उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

 चैत २२, २०७९ बुधबार १६:४६:७ | रासस
unn.prixa.net

काठमाण्डाै - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग  नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसनले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

गृहमन्त्रालयमा आज भएको  शिष्टाचार भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ । त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताउनुभयो 

सङ्क्रमणकालीन न्यायका काम पूरा गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यससम्बन्धी विधेयक संसदमा पेस भइसकेको समेत उहाँले बताउनुभयो । राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कुटनीटिक साझेदारसँग यसको सहजताका लागि पहल लिने बताउनुभयो । राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा राजदूत थम्पसनले चासो लिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकासनिर्माणलाई प्रभावित नगर्ने बताउनुभयो । 

राजदूत थम्पसनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने बताउनुभयो । कोभिडपछि अमेरिकी सहयोग संस्था पिसकोरको काम प्रभावित भएकाले पिसकोर कार्यकर्ताको प्रवेशाज्ञा सहजताका लागि राजदूत थम्पसनले आग्रह गर्नुभएकोमा उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने बताउनुभयो । 

नेपालमा अमेरिकी लगानी, कार्यरत संस्था तथा यसका कर्मचारीको सुरक्षामासमेत राजदूतले चासो राख्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले त्यसमा पूर्ण सुरक्षा हुने बताउनुभएको उपप्रधानमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया