सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लड...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एअरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले जनाएकाे छ ।
आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती समक्ष पेस गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुटि देखिएको हो । २०७९ साल जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ट्वीनअटर (एन–एइटीरडीएचसी ६–३०) जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको ज्यान गएकाे थियाे । जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो ।
प्रतिवेदनअनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम’ (टीएडब्लुएस) बन्द गरिएको थियो । त्यहीकारण चालक दलले जहाजबाट अगाडि पहाड छ भन्ने जानकारी पाउन सकेनन् । सरकारले गएकाे जेठ १६ गते जेठमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगको सदस्यमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनीयर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य सदस्य र सदस्य सचिव बुद्धिसागर लामिछाने रहनुभएको थियो ।
आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेका अनुसार जहाज दुर्घटनामा चालक दलको त्रुटि पाइएको छ । जहाजमा जडित प्रणाली सही तरिकामा उपयोग गर्न नसक्दा जहाज पहाडमा ठोक्किन पुगेको दुर्घटनाको कारणमा उल्लेख गरिएको छ । टीएडब्लूएस प्रणाली बन्द नगरि जहाज उडाएको भए दुर्घटनामा पर्नुभन्दा २ मिनेट अगाडि नै चालक दलका सदस्यलाई चेतावनी प्राप्त हुने थियो । जसले गर्दा दुर्घटना टर्न सक्ने सम्भावना रहन्थ्यो ।
मौसम खराबका कारण पाइलटले अगाडिको दृश्य राम्रोसँग देख्न पाएनन् । चालक दलले कम्पनीले तोकेको उडान मापदण्ड पनि पालना नगर्दा जहाज दुर्घटनामा परेको प्रतिवेदनमा भनिएको छ । आयोगले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अमेरिकाको नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डसमेतको सहयोगमा प्रतिवेदन तयार पारिएको छ ।
प्रतिवेदन ६० दिनको समय दिएर अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनलगायत सम्बन्धी देश र निकायमा रिभ्यूका लागि पठाउने र त्यसपछि सबैको जानकारीका लागि सार्वजनिक गरिने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।