रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन

 चैत ४, २०७९ शनिबार ७:२५:४० | रासस
unn.prixa.net

फाइल तस्बिर

भक्तपुर - सरकारी अनुदानमा ल्याएको रासायनिक मल बिक्री गर्ने विभिन्न सहकारीको अनुगमनमा गएको सरकारी टोली आज रित्तो गोदाम हेरेर फर्किएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा हिजाे घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहाल, उद्योग वाणिज्य सङ्घका सचिव विश्वराम दुवाल, जिप्रकाका प्रतिनिधि कुवेरप्रसाद दाहाल, उपभोक्ता महासङ्घ, भक्तपुर नगरपालिका, नेपाल प्रहरी, पत्रकारलगायत टोली जिल्लाका विभिन्न सहकारी संस्थाद्वारा रासायनिक मल बिक्री स्थलमा पुग्दा सबै केन्द्रका गोदाम रित्तो देखिएको थियो ।

टोलीले जिल्ला सहकारी सङ्घ लिमिटेडको सल्लाघारीमा रहेकाे कार्यालयमा रहेको मल बिक्री केन्द्र, शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड नासामनाले सञ्चालन गरेको मल बिक्री केन्द्र, भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिद्धि कृषि सहकारी संस्था लिमिटेडलगायतले सञ्चालन गरेको रासायनिक मलको बिक्री केन्द्रको अनुगमन गरे पनि मलका गोदाम भने रित्तै रहेको पाइएको अनुगमन टोलीका संयोजक एवं सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो ।

गोदाम रित्तै भए पनि टोलीले अनुगमनका क्रममा कृषकलाई सहज र उपयुक्त मूल्यमा मल बिक्री वितरण गरेको हो वा होइन भन्नेबारेमा भने सोधपुछ तथा खरिद एवम् बिक्री मूल्यका बिलको अनुगमन गरेको उहाँले बताउनुभयो । अनुगमनका क्रममा मलको खरिद र बिक्री मूल्य, ढक तराजुको अवस्थाका बारेमा जानकारी लिएको बताउँदै उहाँले मल बिक्री केन्द्रले सुधार्नुपर्ने विभिन्न विषयमा छलफल गरी निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।

अनुगमनमा पुग्दा जिल्ला सहकारी सङ्घ भक्तपुरका अध्यक्ष केदार खड्काले रासायनिक मलको निकै अभाव हुँदा किसान मारमा परेको र बिक्री गर्ने सहकारी संस्थाले चुनौती खेप्दै आएको उल्लेख गर्दै किसानले सहज मल पाउने अवस्था बन्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया