एमाले भन्छ– ‘रास्वपाले हामीलाई सघाउँछ’, रास्वपा भन्छ– ‘पुस १० काे सहमति हेरेर निर्णय लिन्छाैँ’

 फागुन १८, २०७९ बिहीबार १६:०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ । नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनाव नजिकिँदै गर्दा संसदमा सहभागी हुने राजनीतिक दलहरूसँग भेटघाट गर्ने क्रमस्वरूप नै आज बिहीवार रास्वपा सभापति लामिछानेसँग भेट गरेकाे हाे । 

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले रास्वपाले राष्ट्रपति चुनावमा आफ्नो पार्टीका उम्मेदवार नेम्वाङलाई सहयोग गर्ने कुरा भनाइबाट बुझेको बताउनुभयो । उहाँले यस बेला सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजान सक्ने व्यक्ति नेम्वाङ नै रहेको जिकिर पनि गर्नुभयाे । 

उहाँले भन्नुभयो, ‘संविधान सभा अध्यक्षको रूपमा र सभामुखको रूपमा सफल भूमिका खेल्नुभएको सुवासचन्द्र नेम्वाङलाई हामीले मतदान गर्न आग्रह गर्दै रास्वपा अध्यक्ष रवि लामिछानेलाई भेटेका हौँ । राष्ट्रिय सहमति जसरी देशले खोजिरहेको छ त्यसलाई सहमतितर्फ फर्काउनसक्ने हिसाबले उहाँ सक्षम हुनुहुन्छ । अध्यक्ष लामिछानेले सुवासचन्द्र जत्तिको मान्छे देशले कम नै पाउँछ र यो एउटा मौका हो भन्ने कुरा गर्नुभयो ।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरूले पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने जानकारी गराएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौँ । उहाँ एउटा उपयुक्त पात्र हो यसमा कुनै शङ्का छैन । निर्णय आज नै गर्न सकिँदैन, केन्द्रीय समिति र संसदीय दलको बैठकमा याे कुरा राख्छौँ र त्यहाँ निर्णय हुन्छ । पुस १० गतेकाे सहमतिको हामी साक्षात् छौँ, त्यसलाई पनि हामीले मध्यनजर गरेका छौँ ।’

राष्ट्रपति चुनाव नजिकिएसँगै उम्मेदवारहरू सांसदहरूलाई भेट्ने क्रममा व्यस्त छन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया