नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
बाग्लुङ – मुठाचौर बाग्लुङको सबैभन्दा उच्च ठाउँमा रहेको बस्ती हो । उच्च पहाडको टुप्पोमा समथर भूभागमा फैलिएको मुठाचौर खेतीपाती र पशुपालनका लागि उर्बर ठाउँ हो । वरपर घनाजङ्गल । चारैतिर घना जङ्गलले घरिएको मुठाचौरमा ढुङ्गा, माटो र काठले बनेका कलात्मक घर छन् । यी घरमा वर्षको सात महिना ताला लगाइएको हुन्छ । घुम्ती बसाइँ हुने गर्दा स्थानीय यहाँ बर्खाको समय पशुचौपाया लिएर पुग्ने गर्छन् । मुठाचौर मोटरबाटो, खानेपानी, बिजुलीलगायत विकासका पूर्वाधारले नजोडिएको हुँदा स्थानीय छोटो समयमात्रै बस्ने गर्छन् ।
छोटो समयमै पनि उनीहरूले यहाँ आलु, भाँगो र सिमी उत्पादन गर्छन् भने पशुचौपाया पनि पाल्ने गर्छन् । सेवासुविधाले पछि परेको मुठाचौर अब विकासले जोडिँदै छ । तमानखोला गाउँपालिका–२ मा पर्ने यो ठाउँ बाग्लुङको मुख्य पर्यटकीय गन्तव्य बराह तालको छेउमै छ । भौगोलिक हिसाबले निकै विकटमा रहेको हुँदा मुठाचौरमा अहिलेसम्म मोटरबाटो पुग्न सकेको थिएन । यस वर्ष बल्ल यहाँ सडक पुगेको छ । पर्यटकीय हिसाबले भने निकै मनोरम रहेको मुठाचौर पुग्ने जो कोही यहाँबाट देखिने दर्जनौँ हिमशृङ्खला र अनेकौँ दृश्यले लोभिने गर्दछन् ।
प्राकृतिक सुन्दरताले भरिएको मुठाचौरमा झन्डै दुई सय घर परिवार बसोबास गर्दै आइरहेका छन् । हरेक वर्ष स्थानीय चार महिना मुठाचौरमै बस्ने गर्छन् भने बाँकी समय कटेरी, भयरभबोङ्गा गाउँमा झर्ने गर्छन् । सेवासुविधा नपुग्दा घुम्ती बसाइँ गर्ने स्थानीय अब मुठाचौरमै बस्ने छन् । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँले मुठाचौरमा सडक पुर्याइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । उहाँका अनुसार मुठाचौरसँगै बराहतालसम्म सडक पुर्याइएको छ ।
‘तमानखोला भौगोलिकरूपमा विकट छ, धेरै बस्तीमा हामी निर्वाचित भएर आएपछि सडक पुर्याइसकेका छौँ, मुठाचौर र बराहतालमा पुर्याउन सकेका थिएनौँ, यस वर्ष प्रदेश सरकारले विनयोजन गरेको बजेटबाट सडक निर्माण गर्यौँ’, अध्यक्ष बुढामगरले भन्नुभयो, ‘अब स्थानीय र बराह तालमा आउने पर्यटकलाई सहज हुनेछ, यो ठाउँ निकै मनोरम हुँदा पर्यटकीय गन्तव्य बन्नसक्छ भने उत्पादनका हिसाबले निकै सम्भावना बोकेको छ, अब यसको प्रवर्धन गर्नतर्फ योजना बनाएर लाग्छौँ, यस वर्ष सडकले जोड्यौँ, अब खानेपानी र बिजुलीको पनि व्यवस्थापन गर्छौँ ।’
