गाउँ रित्तिए, बजार भरिए

 फागुन २६, २०७९ शुक्रबार ९:३५:३० | रासस
unn.prixa.net

बाग्लुङ - एक दशक अगाडिसम्म बाग्लुङमा धेरै बजार थिएनन् । प्रायजसाे गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए। 

पालिका बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । बाग्लुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ । ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराई तथा सहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ । अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ । गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ। 

निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरालागयत ठाउँ बजारमा परिणत हुँदैगएका छन् । गाउँमा विकासले गति लिए पनि सहर जाने क्रम रोकिएको छैन् । गाउँ रित्तिँदै तर बजार भरिँदै गएका तमानखोलाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो ।

'अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने लहर चलेको छ', उहाँले भन्नुभयो । तमानखोलाबाट बुर्तिबाङ झर्नेको सङ्ख्या बढी  छ । योसँगै पोखरा, काठमाण्डौ, बुटवललगायत सहर बसाइँसराइ गर्ने अत्यधिक छन् । बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्नुपर्नेमा बुढामगर बताउनुहुन्छ ।

'बसाइँसराइको मुख्य कारण गाउँमा पर्याप्त विकास र सेवासुविधा नहुनु हो, हुनेखाने सब सहर बजार जान थालेका छन्', अध्यक्ष बुढामगरले भन्नुभयो ।  निसीखोलाको झिवाखोला, बडिगाडको खौलारा र गलकोटको हटिया बजार बसाइँसराइ गर्नेको सङ्ख्या बढेको छ । बाग्लुङमा सबैभन्दा बढी गलकोट बसाइँसराइ रहेका गलकोट  नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, 'गाउँमा विकास भइरहेकै छ, तर पनि बसाइँसराइ कम भएको छैन् ।' गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ । गाउँका घर जीर्ण बन्दै गएका छन् । घर र खेतीयोग्य जमिन प्रयोग गर्नेको सङ्ख्या घट्दै गएको गलकोट–७ का विष्णु थापाले बताउनुभयो । बसाइँसराइले गाउँ रित्तिँदा उत्पादनमा कमी आएको छ । धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिएका छन् । गाउँ उराठ बन्दै गएका छन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया