बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको सङ्ख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पार्नुभएको छ । गठबन्धनमा रहेका दलहरूसँग परामर्श गरेर उहाँले प्रारम्भिक प्रस्ताव तयार पार्नुभएको हो ।
प्रस्तावमा आज गठबन्धन दलसँग सहमति जुटाएर भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । हिजो बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आज गठबन्धनको बैठक राख्ने र प्रारम्भिक प्रस्ताव पेस हुने बताउनुभयो ।
गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूसँगको छलफलका आधारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यसहित आठ, माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक राज्यमन्त्रीसहित तीन, एकीकृत समाजवादीलाई एक राज्यमन्त्रीसहित तीन, जसपालाई दुई, जनमत, लोसपा र नागरिक उन्मुक्तिलाई एक–एक र स्वतन्त्र दुई सांसदमध्येबाट एकजनालाई मन्त्री बनाउने प्रस्ताव तयार गर्नुभएको छ ।
माओवादीबाट मन्त्री रहेका मन्त्रालयको हेरफेर गर्ने र कसलाई कुन मन्त्रालय दिने टुङ्गो लगाउने गरी शीर्ष तहमा छलफल भइरहेको छ । सबैलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दा अहिले माओवादीले सम्हाल्दै आएका केही मन्त्रालय हेरफेर हुन सक्ने नेताहरुले बताएका छन् । प्रचण्डले गएको ६ गते कांग्रेससहित १० दलको समर्थनमा विश्वासको मत लिनुभएको थियो ।
नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने तयारीमा छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा हिजो बसेको पदाधिकारी बैठकले ८ मन्त्रालयसहित सरकारमा जाने तयारी गरेको हो ।
त्यसैबीच एकीकृत समाजवादीले उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । नेताहरुका अनुसार मन्त्रालयको भागबण्डा हुँदा माओवादीले गृह र कांग्रेसले अर्थ मन्त्रालय पाउने सम्भावना बलियो छ ।
अहिले माओवादीबाट उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ, सामान्य प्रशासन मन्त्रालयमा अमनलाल मोदी, सञ्चारमा रेखा शर्मा, पर्यटनमा सुदन किराँती र पर्यटन राज्यमन्त्रीमा सुशीला सिर्पाली हुनुहुन्छ ।
यस्तै जनमतबाट अब्दुल खान मन्त्री हुनुहुन्छ । बाँकी मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।