यसअघि गाउँपालिकाले कोलचेप्पासम्म सडक पुर्याएको थियो । अहिले कोलचेप्पादेखि झन्डै एक किलोमिटर सडक निर्माण गरेर मुठाचौर हुँदै बराह ताल पुर्याइएको हो । यहाँका स्थानीयको मुख्य पेसा नै पशुपालन र खेतीपाती हो । मुठाचौर प्राकृतिक रूपले सुन्दर भए पनि सडक, बिजुलीलगायत विकासका पूर्वधारले जोडिन नसक्दा अहिलेसम्म ओझेलमा परेको स्थानीय ढालेन्द्र छन्त्यालले बताउनुभयो । बर्खाको समयमा यहाँ बस्ने स्थानीय अँध्यारोमै बस्न बाध्य रहेको भन्दै बजारबाट सामान पनि मान्छेले नै बोकेर ल्याउने गरेको उहाँको भनाइ छ ।
अब गाडी चल्न थालेपछि वर्षौँदेखिको स्थानीयको समस्या समाधान हुने उहाँ बताउनुहुन्छ । मुठाचौरभन्दा केही तल रहेको कटेरी गाउँसम्म भने मोटरबाटो, बिजुलीको पहुँच पुगेको उहाँको भनाइ छ । यहाँ विकासले छुन नसक्दा पुर्खौँदेखि स्थानीय घुम्ती बसाइँ गर्न बाध्य भएका उहाँ बताउनुहुन्छ । मुठाचौरमा सडक पुगेपछि स्थानीय हर्षित भएका छन् । अब मुठाचौरले मुहार फेर्ने छन्त्यालको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, ‘यस ठाउँका मान्छेलाई जस्तो दुःख अरूलाई थिएन, विकास नहुँदा लेकबेसी गरेर बस्नुपर्ने बाध्यता थियो, अहिले बल्ल सडक आयो, सडक राम्रो भयो र गाडी चल्न थाले भने यो ठाउँ पनि राम्रो बन्नेछ, पर्यटक आउन थाल्नेछन्, गाउँलेको जनजीवनसमेत फेरिनेछ, अहिले मान्छे विकास खोज्दै बजार गएका छन्, भोलिका दिनमा उनीहरू गाउँ फर्किएर यही ठाउँमा आउनेछन् ।’
स्थानीय खिमा रसाइलीले अब आफूहरूका दुःखका दिन हराउने भन्दै खुसी व्यक्त गर्नुभयो । सबै गाउँमा मोटर गुड्दा अहिले बल्ल मुठाचौरमा मोटरबाटो आएको भन्दै अब दैनिक उपभोग्य सामान थाप्लोमा बोकेर खान नपर्ने उहाँ बताउनुहुन्छ । अब सडक आएपछि यात्रा गर्न र सामान ढुवानी गर्न सहज हुने भए पनि खानेपानी तथा बिजुलीको समस्या उस्तै रहेको रसाइलीले बताउनुभयो । बिजुली नहुँदा आफूहरू वर्षौँदेखि अँध्यारोमा बस्न बाध्य रहेको र पानी पोखरी तथा कुवाबाट लिएर उपभोग गरेको उहाँ बताउनुहुन्छ ।
‘ठाउँ राम्रो भएरमात्रै नहुने रहेछ, विकास चाहिँदो रहेछ, विकास हुन नसक्दा यहाँ बस्ने बर्खाको समयमा मात्रै हो, बर्खामा सबै सामान बजारबाटै ल्याउनुपर्छ, हिलोले गर्दा घोडा खच्चड पनि हिँड्न सक्दैनन्, त्यसले गर्दा मान्छेले नै नुन, तेल र चामल बोकेर ल्याउनुपर्छ, अहिले सडक आयो अब बोक्नुपर्ने बाध्यता हट्ने छ’, उहाँले भन्नुभयो, ‘सडक आयो, अब खानेपानी र बिजुली बत्ती आयो भने बाह्रै महिना यही बस्न सकिने थियो, अहिलेसम्म आकाशबाट आएको र पोखरीको पानी खाँदै आएका छौँ, सडक आएपछि अब अरू विकास पनि होला भन्ने आश लागेको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।