प्रधानमन्त्री, मन्त्री र सांसदले काठमाण्डाै उपत्यकामा घरजग्गा किन्न नपाउने व्यवस्था गराैँ : सांसद सुवाल

 फागुन १०, २०७९ बुधबार १४:३६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरूले काठमाण्डाै उपत्यकामा घरजग्गा किन्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । देशको सन्तुलित विकास र काठमाण्डाै उपत्यकामा आउने विपद् व्यवस्थापनका लागि पनि प्रधानमन्त्री, मन्त्री, सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरूले काठमाण्डाै उपत्यकामा घरजग्गा किन्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने उहाँको तर्क थियो । 

बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाण्डाै उपत्यका विकास प्राधिकरणको कामै नभएको भन्दै खारेज गर्न पनि माग गर्नुभयो । काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँमा डोजर लगाएर जथाभाबी भत्काउने गरिएकोमा आपत्ति जनाउँदै उहाँले त्यसले ठूलो विपद् ल्याउनेतर्फ पनि सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभयो । 

सांसद सुवालले भन्नुभयो, ‘काठमाण्डाै उपत्यका विकास प्राधिकरण अविलम्ब खारेज गर्न आवश्यक छ । ललितपुरको सुनाकोठी–ठेचो र चापागाउँका पुरानो बस्ती भत्काएर सडक विस्तार गरिएकोमा नागरिककाे विरोध छ । काठमाण्डाैमा घर भत्काएर सडक चौडा गरिँदैमा सडक जाम हट्ने छैन । पहिरोलगायत विपत्तिबाट सडक अवरोध भएमा काठमाण्डाै उपत्यकामा खाद्यान्न आपूर्ति राेकिने र यहाँका नागरिक भोकभोकै मनुपर्ने अवस्था छ । २०७२ सालको जस्तो ठूलो भूकम्प काठमाण्डाैमा गएमा भाग्ने ठाउँ नभएर यहाँका लाखौँ नागरिककाे ज्यान जाने अवस्था छ । यस कारण प्रधानमन्त्री, मन्त्री, सांसद र सरकारका उच्च अधिकारीहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा बजार विकास गरी स्थानीय नागरिसँगै घर बनाएर बस्नुपर्ने, काठमाण्डाै उपत्यकामा घरजग्गा किन्न नपाउने र देशको सन्तुलित विकास गर्ने कानुन बनाउन जरुरी छ ।’

सांसद सुवालले भक्तपुरमा रहेकाे नगरकोट सडक खण्डको निर्माण कार्य सम्पन्न गराउन पनि सरकारलाई सचेत गराउनुभयो । आठ वर्षदेखि यस सडक खण्डको निर्माण कार्यले पूर्णता नपाएकोमा उहाँको आक्रोश थियो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया