मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो, बर्खामा हिलाम्य

 चैत २७, २०७९ सोमबार १३:४४:२६ | रासस
unn.prixa.net

तस्बिर : रासस

बाग्लुङ - राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको प्रायजसाे सडक कालोपत्र भएको छैन । हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रु आजित भएका छन् ।

करिब २६ किलोमिटर लामो यस खण्डमा पछिल्लो समय उपल्लाचौर–अक्षते क्षेत्रमा भने  धमाधम काम भइरहेको छ । माथिल्लो बिहुँ खण्डमा भने काम हुन सकेको छैन । लोकमार्ग कार्यालयले बाग्लुङ बजारदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का दिएको छ ।

दुई खण्डमा कालोपत्रका लागि २०७२/७३ मा सम्झौता भएको थियो । अहिलेसम्म १२ किलोमिटर सडक कालोपत्र भए पनि अझै १३ किलोमिटर सडक बाँकी नै छ । बिहुँ र अक्षते खण्डको काम गर्ने अवधि असारसम्म छ । बिहुँमा सुस्त गतिमा काम हुँदा समयमै सकिने अवस्था छैन । बाग्लुङदेखि खहरेसम्म केही समय अघि सडक कालोपत्र गरिएको थियो भने अहिले खहरेदेखि अक्षतेसम्म काम भइरहेको छ । यस खण्डमा चौडा गर्ने, नाली व्यवस्थापन र अलकत्रा बिछ्याउने काम भइरहेको छ । 

'हिउँदमा धुलो र बर्खामा हिलो घरभित्र पस्छ', बाग्लुङ नगरपालिका–३ खहरेका जङ्गबहादुर कार्कीले भन्नुभयो–'सडकमा पानी हाल्दाहाल्दैमा प्रायजसाे समय बित्छ ।'

माथिल्लो खण्डमा कामलाई तीव्रता दिन स्थानीयले माग गरेका छन् । सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग सम्झौता भएको एक दशक बित्नै लाग्यो । पटक–पटक म्याद थप गर्ने गरिएको छ । निर्माण कम्पनीको ढिलासुस्तीले काम सम्पन्न हुन नसकेको स्थानीय वीरबहादुर विकले बताउनुभयो । 'सडक छेउछाउ घर बनाउने क्रम बढे पनि धुलो र हिलोले सास्ती भएको छ', उहाँले भन्नुभयो । 

लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटर क्षेत्र मध्ये बाग्लुङ खण्ड एक सय ४२ किलोमिटर लामो छ । निसीखोला क्षेत्रमा दुई वर्ष अघि सडक कालोपत्र भइसकेको छ । घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक एक दशक अघि नै कालोपत्र गरिएको थियो । याे खण्डको अहिले मर्मतसम्भार हुँदैछ । असार मसान्तसम्म सबै काम सम्पन्न हुने लोकमार्ग आयोजना कार्यालय, पर्वतका सूचना अधिकारी मिलन श्रेष्ठले बताउनुभयो । 'काम नसकिए ठेक्का रद्द हुन्छ', उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया