अहिले सबैभन्दा ठूलो चुनौती स्रोतको छ : अर्थमन्त्री डा. महत

 वैशाख २७, २०८० बुधबार १२:३६:२८ | रासस
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाण्डौमा आयोजना गरेको प्रि–बजेट छलफलमा उहाँले अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय र क्रमागत आयोजनाका लागि समेत स्रोत जुटाउन धौधौको अवस्था रहेकाले नयाँ आयोजनालाई कसरी बजेटमा पार्ने भनेर चुनौती रहेको बताउनुभएको हो ।

‘हजारौँ आयोजनाको ठेक्का लागिसकेको छ । तर त्यसको स्रोत सुनिश्चितता गर्न समस्या छ । अहिले सबैभन्दा ठूलो चुनौती भनेको स्रोतको चुनौती हो,’ अर्थमन्त्री महतले भन्नुभयो, ‘सरकारी राजस्व कम छ । अनुदान र ऋण पनि लक्ष्यअनुसार सङ्कलन हुनसकेको छैन । धेरै ठाउँमा योजना दिनुपर्ने दबाब छ । तर हामीसँग स्रोत कम छ ।’

अर्थतन्त्रको दायरा फराकिलो बनाउन लगानी बढाउने विषय सरकारको प्राथमिकतामा रहेको पनि अर्थमन्त्री महतको भनाइ छ । ‘लगानीलाई सहज बनाउनुको विकल्प छैन । जति लगानी बढ्छ, त्यति राजस्व बढ्छ । नियम कानुन पालना गरेर सहज रुपमा उद्यम गर्नसक्ने वातावरण तयार पार्न सरकार कटिबद्ध छ,’ उहाँले भन्नुभयो ।

अर्थतन्त्र सुधारका लागि नयाँ अध्याय सुरु गर्नुपर्ने बेला आएको पनि अर्थमन्त्री डा महतले बताउनुभयो । अहिले पुँजीगत खर्च बढाउने र सार्वजनिक खर्च कटौती गर्नतर्फ सरकारको ध्यान केन्द्रत रहेको पनि उहाँको भनाइ छ । 

मौद्रिक नीतिको समीक्षामार्फत् ब्याजदर घटाउनेलगायत केही काम गर्न सकिने तथा विभिन्न क्षेत्रमा नीतिगत सुधार (पोलिसी इन्टरभेन्सन)  आवश्यक रहेकाे पनि महतले उल्लेख गर्नुभयो ।

आगामी आर्थिक वर्षको बजेटबारे निजी क्षेत्रका तर्फबाट सरकारलाई सुझाव प्रस्तुत गर्नुहुँदै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको संरचनात्मक सुधार आवश्यक रहेको बताउनभुयो । त्यस्तै निजी क्षेत्रको सहकार्यमा आर्थिक सुधारका कार्यक्रम सुरु गर्न सरकारले कत्ति पनि ढिलाइ गर्न नहुने पनि उहाँले बताउनुभयो ।

‘भारत, चीन, रुवान्डा, बङ्गलादेशजस्ता मुलुकमा गरिबी तीव्र रुपमा घट्नुको कारण भनेको निजी क्षेत्रको नेतृत्वमा आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउनु हो,’ ढकालले भन्नुभयो, ‘अब आउने नीतिले त्यो आँट गर्नुपर्छ । हामी यत्तिकै बस्यौँ भने अर्थतन्त्रमा सुधार हुँदैन ।’ 

अर्थतन्त्र सुधारको प्रयास मौद्रिक नीतिको चौथो त्रैमासिक समीक्षा, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमार्फत् गरिनुपर्ने सुझाव ढकालको छ ।

स्वदेशी तथा विदेशी लगानीलाई बढाउन जरुरी रहेको पनि उहाँले बताउनुभयो । ‘अहिलेको हाम्रो प्राथमिकता भनेको स्वदेशी र विदेशी लगानीलाई प्रबर्द्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्नु पनि हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउने, एकद्वार केन्द्र स्थापना गर्नेलगायतका काम गर्दा पनि लगानी बढ्न सकेको छैन । यसबारे सरकार गम्भीर हुन जरुरी छ, अध्यक्ष ढकालले भन्नुभयो ।

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उत्पादन र रोजगारीलाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने बताउनुभयो । आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्न सकेमा मात्रै त्यो दिगो हुने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया