रोगले श्रीमान् खोस्यो, परदेशले छोरा

 चैत ५, २०७९ आइतबार १२:२:११

प्रभातकुमार वर्मा/बारा ।

न परदेश गएका छोरा जीवितै घर फर्के न उपचार गर्न भारत गएका श्रीमान् । वर्षदिन बिराएर जीवनमा आइपरेका यी बज्रपातले बाराको महागढीमाई नगरपालिका–११ की सविना खातुनको ओठको मुस्कान हराएको वर्षौँ भयो ।

अढाइ वर्ष पहिले उपचारकै क्रममा भारत पुग्नुभएका उहाँका श्रीमान् निको भएर घर फर्केको केही दिनमै ज्यान गयो । बुवाको उपचारमा लागेको ऋण तिर्न एक वर्ष पहिले साउदी गएका सविनाका छोरा पनि नफर्किने गरी उतै अस्ताए । शव मात्र नपाल आइपुग्यो । 

जीन्दगीका यी पीडादायी क्षण बिर्सिन खोज्दा पनि सविनाको मानसपटलमा छाइरहन्छन् । उमेरले ६० पुग्नुभएकी खातुन पुर्पुरोमा हात लाउँदै भन्नुहुन्छ, ‘यो बुढियालाई सधैँको दुःख ।’

१२ वर्षको उमेरमै उहाँको मागी विवाह भएको थियो । बिहे भएको १५ वर्षपछि छोरा जन्मियो । तर जन्मेको केही दिनमै ज्यान गयो । एक वर्षपछि फेरि अर्को छोराको जन्म भयो । तर उनी पनि चार वर्षकै उमेरमा भगवानको प्यारो हुन पुगे । 

सविनासँग दुःखका अनगिन्ती नालिबेली छन् । उहाँका सात सन्तानमा दुई छोरा बालखैमा बिते । बाँकी ५ मध्ये जेठी छोरीको बिहे भइसक्यो । जेठो छोरा मानसिक बिरामी छन् । यस्तै माइलो छोरा लाटो छन् भने कान्छो छोरा २३ वर्षका भए । अहिले बेरोजगार छन् ।

सविनाको आशा, भरोसा थिए, साइलो छोरा । घरपरिवारको दुःख टार्न, आर्थिक अवस्था सुधार गर्न भन्दै १८ वर्षकै उमेरमा वैदेशिक रोजगारीमा मलेसिया गए । 

घरको कमजोर आर्थिक अवस्था, बाँकी दाजुभाइको हेरचाहको जिम्मेवारी । यही समस्यामा मल्हम लगाउन साइलो छोरा समिमलाई परदेश पठाउनुभएको थियो सविनाले । 

समिमले मलेसियामा राम्रो कमाइ गर्नुभयो । पाँच कठ्ठा खेत र ११ धुर घडेरी किन्नुभयो । आफ्नो पुख्र्यौलीसमेत गरेर लगभग २५ कठ्ठा जति खेत थियो ।

अढाइ वर्ष पहिले सविनाका श्रीमान् खेतमा काम गरेर आउँदा जिउभरि नै ठुलठूला बिमिरा देखिए । सुरुमा उहाँलाई लिएर समिम उपचारको लागि वीरगञ्जमा जानुभयो । त्यहाँबाट फेरि डाक्टरको सल्लाह अनुसार भरतपुर अस्पताल लगियो । उहाँको उपचारको लागि छिमेकीसँग सयकडा तीन रुपैयाँका दरले लिएको २ लाख रुपैयाँ भरतपुर अस्पतालमै खर्च भयो । 

समस्या त्यहीँ सकिएन । त्यहाँबाट फेरि रेफर गरेर वीरगञ्जको नेशनल मेडिकलमा उपचार गराउन थालियो । मेडिकलमा उपचार गराउँदा एकैचोटी १४ हजार रुपैयाँको औषधि चढाइन्थ्यो । 

जसले गर्दा एक वर्षमा २५ लाख रुपैयाँ ऋण थपिन गयो । यो सबै खर्च जोर्न समिमले वैदेशिक रोजगारीमा हुँदा किनेको जग्गा र पुख्र्यौली सम्पत्ति गरी १५ कठ्ठा बेच्नु परेको थियो ।

सञ्चो भयो भनेर घर बस्नुभएका सविनाका श्रीमान् फेरि बिरामी पर्नुभयो । नेपालको उपचारले निको भएन भन्दै उहाँलाई नजिकै रक्सौल, इन्डिया मा गएर डंकन अस्पतालमा ६ महिनासम्म उपचार गरियो । यसपटक फेरि उपचारमा १५ लाख रुपैयाँ खर्च लाग्यो । ब्याजमा ऋण लिएर उपचार गर्नुपर्‍याे । त्यहाँबाट पनि निको भयो भनेर घर फर्काए । तर घर आएको हप्तादिनमै ज्यान गयो । श्रीमानलाई के बिरामी थियो भन्न सक्नुहुन्न सविना ।

उहाँको जिब्रोमा एउटै कुरा मन्त्र झैं उच्चारण भइरहन्छ, ‘मेरो श्रीमानलाई नलगेर मलाई किन लगेनौ हे अल्लाह ।’ भन्छन्, दुःखको पनि सीमा हुन्छ । तर सविनाको जीवनमा दुःखको कुनै सीमा छैन ।

पटक पटक गरेर ६ वर्ष रोजगारीको क्रममा मलेसियामा बस्नुभएका समिम बाआमा र घरपरिवारको साथमा बस्ने सपना बुनेर घर फर्किनुभएको थियो । तर बुवाको उपचारमा समिमले कमाएको सबै पैसा सकियो । उल्टै धान्नै नसकिनेगरी ऋण पर्‍याे । 

त्यसपछि फेरि विदेश गएर पैसा कमाउने र सामान्य जीवन जिउने सोचेर एक वर्ष पहिला समीम वैदेशिक रोजगारीको यात्रामा साउदी हानिनुभयो । समिमलाई दुःखले विदेशमा पठाइरह्यो । उहाँ पनि आशाको झोला बोकेर गइरहनुभयो । 

योपटक उहाँले म्यानपावरलाई तीन लाख रुपैयाँ बुझाउनुभयो । त्यसैमा पनि भनेअनुसारको काम र कम्पनी दुवै मिलेन । तर बाध्यता यस्तो थियो कि, न नाइँ भन्न सक्नुहुन्थ्यो, न त काम गर्न नै मन लाग्थ्यो । समिम विदेशमा थिए तर मन घरमा । आमा र श्रीमतीसँग दिनहुँ फोनमा घण्टौ कुराकानी हुन्थ्यो । त्यो दिन पनि परिवारको सबै सदस्यसँग कुराकानी गर्दै आफ्नो ख्याल गर्नु है भनेर फोन राख्नुभएको थियो । तर त्यही फोन अन्तिम फोन भइदियो । 

पछिल्लो दिन बिहानै सविनालाई साउदीबाट फोन आयो, ‘समीम अब यो दुनियाँमा रहेनन्’ भनेर ।

सविनाका अनुसार समिम राति आफ्नो डेरामा सुतेकै अवस्थामा अचानक शरीरमा कम्पन भएर ज्यान गएको हो । 

सात जन्म सँगै बिताउने कसम खाएका श्रीमान् त रहेनन् रहेनन् । जीउने एक आशा साइलो छोरा समिम पनि दुनियाँमा नरहेपछि सविना बिरक्तिनुभयो । न जीउने हौसला बँच्यो न त आशाको त्यान्द्रो नै बाँकी रह्यो । श्रीमानको उपचार गर्दा लागेको ऋणको ब्याज दिनदिनै बढ्दै गयो । कमाउन गएको घरखर्च चलाउनै धौ धौ बन्न थाल्यो । 

सविनाको जिन्दगीमा यति दुःख कहिल्यै आइपरेको थिएन । तर पनि बाँकी छोराहरुको लागि भनेर सविनाले आफूलाई दह्रो बनाउँदै लिनुभयो ।

आप्रवासी श्रोत केन्द्रको साथ 

परदेशमा ज्यान गुमाएको छोराको शव नेपाल झिकाउन एक आमाको पर्खाइ ! कुनै आमाको लागि यो जति पीडा अरु के होला ? साउदीबाट छोराको शव आउने दिनको प्रतिक्षा सविनाको लागि जिन्दगीकै कठोर क्षण बन्यो । यो समयमा उहाँले आफूलाई सम्हाल्नुभयो, बुहारी र छोराहरुलाई पनि ढाडस दिइरहनुभयो । 

तर उहाँलाई साउदीबाट छोराको शव कसरी ल्याउने केही थाहा थिएन । यो काममा आप्रवासी स्रोत केन्द्रले सविनालाई सघायो । कलैया उपमहानगरपालिकाले आफै सञ्चालन गरिरहेको आप्रवासी स्रोत केन्द्रले निवेदन लेख्नेदेखि अन्य सबै प्रक्रियामा सम्बन्धित निकायहरुसँग समन्वय गरिदियो । आप्रवासी केन्द्रको समन्वय र वैदेशिक रोजगार बोर्डको सहयोगमा समिमको शव घरसम्म आइपुग्यो । परिवार र छिमेकीमा रुवाबासी चल्यो । सविना र समिमकी श्रीमतीको चित्कारले घर छेउ रुखमाथिका काग भुर्र उडे र आकासभरि फैलिए । र समिमको आफ्नै परम्पराअनुसार अन्तिम संस्कार गरियो ।

आप्रवासी स्रोत केन्द्रले शव नेपालमा ल्याउन मात्रै होइन समिम कार्यरत कम्पनी, वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाइने राहतको लागि पनि वैदेशिक रोजगार बोर्डदेखि दूतावाससम्म समन्वय गरेर सहयोग गरिदियो । समिम कार्यरत कम्पनीबाट १ लाख रुपैयाँ र वैदेशिक रोजगार बोर्डबाट ७ लाख तथा बिमा कम्पनीबाट १३ लाख रुपैयाँ गरी २१ लाख रुपैयाँ समिमको परिवारले पायो ।

(प्रभातकुमार वर्मा समृद्धि आयोजनाको आर्थिक र प्राविधिक सहयोगले कलैया उपमहानगरपालिकाद्वारा सञ्चालित आप्रवासी स्राेत केन्द्रका सूचना अधिकृत हुनुहुन्छ | हाल कलैया उपमहानगरपालिकाले आफ्नै श्रोत साधनले आप्रवासी श्रोत केन्द्र सञ्चालन गर्दै आएको छ ।)

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया