बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला, बाघ नियन्त्रणमा

 वैशाख ९, २०८० शनिबार १३:१९:४५ | रासस
unn.prixa.net

कञ्चनपुर – बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गङ्गा चन्दको शव आज बिहान फेला परेको हो । महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई पनि राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्राविधिक टोली करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो । बाघ नियन्त्रणमा लिएकै स्थानमा महिलाको शव पनि फेला परेको प्रहरीले जनाएको छ । “बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघ नियन्त्रणमा लिएको छ”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश डाँगीले भन्नुभयो, “बाघ फेला परेकै स्थानमा महिलाको शव पनि फेला परेको छ ।” 

चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो । त्याे क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पुर्‍याइएको जानकारी दिनुभयो ।

“आवश्यक प्रक्रिया पूरा गर्नाका साथै केही समय बाघलाई निगरानीमै राख्छौँ”, उहाँले भन्नुभयो, “पछि माथि विभागको निर्देशनअनुसार नियन्त्रणमा लिइएको बाघबारे थप निर्णय लिन्छौँ ।” केही समयअघि पनि पुनर्वास नगरपालिकामा एक महिलाको बाघकै आक्रमणबाट ज्यान गएको थियो । त्याे घटनापछि दक्षिण क्षेत्रका स्थानीय त्रसित छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया