नदी तर्न शुल्क तिर्दै लालझाडीवासी, भन्छन् : कहिले बन्छ पक्की पुल ?

 जेठ २, २०८० मंगलबार ११:५८:३५ | रासस
unn.prixa.net

तस्बिर : रासस

कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उहाँ लालझाडी गाउँपालिका–२ मा रहेकाे सिद्धबैजनाथ माध्यमिक विद्यालयमा पढाउनुहुन्छ । 

विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिनुहुन्छ प्रेमा । साइकलमा ओहोरदोहोर गर्न उहाँले दोदा नदीमाथिको जीर्ण काठे पुल प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने बाध्यता छ । 'वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ, यो पुल पनि अब जीर्ण बन्दै गएको छ', उहाँले भन्नुभयो, 'प्रत्येक दिन ओहोरदोहोर गर्ने हुनाले महिनाभरको शुल्क एकमुष्ट तिरेकी छु ।'

लालझाडी गाउँपालिका–४ सिखलपट्टीका कमल साउदको पनि दैनिकी यस्तै छ । दैनिक काठेपुल भएर साइकलमा आउजाउ गर्न उहाँ शुल्क तिर्ने गर्नुहुन्छ । दोदा नदीमा पक्की पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीय शुल्क तिरेर काठे पुल भएर यात्रा गर्ने गरेका उहाँले बताउनुभयो । 'पक्की पुल निर्माण सुरु भएको वर्षौँ भइसक्यो, काम सकिएको छैन', उहाँले भन्नुभयो, 'पक्की पुल नहुँदा काठे पुलमा पैसा तिरेर नदी वारपार गर्ने गरेका छौँ ।'

स्थानीय काठे पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको ३० रुपैयाँ शुल्क तिर्ने गरेका छन् । लालझाडी गाउँपालिका–४ की वृद्धा सरस्वती रानाको परिवारले व्यक्तिगत लगानीमा दोदा नदीमा काठे पुल बनाएको थियो ।

दिनभर काठे पुल कुर्ने उहाँ नदी ओहोरदोहोर गर्नेबाट शुल्क सङ्कलन गरेर जीविकोपार्जन गर्दै आउनुभएको छ । 'दिनमा दुई सय जनाभन्दा बढी मानिस काठे पुल भएर नदी वारपार गर्छन्', उहाँले भन्नुभयो, 'यहीँबाट आएको पैसाले घरखर्च चलेको छ ।'

सालको काठबाट फलेक जोडेर अस्थायी पुल बनाइएको छ । पुलको टेको समेत मक्किएका छन् । वर्षौँदेखि आफ्नै गाउँ आउजाउ गर्न जीर्ण काठे पुल चढ्न बाध्य छन्, लालझाडीका स्थानीय । 'वर्षौँ भइसक्दा पनि शुल्क तिरेर काठे पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन, पक्की पुल भएर आउजाउ पर्ने सपना नै छ', स्थानीय सेमलाल रानाले भन्नुभयो, 'काठे पुल विस्थापित भएर पक्की पुलमा आउजाउ गर्ने हाम्रो सपना कहिले पूरा होला ?'

मङ्सिरदेखि जेठसम्म मात्रै काठे पुलको सहायताले नदी वारपार गर्न सकिन्छ । बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दुःख दिने गरेको छ । 'बर्खायाममा बाढी आएपछि यो बाटो भएर आउजाउ गर्न सकिँदैन', उहाँले भन्नुभयो, 'सात महिनामात्रै काठे पुल भएर नदी वारपार गर्ने गरिन्छ ।'

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया