पाकापुस्ताकै भरमा ‘मारुनी नाच’

 फागुन ३०, २०७९ मंगलबार १२:२१:१९ | रासस
unn.prixa.net

पाल्पा - मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेक्नुभयो । उहाँको मारुनी नाच्ने र  गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर विभिन्न ठाउँमा मारुनी नाच देखाउन थापा पुग्नुहुन्छ । पाल्पाको रामपुर नगरपालिका–२ का उहाँ आफूले जाने बुझेदेखि बाउबाजेका साथ मारुनी देखाउन थाल्नुभएको बताउनुहुन्छ । गाउँमा अहिले कृष्णचरित्र मारुनी नाच समूह गठन गरेर उहाँकै नेतृत्वमा देखाइन्छ । 

'युवापुस्ता मारुनीमा रहर गर्दैन, प्रायजसाे पढाइ, पेसा व्यवसायको सिलसिलामा घरबाहिर छन्', थापाले भन्नुभयो, 'केहीलाई साथमा लिएर सिकाउने र नचाउने गरेका छौँ ।' मारुनी गाउने र नाच्ने भनेपछि उहाँ औधि खुसी हुनुहुन्छ । पहिला अहिलेजसो मारुनी नाच्नेका लागि पोसाक उपलब्ध थिएन । आमा, दिदीबहिनीका सारी, चोलोलगायत भेषभुषा, गरगहना लगाएर नाच्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

पूजाआजा, पास्नी, छैँठी, न्वारन, दशैँ–तिहारजस्ता पर्वमा मारुनी नाच्ने चलन थियो । अनिवार्यजसो यी पर्वमा मारुनी नाचिने गरेकामा पछिल्ला वर्षमा युवापुस्ताको मोह नहुँदा कमै मात्रामा देखाइने गरिएको छ । हिजोआज मेला, महोत्सवलगायत कार्यक्रममा संस्कृति जोगाउन मारुनी नाच नाचिन्छ । पुरुषले महिलाको भेषभुषा सारी, चोलो, पटुका, कण्ठमाला, चुरापोतेलगायत गरगहनामा सजिएर मारुनी नाचिन्छ । 

आफ्नो कला, संस्कृति जोगाउन पाका पुस्तासँग समूहमा आबद्ध भएर मारुनी नाच्ने गरेको बताउनुहुन्छ, ४३ वर्षीय दिनेश थापामगर । 'बाउबाजेबाट सिप सिकेर १३ वर्षको उमेरदेखि नै मारुनी नाच्न थालेको हुँ, पहिलाको र अहिलेको मारुनीमा धेरै फरक छ, पहिला मारुनीका सबै विधि देखाउने गरेकामा अहिले समुदायमा सिक्ने व्यक्ति कम हुँदा कहिलेकाहीँ मेला महोत्सव, कार्यक्रममा मात्रै सीमित बन्न पुगेको छ', उहाँले भन्नुभयो । 

टोलटोलमा यस्तो नाच अहिले कमै देख्न पाइन्छ । परम्परागत संस्कृति संरक्षणमा कसैको ध्यान नजाँदा मारुनी नाच नाचिन छाडेको हो । पुरुष नृत्यकारले महिलाको भेषभुषामा सजिएर नाच्दा दर्शकमाझ रमाइलोपन ल्याउँदछ । नृत्य मनोरञ्जनका लागि मात्र मारुनी देखाउने कार्य नभइ समाजको परम्परागत कला–संस्कृति जोगाउनसमेत पाका पुस्ता भने निरन्तर लागिरहेका छन् ।

पुरानो रीतिरिवाज जोगाउँदै वाद्यवादनको तालमा गीतको भावअनुसार नाच्दै जाँदा छुट्टै आनन्द हुने स्थानीय ज्ञानबहादुर सारुमगरले बताउनुभयो । पहिला त विभिन्न पर्व, पूजाआजा, उत्सव, पास्नी, छैँठीमा अनिवार्य मारुनी नाच्ने गरे पनि अहिले भने सबै कामकाजमा व्यस्त रहँदा कमै मात्रामा देखाइने उहाँको भनाइ छ ।

मारुनी भगवानका विभिन्न गीत गाउने र त्यस गीतको भावअनुसार नृत्यकारले आफ्नो नाच देखाउने गरिन्छ । गीत झट्ट बुझ्न गाह्रो पर्छ । गीतमा पोख्त कलाकारले मात्रै नाच्न सक्छन् । ‘कमलको फूल लिन जाउन भानिज, शिरैउपर छाता छैन जान्न मत मामा’ यसरी गीतमा डुबुल्की मार्न सकिएन भने सामान्य सुनेको भरमा मात्रै नाच्न नसकिने मारुनीका कलाकार ६३ वर्षीय दानबहादुर थापाको भनाइ छ । 

'बेग्लै लय भएकाले झट्ट गीतको अर्थ जोकसैले बुझ्न सक्दैनन्, मारुनी नाच्ने कलाकारले पहिला गीत राम्रोसँग सुनेरमात्रै नाच्नुपर्दछ, गीत बुझेपछि भने नाचु–नाचु भइरहन्छ', उहाँले अनुभव सुनाउनुभयो । गाउँमा हुने विभिन्न शुभकार्य, पूजाआजा, न्वारन, छैँठीजस्ता कार्यमा मारुनी नाच्दा गाउँ नै उल्लासमय हुने गरेकामा अहिले खोज्नुपर्ने अवस्था रहेको ५९ वर्षीय  ताराबहादुर थापा बताउनुहुन्छ ।

गीतमा भगवान् कृष्णका जन्मदेखिका उहाँले आफ्नो जीवनका कालखण्डमा गरेका विभिन्न क्रियाकलाप जोडिन्छन् । मारुनी नाचलाई कृष्णचरित्र नाच, खेलीनाच पनि भनेर चिनिन्छ । एक समूहमा मारुनी देखाउन कम्तीमा पनि २० कलाकार चाहिन्छन । मारुनी नाचमा कम्तीमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुरसिङ्गे तथा छदेखि १० सम्म गायक हुन्छन् । गायकमध्ये एक गुरु हुन्छन् । गुरुले गीत झिकेपछि अन्य कलाकारले छोप्ने र नाच्ने गरिन्छ । गीत निकाल्ने गुरुलाई ‘रौरा’ पनि भनिन्छ । ‘मारुनी’ नै नृत्यको मुख्य पात्र हुन् । मारुनी मादलेको तालसँगै अगाडि–पछाडि घुमेर नाच्छन् । भेषभुषामा सजिएर एकपटक मारुनी बनिसकेपछि नाचको पूरा अवधिसम्म मारुनी बदलिन पाउँदैनन् । एउटा गीत पूरा नहुँदासम्म नाचिरहनुपर्दछ । 

मारुनीसँगै पुरसिङ्गे पनि नाच्छन् । पुरसिङ्गेले महिलाको कपडा लगाएको हुँदैन । मारुनीकै हाउभाउमा ताल मिलाउँदै सँगसँगैजसो पुरसिङ्गे नाच्ने गर्दछन् । पुरसिङ्गे फेरबदल हुन सक्छन् । मारुनी नाचमा मादल, झ्याली, मृदुङ्गालगायतका विभिन्न वाद्यवादनका सामग्री आवश्यक पर्छ । पाल्पाको ग्रामीण भेगमा पहिले मारुनी नाच्ने समूह बाक्लै भेटिन्थ्यो । आजभाेलि भने केही ठाउँमा मात्रै नाच्ने गर्दा मारुनी नाच्ने समूह कम हुन थालेको छ । जिल्लाका रामपुर, निस्दी, पूर्वखोला, माथागढी, तिनाउँका केही ठाउँमा मारुनी नाच बेलामौकामा देखाइने गरिन्छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया