नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
कसैको हातमा स्लाइनको पाइप झुन्डिएकाे छ । कसैलाई अक्सिजन दिएर राखिएको छ । कोही बिरामी पीडाले छटपटाइरहेका छन् । तर बिरामीकोमा डाक्टरहरू भने पुग्न भ्याइरहेका छैनन् । कोही डाक्टर बिरामीको एक्सरे नियाल्दैछन् । कोही बिरामीको रिर्पोट हेर्दैछन् । कुनै शय्या खाली छैन । नयाँ आउने बिरामी शय्या नपाएर भुइँमै लडिरहेका छन् । बिरामीका आफन्तहरूको पनि त्यत्तिकै घुइँचो छ । डाक्टरहरूको भ्याइ नभ्याइ र हस्याङफस्याङ पनि उत्तिकै छ । यो दृष्य हो पाटन अस्पतालको आकस्मिक कक्षको ।
ललितपुर गोदावरीकी ४० वर्षीया मञ्जु नगरकोटी एक्कासी पेट दुखेपछि पाटन अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउनुभएको छ । पहिले त उहाँलाई शय्या पाउनै गाह्रो पर्याे । बल्ल बल्ल शय्या पाए पनि डाक्टरले उहाँलाई हेर्न झन्डै २० मिनेट लाग्यो । सँगै जानुभएकी उहाँकी देवरानी बन्दना नगरकोटीले कराएपछि बल्ल डाक्टर आए । बन्दना भन्नुहुन्छ, ‘दिदीले पेट एकदमै दुख्यो भनेर इमर्जेन्सीमा लिएर आको । डाक्टरै आउँदैनन् । मान्छे मर्न लाग्दा पनि नआउने भनेर भनेपछि बल्ल डाक्टर आए । अहिले एउटा औषधि दिएका छन् । दिदी सुतिरहनुभएको छ ।’
मञ्जुको रगत तथा पिसाबको परीक्षणको रिर्पोट आउन बाँकी छ । ‘थप रिर्पोट आएपछि मात्र के गर्ने भन्ने थाहा हुन्छ भनेर डाक्टरले भनेका छन्,’ बन्दना भन्नुहुन्छ, ‘अहिले भने नदुख्ने औषधि दिएको भनेका छन् डाक्टरहरूले । अब हेरौँ के हुन्छ ।’
आकस्मिक कक्षसँगै जोडिएको ठूलो भवनमा पाटन अस्पतालको बहिरङ्ग सेवा सञ्चालन हुने गर्छ । बिहान ७ बजेदेखि ११ बजेसम्म टिकट बाँड्ने भए पनि बिहान ५ बजे अगाडि नै लाम ढोकासम्म पुगिसकेको हुन्छ । त्यसपछि फेरि दिउँसो १ बजेदेखि टिकट बाँड्न सुरु हुन्छ । टिकटको भने ७५ रुपैयाँ लाग्छ । त्यसपछि एक्सरे लगायत अन्य जाँच तथा उपचारका लागि लाग्ने शुल्क बेग्लै छ । नाक, कान, घाँटी, पेट, हाडजोर्नी, दाँत, सुत्केरी, मानसिकलगायत अन्य धेरै उपचार सुविधा भएको अस्पतालमा बहिरङ्ग सेवामा वार्षिक तीन लाख २० हजार जना बिरामीले सेवा लिन्छन् भने वार्षिक झन्डै १० हजार शल्यक्रिया हुने गरेको छ ।
तर यति धेरै सुविधा र कम शुल्कमा सेवा दिने अस्पतालको सेवा लिन भने गाह्रो छ । गाह्रो यस अर्थमा कि बिरामीले धेरै कुर्नुपर्छ । धादिङकाे गल्छी गाउँपालिका–४ का ३५ वर्षीय ईश्वर भण्डारी लगनखेलमा मानसिक रोगका लागि बेग्लै अस्पताल भए पनि पाटन अस्पतालमै उपचार गराउन आउनुभएको छ । उहाँ बिहान ८ बजे लाइनमा बस्नुभएको थियो, ११ बजेमात्रै टिकट काट्ने पालो आयो । उहाँ भन्नुहुन्छ, ‘यहाँ राम्रो उपचार हुन्छ भनेर आएको टिकट काट्नमात्र तीन घन्टा लाइनमा बस्नुपर्याे । त्यस बेला त उपचार नै नगरि जाउँजस्तो लागेको थियो । तर फेरि प्राइभेटमा गयो भने पैसा नै तिर्न सकिँदैन ।’
झन्डै एक/डेढ घण्टा कुरेर उहाँले डाक्टरलाई देखाउनुभयो । अनि फार्मेसीमा पनि लामो लाइन बसेर औषधि किन्न जाँदा फार्मेसीले औषधि मिलेन भनेपछि फेरि डाक्टरलाई भेटेर औषधि लेखेर मिलाउन उहाँले उस्तै झन्झट खेप्नुपर्याे ।
लामो लाइन, अत्यधिक भिडभाड र सेवा सुविधाका बारेमा राम्रोसँग जानकारी नै दिन नसक्नु काठमाण्डौ उपत्यकाका धेरै भिड लाग्ने वीर, पाटन र शिक्षण अस्पतालको कमजोरी हो । जहाँ काठमाण्डौलगायत देशका कुना कुनाबाट बिरामी आइपुग्छन् ।
धादिङकाे सुनौला बजारबाट छोरीको ढाडमा भएको पोकोको शल्यक्रिया गराउन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आउनुभएको छ ५६ वर्षीय लेखबहादुर तामाङ । उहाँ अस्पताल आएको १५ दिन भयो । छोरीको शल्यक्रिया भएको चाहिँ सात दिन भयो । छोरीको उपचारका लागि उहाँले अरू अस्पतालमा पनि देखाउनुभएको थियो । तर अन्त धेरै पैसा भनेपछि उहाँले छोरीको उपचारका लागि यो अस्पताल रोज्नुभएको हो । तामाङ भन्नुहुन्छ, ‘यहाँ साढे दुई लाख रुपैयाँ लाग्यो । अन्त त झन् पाँच/छ लाख रुपैयाँ भनेका थिए । कहाँबाट ल्याउनु त्यत्रो पैसा ?’
अस्पतालको शय्या र शल्यक्रिया निःशुल्क हुँदा पनि उहाँको साढे दुई लाख रुपैयाँ खर्च भइसक्यो । यो सबै भनेको बस्ने, खाने र औषधि खर्च हो । उहाँलाई शल्यक्रियाका लागि समय लिन पनि झन्डै एक महिना लाग्यो । ‘अब सस्तो खोजेपछि समय पनि लाग्यो । मान्छे धेरै भएपछि भिड पनि त्यस्तै हो । पैसा भएको भए पहिले नै अपरेशन भइसक्थ्यो’, तामाङ भन्नुहुन्छ, ‘यहाँको भिड हेर्न बिहान टिकट काट्ने समयमा आउनुपर्छ अनि थाहा हुन्छ । अलि मिलाएर सजिलो बनाइदिए त हुने । तर सस्तो भएपछि यस्तै हो ।’
देशकै पुरानो वीर अस्पतालको हालत पनि यस्तै छ । अस्पतालको बाहिर बेन्चमा टाउकोमा पछ्यौरा ओढेर श्रीमानको आड लागेर बसिरहनुभएको छ कैलालीकाे गौरीगंगा नगरपालिका–१ की ४० वर्षीया कौशिलादेवी सुनार । उहाँ टाउकोको नशासम्बन्धी समस्या भएपछि उपचार गराउनका लागि वीर अस्पताल आउनुभएको हो । उहाँलाई यहाँ आउन गाडीभाडा मात्र २२ सय ५० रुपैयाँ लाग्यो । उपचारका लागि आएको पाँच दिन भयो । अझै केही दिन बस्नुपर्छ ।
उहाँका श्रीमान् चक्रबहादुर सुनारलाई सुरुमा आउँदा कहाँ जाने, के गर्ने, कसरी टिकट काट्ने भन्ने समस्या पर्याे । त्यसमा पनि जहाँ गए पनि लामो लाइन भएका कारण कहिलेकाहीँ त उपचार नै नगराइ जाउँ कि भन्ने पनि भयो । सुनार भन्नुहुन्छ, ‘टिकट काट्न पनि लाइन नै छ, डाक्टरलाई देखाउन पनि त्यस्तै लाइन छ भने औषधि किन्न पनि त्यस्तै भिड छ । यो भिड देख्दा त हुने भए उपचार नै नगरि फर्काैँ भन्ने पनि भयो ।’
लजमा बस्नका लागि दैनिक छ सय अनि एक छाक सादा खानाका लागि एक जनाको एक सय २० तथा खाजा थोरै केही खाँदा पनि झन्डै हजार/बाह्र सय रुपैयाँ खर्च हुने गरेको बताउनुहुन्छ सुनार । उहाँ भन्नुहुन्छ, ‘औषधिलगायत अरू खर्चको हिसाब गरी साध्य छैन ।’
धेरै भिड भएका कारण जहाँ गए पनि लाइन बस्नुपर्ने र कहिलेकाहीँ अलमलमा परेर एउटा भन्दा अर्को ठाउँमा लाइन बस्न पुग्दा झनै पट्यारलाग्दो हुने सुनार बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अस्पतालमा डाक्टर देखाउन कहाँ जाने, रगत लिएर कहाँ जाने, एक्सरे गर्न कहाँ जाने भन्ने पत्ता लगाउनै मुस्किल अनि जहाँ गए पनि भिड । अन्त जान पनि धेरै महँगो ।’
यसलाई केही व्यवस्थित र सहज बनाउन सके राम्रो हुने सुझाव पनि छ उहाँको । उहाँ भन्नुहुन्छ, ‘पैसा तिर्न नसक्नेहरूका लागि त ठिकै हो । पैसा तिर्न सक्ने त यो भिडमा किन आउँथे र । तर यसलाई अलि राम्रो बनाए सबैलाई सजिलै हुन्थ्यो ।’
वीर अस्पताल प्रशासन भने दैनिक २५ सयसम्म बिरामी आउने ठाउँमा भिडभाड हुनुलाई सामान्य मान्छ । बिहान ७ बजेदेखि टिकट काट्ने व्यवस्था रहेको वीरमा अनलाइनबाट पनि टिकट काट्ने व्यवस्था छ । तर बानी नपरेको तथा प्रविधिमा सहज पहुँच नभएका कारण यहाँ आउने धेरै बिरामी टिकट काट्न लाइन नै लाग्ने गर्छन् ।
वीर अस्पतालका सूचना अधिकारी सागर मिश्र मान्छे नै धेरै आएपछि धान्न नसकिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीले अनलाइन टिकेटिङ गरेका छौँ तर कसैले काट्दैन । २० रुपैयाँमा घरबाटै अनलाइन टिकट हुन्छ । अनलाइन टिकट भएपछि सम्बन्धित ठाउँमा गए हुन्छ एकै पटक । तर यहाँ आएर लाइन नै बस्नुपर्छ । अनि भिड कसरी कम हुन्छ ?’
पहिले बिहान साढे ८ बजेदेखि टिकट काट्ने व्यवस्था रहेकोमा भिड कम गर्न भनेर बिहान ७ बजेदेखि नै टिकट काट्ने व्यवस्था मिलाइएको बताउनुहुन्छ मिश्र । उहाँ भन्नुहुन्छ, ‘अहिले बिहान ७ देखि १ बजेसम्म र फेरि साढे १ बजे ३ बजेसम्म टिकट काट्ने व्यवस्था छ भिड कम होस् भनेर । तर पनि कम भएको छैन । अनलाइन टिकट काट्ने अभ्यास भयो भने भिड धेरै घट्छ ।’
तीन सय २३ जना डाक्टर तथा पाँच सय १५ जना नर्सले दैनिक सेवा दिने वीर अस्पतालमा अन्य कर्मचारीको सङ्ख्या सात सय ९१ रहेको छ । यति धेरै जनशक्ति अनि यति धेरै बिरामी भएपछि यो भिडलाई सामान्यरूपमा लिनुपर्ने भन्नुहुन्छ मिश्र । तर पनि अहिले तयार भएको तीन सय शय्याको नयाँ भवन सञ्चालनमा आएपछि अहिलेको धेरै भिड घट्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘हामीसँग भएको तीन सय बेडको नयाँ भवन पूर्णरूपमा सञ्चालन भएको छैन । यो राम्रोसँग सञ्चालन हुने बित्तिकै अहिले भएको टिकट काउन्टर तथा वार्डहरूमा हुने भिड पनि कम हुन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।