अर्घाखाँचीमा बसको ठक्करबाट एक जना बालिकाको ज्यान गयो, एक जना...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारकाे काम सुरु गरिएको आठ वर्षमा पनि सम्पन्न हुनसकेकाे छैन । सडकमा खाल्डाखुल्डी परेकाे हुँदा यात्रु, स्थानीयवासी तथा गाडी चालकले सास्ती खेप्दै आएका छन् ।
पानी पर्दा खाल्डाखुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएका गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले बताउनुभयो । सङ्घीय सरकारले ठेक्का आह्वान गरेको योजनामा निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा जीर्ण सडकमा समस्या हुने गरेको उहाँको भनाइ छ।
अस्पतालजस्तो संवेदनशील ठाउँअघिको सडकलाई ग्राभेल हालेर सहजरुपमा गाडी गुड्ने वातावरण बनाउन पटकपटक गरिएको अनुरोधसमेत नमान्दा धेरैले दुःख पाएका छन् । आर्थिक वर्ष २०७५/२०७६ मै सक्ने गरी विसं २०७२ सालमै ठेक्का भएको सात किमी सडक आठ वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिइ काम अघि बढाउन नदिने भनी विरोध गरेपछि सडक विस्तार हुनसकेको थिएन ।
केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउन काठमाण्डौ उपत्यका सडक विस्तार आयोजनाले गरेको आह्वान बोलपत्र गरेको थियो । सात किमीको दूरीमा पर्ने करिब नौ सय घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेकाले घर भएको ठाउँमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका ठाउँमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको थियो ।
गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा भएको सहमति वर्षौँ बित्दासमेत काम हुनसकेको छैन । यो सहमतिअनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौँदेखि यात्रु पीडित छन् । धेरैजसो सडकको काम सकिए पनि केही ठाउँमा रोकिएको कामले वर्षा हुन थालेपछि हिलो सबैतिर पुग्ने गरेको छ । अत्तरखेल मुल सडकमा सटर भाडामा लिएर किराना पसल चलाउँदै आउनुभएकी सपना श्रेष्ठ वर्षामा हिलो र हिउँदमा धुलोले गर्दा स्वास्थ्यमा असर परेको गरेको गुनासो गर्नुभयो । पानी परेपछि खाल्डो बनेको सडकको हिलो अन्यत्रसमेत पुग्ने गरेको र सुकेपछि त्यहाँको धुलोले समस्या हुने गरेको छ ।
नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने सहमति भएको चार वर्षसम्म पनि सडक अलपत्र छ । समय बढाएर आर्थिक वर्ष २०७६/७७ मा सक्ने सहमति पनि कार्यान्वयन भएन । त्यसपछि पनि पटक–पटक समय थप गर्दा पनि काम सकिएको छैन ।
५८ करोड रुपैयाँको लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको सडक विस्तार आयोजनाका अधिकारीले बताउने गरेका नगरपालिकाले जनाएको छ । यस सम्बन्धमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा आयोजनाका अधिकारी सम्पर्कमा आएनन् । केन्द्रीय सरकारको ठेक्का भएकाले स्थानीय सरकारलाई निर्माण व्यवसायीले अटेर गर्ने गरेका छन् ।
विसं २०७६ सालकाे चैतमा सुरु भएको लकडाउनका क्रममा सडकमा पर्ने रुख हटाइए पनि कतिपय ठाउँमा विद्युतकाे पोल, तारलगायत संरचना अझै हटेको छैन । सडकको काम नसकिँदा यसवर्ष पनि वर्षाको बेला हिलो र हिउँदमा धुलोमा यात्रा गर्न बाध्य हुनुपर्ने अवस्था आएको स्थानीयवासी पार्वती तामाङले बताउनुभयो ।
ग्राभेल हालेर डोजर र रोलरले सम्याए वर्षाको समयमा हिलो एवं धुलो नहुने गरी काम गराउन नगरपालिकाले दबाब दिँदै आएको छ । निर्माणको ठेक्का पाएको सीएम कन्स्ट्रक्सनले एक दिन काम गरेर महिना दिनसम्म केही नगर्ने गरेको देखिने गरेको स्थानीयवासीको गुनासो छ। गोकर्णेश्वर महादेव मन्दिरअघिको सडकमा कालोपत्र भएको केही दिनमै भत्किएकाे थियो ।
केही महिनापछि त्यो भत्किएको ठाउँमा टालिए पनि काम राम्रो भएको छैन । कतिपय ठाउँमा बीचमा कालोपत्र गरिए पनि दायाँबायाँ भने पर्खाल लगाएर सडक यत्तिकै छोडिएको छ । सडक बनेर कालोपत्र भएका ठाउँमा पनि पैदलमार्ग निर्माण भएको छैन । पैदलमार्ग नहुँदा यात्रु सडक दुर्घटनामा पर्ने सम्भावना बढेको छ ।
सडक विस्तार भएका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरीलगायत नदीमाथि अझै पुल विस्तार हुन नसक्दा गाडी जाममा पर्ने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।