ए डिभिजन लिग : तीन चरणकाे खेल बाँकी, राेमाञ्चक बन्दै प्रतिस्पर्धा

 जेठ १९, २०८० शुक्रबार १८:२९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिगमा २३ औँ चरणका खेल सकिँदासम्म उपाधि कसले जित्ने र 'रेलिगेशन जाेन' मा काे पर्छ भन्ने टुङ्गो छैन । लिग अन्त्यको सङ्घारमा आइपुगेको अवस्थामा तीन चरणका खेलमात्र बाँकी छन् ।

बाँकी तीन चरणमा कसले काेसँग खेल्ने भन्ने निश्चित भए पनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी छ । जसले गर्दा लिग रोमाञ्चक बनिरहेको छ र लिग समीकरण प्रतिस्पर्धात्मक बनेको छ ।

यसै सिजन बढुवा भएको चर्च ब्वाइज युनाइटेडले स्टार खेलाडीलाई समेट्दै लिग सुरु गरेसँगै २३ औँ चरणमा शीर्ष स्थान लिन सफल भएको छ । ४१ अङ्क बटुल्दै शीर्षता कायम गरेको चर्च ब्वाइजले ११ खेलमा जित निकाल्दा आठ खेलमा बराबरी र चार खेल गुमाउन पुगेको छ ।

चर्च ब्वाइजलाई साविक विजेता मच्छिन्द्रले पछ्याइरहेको छ । दुई अङ्कले मात्र पछि रहेको मच्छिन्द्रले २३ औँ चरणसम्म आइपुग्दा १० खेलमा स्पष्ट जित निकाल्दा नाै खेलमा बराबरी र चार खेलमा अङ्क सुम्पिएको छ ।

यस्तै दोस्रो स्थानको मच्छिन्द्रभन्दा दुई अङ्कले पछि तेस्रो स्थानमा रहेको जावलाखेलले भने जारी लिगमा अपेक्षाभन्दा धेरै राम्रो प्रदर्शन गर्न सक्यो । बलियो टोलीविरुद्ध सुखद नतिजा निकाल्दा तालिकाको पुछारतिर अड्किएका टोलीसँग जावलाखेलको बिर्सनलायक प्रदर्शन रह्यो । जावलाखेलले १० खेलमा जित निकाल्दा सात खेलमा बराबरी र छ खेलमा नतिजा गुमाएको छ ।

यस्तै विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो लेगमा खराब प्रदर्शन गरे पनि अन्त्यतिर सुध्रिएकाे छ । गएकाे सिजन पनि पुलिसको प्रदर्शन राम्रो थिएन । धेरैको अनुमान थियो, यसपल्ट पनि पुलिस रेलिगेशनबाट बच्न सङ्घर्षरत हुनेछ । यसै क्रममा पुलिस तेस्रो चरणमा आइपुग्दा सबैभन्दा खराब खेल्ने टिम रह्यो तर अहिले भने पुलिसलाई रेलिगेशन डर कम भएको छ । पुलिस पछिल्ला चारमा स्पष्ट जित निकाल्दै चौथो स्थानमा उक्लिन सफल भएको छ । पुलिसले २३ खेलबाट १० खेलमा जित निकाल्दा चार खेलमा बराबरी र नाै खेलमा अङ्क गुमाएको छ ।

यस्तै 'ए' डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लबले पछिल्ला पाँच खेलमध्ये तीन खेलमा बराबरी र दुई खेलमा जित निकाल्दै स्थान सुधार गरे पनि खेलमा भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन । याे सिजनमा खराब लय रहँदा प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएसँगै र नयाँ प्रशिक्षक विसन गुरुङ जोडिएसँगै टोलीले सुधारिएको खेल देखाउन सक्यो ।

अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको पनि २३ औँ चरणसम्म आइपुग्दा सन्तुलित खेल भएन । केही अनुभवी खेलाडी विदेश पलायन भएसँगै कमजोर देखिएको आर्मी छैटाैँ स्थानमा छ । आर्मीले २३ खेलमा सात जित निकाल्दा १० खेल बराबरी र छ खेलमा नतिजा सुम्पिएको छ । आर्मीको ३० अङ्क हुँदा शीर्ष स्थानको चर्च ब्वाइजभन्दा ११ अङ्कले पछि छ र आर्मीको उपाधि अपेक्षा समाप्त भइसकेको छ ।

अर्को टोली हिमालयन शेर्पा क्लबको पनि प्रदर्शन पहिलो लेगमा जस्तो दोस्रो लेगमा भएन । बलिया टोलीसँग सुखद नतिजा निकाले पनि हिमालयनले आफूभन्दा तल रहेका टोलीसँग खुलेर खेल्न सकेन । हिमालयन शेर्पाले २३ खेल सक्दा सात खेलमा स्पष्ट अङ्क बटुल्दा नाै खेलमा बराबरी र सात खेल गुमाउन पुगेको छ ।

उता सातदोबाटो युथ क्लब एकै चरणमात्र शीर्षमा टिक्यो तर जावलाखेलसँग २–१ ले पराजित भएपछि तेस्रो स्थानमा झरेको थियो । त्यसपछि 'डाउनफल' भएको सातदोबाटाको प्रदर्शन राम्रो हुन सकेन । पछिल्ला पाँच खेलमा सातदोबाटोले लगातार चार खेलमा नतिजा गुमाउँदा शीर्ष स्थानको होड कमजोर बन्यो । सातदोबाटो २९ अङ्कका साथ आठौँ स्थानमा रहँदा लिगमा आठ खेलमा जित, पाँच खेल बराबरी र १० खेल गुमाउन पुगेको छ ।

समान २९ अङ्क रहेको न्युरोड टिम (एनआर) टीले पनि २३ औँ चरणसम्म आइपुग्दा सन्तुलित प्रदर्शन गर्न सकेको छैन । पछिल्ला पाँच खेलमा दुई जित, दुई बराबरी र एक खेल गुमाएको एनआरटीलाई रेलिगेशनकाे डर कायमै छ ।

पुछारको खुमलटारले २४ अङ्क जोडेको छ । तीन खेलमध्ये सबैमा सुखद नतिजा निकाले खुमलटारको समीकरण बदलिनेछ र छैटाैँ स्थानदेखिको टोलीलाई उत्तिकै डर रहेको छ ।

यस्तै अर्को विभागीय टोली सशस्त्र प्रहरीकाे एपीएफ क्लबले सुरुवात राम्रो गरे पनि पछिल्ला पाँच खेलमध्ये दुई जितले राहत मिल्यो । यद्यपि एपीएफलाई रेलिगेशनकाे डर छ । टाेलीकाे खराब लयलाई अनुभवी प्रशिक्षक मेघराज केसीले तोड्न सकेका छैनन् । एपीएफ २९ अङ्कका साथ आठाैँ स्थानमा छ ।

थ्री स्टार क्लबकाे साख कमजोर बन्दै गएको छ । पछिल्ला पाँच खेलमध्ये थ्री स्टारले चार खेलमा नतिजा सुम्पिँदा एक खेलमा बराबरी खेलेको छ ।

थ्री स्टार २७ अङ्कका साथ तालिकाको ११ औँ स्थानमा छ । अर्को टोली सङ्कटा क्लबलाई पनि यो सिजन रेलिगेशनबाट बच्ने सोचभन्दा माथि उठ्नका लागि मौका नै मिलेन । १२ औँ स्थानमा रहँदा सङ्कटा रेलिगेशनभन्दा एक स्थानमाथि मात्र छ । छ खेलमा मात्र स्पष्ट जित निकालेको सङ्कटाले नाै खेलमा बराबरी खेल्दा आठ खेलमा नतिजा सुम्पिएको छ ।

पुछारमा रहेका फ्रेन्ड्स क्लब र एफसी खुमलटारले भने रेलिगेशनबाट बच्नका लागि सङ्घर्ष गरिरहनुपर्ने भएको छ ।

यस्ताे छ अङ्क तालिका–

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया