सन्तुलित परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना जरुरी : राष्ट्रपति

 फागुन ११, २०७९ बिहीबार १८:४१:२१ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरि हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७५ औँ वार्षिकोत्सव समारोहलाई आज बिहीवार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो परिवेशअनुरूप नेपालको कुटनीतिक सम्बन्ध सन्तुलित तवरबाट सञ्चालन हुनुपर्ने बताउनुभयो । ‘बदलिँदो परिवेशमा नेपालको परराष्ट्र नीतिको उद्देश्य र लक्ष्य प्राप्तिका लागि भइरहेका प्रयासका बारेमा यस्ता फोरममा छलफल हुन जरुरी छ’, उहाँले भन्नुभयो ।

एकातिर विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा अभूतपूर्व विकासले मानव जीवनलाई सहज र सुखी बनाउन योगदान पुगेको र अर्कातर्फ विश्वव्यापीरूपमा अभूतपूर्व चुनौतीको सामना गरिरहेको भन्दै राष्ट्रपति भण्डारीले भूराजनीतिक जटिलता, बढ्दो असमानता, जलवायु परिवर्तनले ल्याएको सङ्कटलगायतका कारणले विश्व शान्ति र समृद्धिमा नयाँ चुनौती उत्पन्न भएको उल्लेख गर्नुभयो ।

उहाँले आत्मनिर्भर, स्वावलम्बी र स्वाधीन अर्थतन्त्रको विकासमा वर्तमानको अन्तरनिहीतलाई चिर्दै नेपालको उपस्थितिलाई अर्थपूर्ण र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । नेपालले सधैँ आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ता अक्षुण्ण राखेको भन्दै भण्डारीले परराष्ट्र नीतिमा व्यापक साझा सहमति तथा एकीकृत दृष्टिकोण निर्माण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । ‘बदलिँदो आन्तरिक तथा अन्तर्राष्ट्रिय परिवेशलाई विचार गरी आफ्नो राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति सञ्चालन गर्ने कुरा हाम्रो प्राथमिकतामा पर्नुपर्छ । नेपालको संविधानले निर्दिष्ट गरेको देशको शासन सत्ता, अखण्डता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ’, उहाँले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपालको परराष्ट्र नीतिको प्रमुख उद्देश्य नेपाल र नेपाली नागरिकको हित प्रवर्धन गर्नु हो भन्दै अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि उच्च राख्न र सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न प्रभावकारी कुटनीतिको माध्यमबाट अनुकूल अन्तर्राष्ट्रिय वातावरणको सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भूपरिवेष्टित राष्ट्रको पारवहन अधिकारको पैरवी तथा पर्वतीय देशको विकाससम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउन नेपालले निरन्तर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले दिगो शान्ति, समृद्धि र नागरिकको जीवनमा परिवर्तन ल्याउन नेपालले आर्थिक सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै दिगो विकासका लक्ष्य, अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय विकासको आकाङ्क्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । आर्थिक विकास, वैदेशिक लगानी प्रवर्धन, प्रविधि हस्तान्तरण र निर्यात प्रवर्धनमा राष्ट्रिय विकासलाई अन्तर्राष्ट्रिय सद्भाव र सहयोग अभिवृद्धिका लागि ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रपति भण्डारीले दुई छिमेकी देश भारत र चीनसँगको मित्रवत् सम्बन्धलाई थप प्रगाढ तुल्याउँदै पारस्परिक लाभका आधारमा सौहार्दपूर्ण सम्बन्ध कायम गरी आर्थिक लगानी आकर्षण गर्न पहल गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भारत र चीनले आर्थिक विकासमा गरेको अभूतपूर्व उपलब्धिबाट नेपाल खुसी रहेको भन्दै यसबाट अधिकतम लाभ लिनसक्नुपर्नेमा जोड दिनुभयो ।

दुई निकट छिमेकी देशका साथै अन्य मित्रराष्ट्र तथा श्रम गन्तव्य देशसँगको सम्बन्धलाई पनि उत्तिकै ध्यान दिन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपालको अन्तर्राष्ट्रिय छविको प्रवर्धनका साथै आर्थिक विकास र सामाजिक प्रगतिका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोग प्राप्त गर्न संयुक्त राष्ट्र सङ्घलगायत संस्थासँगको सम्बन्धलाई सुदृढ तुल्याइनुपर्ने खाँचो औँल्याउनुभयो ।

संयुक्त राष्ट्र सङ्घको बडापत्रअनुरूप सार्वभौम समानताको सम्मान, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मान सबै राष्ट्रले आत्मसात् गर्दै अन्तर्राष्ट्रिय शान्ति र विवादरहित समाधानका लागि कुटनीतिक संवादका रूपमा पहल गरिनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो । साथै उहाँले विश्व शान्ति, असंलग्न र पञ्चशीलमा आधारित नेपालको परराष्ट्र नीतिलाई सुदृढ बनाउने उद्देश्यका साथ सकारात्मक गोष्ठी र छलफलजस्ता महत्त्वपूर्ण कार्यक्रम गर्दै आएकोमा संस्थाको सराहना गर्दै आउँदा दिनमा पनि यस्ता प्रयासलाई निरन्तरता दिन आग्रह गर्नुभयो । राष्ट्रपतिले देश र विश्वमा भएका परिवर्तनका सन्दर्भलाई ध्यानमा राखी यस्ता सार्वजनिक मञ्चले परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय मामिलामा वस्तुगत तथा सान्दर्भिक पक्षमाथि छलफल र बहस गर्नुपर्दछ भन्दै यसले परराष्ट्र नीतिमा साझा दृष्टिकोण निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व–परराष्ट्र मन्त्री डा. भेषबहादुर थापाले नेपालले सन्तुलित कुटनीतिको माध्यमबाट विश्वपरिवेश जटिल बनिरहेको आजको सन्दर्भमा शान्ति प्रवर्धनका निम्ति सकारात्मक र समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

परिषद्का अध्यक्ष हेमन्त खरेलले कुटनीतिक बहस र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनामा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । त्यस अवसरमा परिषद्ले प्रकाशन गरेको स्मारिका राष्ट्रपति भण्डारीले विमोचन गर्नुभएको थियो । त्यस अवसरमा कुटनीतिक तथा आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै परिषद्ले डा. थापालाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरेको थियो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया