सरकार दौडिनुपर्ने अवस्थामा भए पनि तुना बाँध्नमै अल्मल्लिएको छ : गगन थापा

 चैत २२, २०७९ बुधबार १५:४९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्चलाई कटौती गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको सङ्ख्या घटाउन आग्रह गर्नुभएको छ । 

बुधवार नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बाेल्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको सङ्ख्या घटाउन आग्रह गर्नुभएको हो । उहाँले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरु सबैले अत्यावश्यक बाहेकको खर्चलाई कटौती गर्नुपर्ने बताउनु भयो ।

सरकार खर्चमा मितव्ययी हुनुपर्ने उहाँको भनाइ छ । महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजीगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताउनु भयो । यसो गर्न सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उहाँले बताउनु भयो । 

यस्तै, उहाँले देशको आर्थिक सङ्कट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) सँग पनि सम्वाद गर्नुपर्ने बताउनु भयो । स्थानीय सरकारमा एमाले पनि रहेको उल्लेख गर्दै उहाँले एमालेसँगको सम्वाद र सहकार्य आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै, सरकार र नेपाल राष्ट्र बैंककाबीचमा पनि विश्वसनीय सम्बन्ध हुनुपर्ने उहाँले बताउनु भयो । महामन्त्री थापाले राष्ट्र बैंक र सरकारको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्ने बताउनु भयो । 

महामन्त्री थापाले सरकार दौडिनुपर्ने अवस्था भए पनि तुना बाँध्नमै अल्मल्लिएको टिप्पणी गर्नुभयो । उहाँले सरकार अल्मल्लिएको भन्दै दौडिन सुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आउँदाे ५/६ महिनामा सरकारले नागरिकहरुलाई सरकारले काम गर्न सुरु गर्यो र लक्ष्यमा पुग्छ भन्ने भरोसा दिलाउन सक्नुपर्ने बताउनु भयो । 

महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई ३ महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाएर काम गरेर देखाउन आग्रह पनि गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया