । यो संसदमा ढोक्सा भन्ने शब्द पूर्वप्रधानमन्त्रीज्यूले चर्चित बनाउनुभयो । नेपाली कांग्रेसले ढोक्सा थापेको होइन । संसद्को स्थायित्वको निम्ति, संसद्लाई सुरक्षित गर्नका निम्ति उभिएको हो । पूर्वप्रधानमन्त्रीज्यूले कुन जङ्गल, कुन बाघको कुरा गर्नुभएको हो ? उहाँसँग के छ र लिनका लागि हामीले ढोक्सा थाप्ने ? बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धन आज कस्तो छ ? अहङ्कारले अहिलेको परिस्थिति सम्हालिँदैन । प्रधानमन्त्रीभन्दा पनि माथि सुपरप्रधानमन्त्री भएर फुर्ती प्रस्तुत गरिएको थियो, आज किन सुस्त छ ? किन बालकोट र बालुवाटारको दौड व्यापक बढेको छ ।’

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया