सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लड...
मंसिर १५, २०८१ शनिबार
रुकुम – रुकुम पूर्वमा टर्कीबाट १६ हजार दाँते ओखरको बिरुवा ल्याइएका छन् । डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको बिरुवा ल्याएको हो । ती बिरुवा जिल्लाको विभिन्न ठाउँमा भोलि मङ्गलवार फागुन १६ गते एकै साथ लगाइँदै छ । लुम्बिनी प्रदेश वन मन्त्रीको उपस्थितिमा बिरुवा रोपिने वन कार्यालयका डिभिजनल वन अधिकृत जीतेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।
उहाँकाअनुसार ओखरका बिरुवा माग गर्दै परेको आवेदनमाथि हेरफेर गरेर एक सय ३८ किसानलाई ओखरको बिरुवा वितरण गरिएको छ । प्रत्येक किसानले न्यूनतम १० बोटदेखि ६६ बाेटसम्म ओखरको बिरुवा लिएका छन् । समग्रमा सिस्ने गाउँपालिकामा ७० घरधुरीलाई आठ हजार तीन सय ८५ बोट, भूमे गाउँपालिकामा ४० घरधुरीलाई छ हजार पाँच सय ४५ र पुथा उत्तरगङ्गा गाउँपालिकामा २८ घरधुरीलाई दुई हजार छ सय १४ बोट दाँते ओखरको बिरुवा वितरण गरिएको डिभिजनल वन अधिकृत खड्काले बताउनुभयो ।
भोलि सिस्ने गाउँपालिका–५ काे रुमाल बारामा लुम्बिनी प्रदेशका वन मन्त्री दुर्गाप्रसाद चौधरी, भूमे गाउँपालिका– ३ झुङ्लाबाङमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ र पुथा उत्तरगङ्गा गाउँपालिकाको १३ पिपलतुङमा प्रदेश सांसद सुरुल पुन, दिलकुमारी बुढा र सरिता पुनले एकै साथ ओखरको बिरुवा रोपेर उद्घाटन गर्ने कार्यक्रम छ ।
यी कार्यक्रममा तीन वटै पालिकाका अध्यक्ष तथा उपाध्यक्ष आ–आफ्नै क्षेत्रमा खटिनुहुने छ । अन्य ठाउँमा वन कार्यालयका कर्मचारीको निगरानीमा ओखरका बिरुवा लागाइने भएको छ । वन कार्यालयका अनुसार सिस्ने गाउँपालिकाको १ देखि ८ सम्मका सबै वडा, भूमे गाउँपालिकाको १, ३, ६, ७, ८ र ९ नम्बर वडा तथा पुथा उत्तरगङ्गा गाउँपालिकाको १, २, ६, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा ती बिरुवा रोपिने भएको छ । यी वडाको ४० हेक्टर जमिनमा भोलि एकै साथ १६ हजार बिरुवा रोपिने डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।
गएकाे वर्ष पनि वन कार्यालयले फरनर जातकै १० हजार ओखरको बिरुवा कसानलाई वितरण गरेकामा २५ हेक्टर जमिनमा ती बिरुवा लगाइएको थियो । यसै वर्ष पनि कार्यालयले जुम्लाबाट हाड्ले जातको एक हजार सात सय दाँते ओखरको बिरुवा ल्याएर वितरण गरेको थियो ।
हाडे ओखर प्रशस्त मात्रामा पाइने रुकुम पूर्वमा दाँते ओखरबाट राम्रो आयआर्जनको सम्भावना भए पनि लगाइएका बिरुवालाई हुर्काउन भने चुनौती छ । सिँचाइको सुविधा नभएको र किसानसँग आवश्यक ज्ञान नहुँदा पनि ओखर खेतीबाट सफलता हात पार्न सकिँदैन कि भन्नेमा किसानमा चिन्ता छाएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रुकुम पूर्व रोल्पा कार्यालयले पनि जिल्लाको विभिन्न ठाउँमा दाँते ओखरको बिरुवा वितरण गर्दै आइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।