वेस्ट इन्डिजसँगको दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाको कीर्तिमानी जित

 चैत १३, २०७९ सोमबार ६:३६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वेस्ट इन्डिजसँग्को दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाले ६ विकेटको ऐतिहासिक जित निकालेको छ । दक्षिण अफ्रिकाले टी–२० खेल इतिहासमा सर्वाधिक ठूलो योगफल पूरा गर्ने कीर्तिमान कायम गरेको छ । योसँगै दुई देशबीचको तीन खेलको टी–२० शृङ्खलामा एक–एक को बराबरी भएको छ ।

जितको लागि २ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । यो टी–२० खेलमा उच्च स्कोर हो । यसअघि टी–२० मा सर्वाधिक ठूलो लक्ष्य अस्ट्रेलियाले पूरा गरेको थियो । अस्ट्रेलियाले सन् २०१८ मा न्युजिल्यान्डले दिएको २ सय ४४ रनको लक्ष्य १८ ओभर ५ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

हिजो भएको खेलमा दक्षिण अफ्रिकाले यो विश्व कीर्तिमान तोडेको हो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले शतकीय पारी खेले । वेस्ट इन्डिजका जेसन होल्डर, ओडेन स्मिथ, रायमन रिफर र रोभम्यान पावेलले एक/एक विकेट लिए । त्यसअघि सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो । यो वेस्ट इन्डिजको टी–२० इतिहासकै उच्च योगफल थियो ।

वेस्ट इन्डिजका जोनसन चार्ल्सले १ सय १८ रन बनाए । चार्ल्सले ३९ बलमा शतक प्रहार गरी वेस्ट इन्डिजबाट टी–२० मा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । वेस्ट इन्डिजबाट यसअघि सन् २०१६ मा क्रिस गेलले ४७ बलमा शतक पूरा गरेका थिए ।

दक्षिण अफ्रिकाका मार्को यानसनले ३ तथा वेन पार्नेलले २ विकेट लिए । पहिलो खेलमा वेस्ट इन्डिज तीन विकेटले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा निर्णायक खेल भोलि हुनेछ ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया