आठ वर्षमा मरे दुई सय बीस गैँडा

 वैशाख २१, २०८० बिहीबार १०:३२:२१ | रासस
unn.prixa.net

चितवन - गएकाे आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २ सय २० वटा गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि अहिलेसम्ममा ती गैँडा मरेका हुन् ।

निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुधेर आठ वर्षको अवधिमा ५१ वटा गैँडा मरेका छन् । यस्तै, बाघको आक्रमणबाट २०, चोरी सिकारीबाट नौ, करेन्ट लागेर आठ, बिरामी तथा रोगी भएर १२, खाडलमा परेर तीन, विषाक्त खानेकुरा खाएर पाँच तथा कारण नखुलेका २९ वटा गैँडा मरेका उहाँले जानकारी दिनुभयो ।

तिवारीका अनुसार गएकाे आठ वर्षमा एक सय भाले र ७६ पोथी गैँडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ वटा गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैँडा आव २०७५/७६ मा मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । यस आवमा ४३ गैँडा मरेका थिए । सबैभन्दा कम  आव २०७२/७३ मा १४ गैँडा मरेका तिवारीले बताउनुभयो । तिवारीका अनुसार आव २०७३/७४ मा २५, आव २०७४/७५ मा २६, आव २०७६/७७ मा २६, आव २०७७/७८ मा ३३ र आव २०७८/७९ मा ३७ गैँडा मरेका छन् । चालु आवको अहिलेसम्म १६ गैँडा मरेका भेटिएका उहाँले जानकारी दिनुभयो ।

निकुञ्जको तथ्याङ्कअनुसार आव २०६५/६६ देखि आव २०७९/८० सम्म ३ सय २३ वटा गैँडा मरेका छन् । निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाँदा आपसमा जुधेर र बुढो भएर मर्नेको सङ्ख्या धेरै रहेको तिवारीले बताउनुभयो । गैँडाको चरनका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापन र पानीको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया