इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा हुने भिडलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा गाडीको रुट र पार्किङस्थल निर्धारण गरिएको छ । आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको भिड बढ्दै जाँदा आवश्यकता अनुसार गाडी डाइभर्ट गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गौशाला क्षेत्रतर्फ जाने गाडीलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगङ्गाबाटै डाइभर्सन गरिएको छ । यसैगरी मालवाहक गाडीलाई तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामङ्ल पुल र बसुन्धाराबाटै डाइभर्ट गरिएको छ भने बस तथा माइक्रोबस, टेम्पो र मालवाहक गाडीका लागि फरक–फरक रुट निर्धारण गरिएको छ ।
रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्ल हुँदै तिलगङ्गासम्म पुग्ने र त्यही मार्ग हुँदै रत्नपार्क फिर्ता हुने गरी व्यवस्था मिलाइएको छ भने रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र त्यही मार्ग हुँदै जमलसम्म तत्पश्चात महेन्द्र सालिक तीनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने गरी व्यवस्था मिलाइएको छ ।
कालोपुल हुँदै कपन चल्ने गाडीहरु खानीविभाग, लाजिम्पाट हुँदै महाराजगञ्जको बाटो चलाउने गरी रुट तोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी राजेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चाबहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्र सालिक, कृष्णपाउरोटी, जयनेपाल, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै चल्ने भएका छन् ।
यसैगरी जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरु चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चल्ने रुट तोकिएको छ । उता जोरपाटी, बौद्ध, चाबहिल हुँदै महाराजगञ्ज तर्फ जाने मालवाहक गाडीहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्ण हल हुँदै सुकेधारा, महाराजगञ्जतर्फको रुट तोकिएको छ ।
कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाह गाडीहरु कोटेश्वर, सातदोबाटो, कलङ्की, महाराजगञ्ज र बौद्ध जाने मालवाहक गाडीहरु गोपीकृष्णहल, कपन, महाङ्काल, चुच्चेपाटी हुँदै बौद्ध तर्फ जाने रुट तोकिएको छ ।
कोटेश्वर तीनकुने हुँदै पशुपति वरपर पुग्नु पर्ने मालवाहक गाडीहरु तीनकुनेसम्म जान सक्ने बनाइएको छ । महाराजगञ्ज, चाबहिल हुँदै पशुपति वरपर पुग्नुपर्ने मालवाहक गाडीहरु बसुन्धारासम्मको रुट तोकिएको छ ।
कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक गाडीहरु जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्मको रुट दिइएको छ । यसैगरी तीलगङ्गा आँखा अस्पताल अगाडि तीर्थयात्री, दर्शनार्थी र विदेशी पर्यटकहरुका गाडी पार्किङको व्यवस्था गरिएको छ भने देवउद्यानमा रहेको कोषको कार्यालय र भण्डारखालमा विकास कोषले बितरण गरेको पासवाहक सरकारी र प्रहरीका गाडी पार्किङको व्यवस्था गरिएको छ ।
साथै सिफल चौरमा पासवाला गाडी र स्थानीय दर्शनार्थीका गाडी पार्किङको व्यवस्था गरिएको छ । गुह्येश्वरी पारी गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थयात्रीहरुका गाडी पार्किङको व्यवस्था गरिएको छ । पशुपति क्षेत्रमा रहेको वनकाली क्षेत्रमा महाशिवरात्रिको अवसरमा शिविर सञ्चालन गर्ने सङ्घ संस्थाहरुका गाडी, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङकरहरु पार्किङको व्यवस्था गरिएको छ ।
पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तीलगङ्गा कोरिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त, ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरको उपलब्ध ठाउँ, गुह्येश्वरीपारि गरी पाँच ठाउँमा व्यवस्थापन गरिएको छ । यसैगरी विमानस्थल, गौशाला, चाबहिलको चक्रपथमा यात्रुहरुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक गाडी गुड्न दिने र आवश्यकताअनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइएको छ ।
सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिने कोषले जनाएको छ । कोषले मन्दिर परिसरमा मासु, जाँड–रक्सी तथा कुनै पनि प्रकारका नशालु पदार्थ नखान नगर्न आग्रह गरेको छ । कोषले यस पटकको महाशिवरात्रिमा झन्डै २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ ।
महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
बिहान ११ बजेसम्म साढे चार लाख दर्शनार्थीले पशुपतिनाथकाे दर्शन गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।