इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
कास्की – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई 'हब' बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एअरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट बिहीवार रातिदेखि विभिन्न चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको हो । काठमाण्डाै, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालीन उडान भरेको विमानस्थलले जनाएको छ । पोखरामा रात्रि विसान भएका चारै गन्तव्यका जहाजले आज शुक्रवार बिहान सम्बन्धित गन्तव्यमा उडान भरेका छन् ।
रात्रि उडान तालिका बनाएर उडान सञ्चालन भएको र यसबाट यात्रुको सहजताका साथै पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुग्ने प्रमुख गाैतमले विश्वास व्यक्त गर्नुभयो । ‘रात्रिकालीन उडानबाट अत्यावश्यक कामकाजी यात्रुलाई सहजता हुनका साथै सिटी लाइफ चलायमान बन्नेछ । पर्यटन उद्योगलाई पनि चलायमान बनाउन मद्दत पुग्नेछ’, उहाँले भन्नुभयो ।
बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार रात्रि उडान भरेर पोखरामा विसान भएका जहाजले आज बिहान पोखराबाट पुनः काठमाण्डाै, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान गरेका छन् । उहाँले पोखरालाई 'हब' बनाएर एकसाथ सुरु भएको रात्रिकालीन उडानले यात्रुलाई सहज आवातजावतका साथै देशको पर्यटन विकास तथा स्थानीयस्तरमा थप रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । विभिन्न सिलसिलामा पोखरामा पुग्ने यात्रुले बेलुका पाेखरा बसाइ तथा घुमफिर गरेर बिहान आफ्नो गन्तव्यमा फर्कन सहज हुनेछ ।
निर्धारित रात्रिकालीन उडान तालिकाअनुसार भद्रपुर–पोखरा बेलुकी ६ बजेर ५५ मिनेटमा, भैरहवा–पोखरा बेलुकी ७ बजेर २५ मिनेटमा, नेपालगञ्ज–पोखरा बेलुकी ७ बजेर ३० मिनेटमा र काठमाण्डाै–पोखरा बेलुकी ७ बजेर ३५ मिनेटमा रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गएकाे फागुन ११ गते इन्स्ट्रमेन्ट फलाइट रुल्स (आईएफआर) प्रणाली लागू भएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ निजी क्षेत्रका बुद्ध एअर, यती एअरलाइन्स, श्री एअरलाइन्स र सौर्य एअरले काठमाण्डाै–पोखरा उडान भर्दै आएका छन् । पोखराको पुरानो आन्तरिक विमानस्थलबाट तारा एअर र समिट एअरले स्टल रुटमा उडान भर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।