६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
गीता आचार्य/रुपाकोट नगरपालिका खोटाङ, आचार्यगाउँ ।
मेरा चार जना छोराछोरी छन् । छोरी अहिले १० कक्षामा पढ्छिन् । तीन छोराले चाहिँ पढ्न भन्दा पनि कमाउन तिर ध्यान दिए । त्यसैले ऋण काढेर तीन जनालाई नै विदेश पठाएँ । छोरा मेरा तर उनीहरुले विदेशमा गरेको दुःले साहु धनी भए ।
सय कडा तीनको ऋण तिर्दा तिर्दै छोराहरु फर्किने बेला भैहाल्ने । घर त जस्ताको तस्तै । विदेशको कमाइ खहरे खोलाको भेल जस्तै हुने रहेछ ।
केही समयअघि हाम्रो गाउँमा एउटा कक्षा हुने भयो । बुढेसकालमा हामीजस्तालाई पढाउने कक्षा कस्तो होला भन्ने लाग्यो सुरुमा सुन्दा त । छोराहरुलाई पढाउन त्यस्तै भयो मै भएपनि पढेर केही सिक्नु प¥यो भन्ठानेर म त्यो कक्षामा बस्न थालें ।
कक्षामा त काइदाको कुरा पो पढाइदो रहेछ । हुन त मैले त्यो कक्षामा छोराहरु विदेशमा भएकै कारण हो बस्न पाएको । छोराले विदेशमा कमाएको पैसा कसरी जोगाउने भन्ने त सिकें नै त्यो भन्दा बढी त मैले आफैले कमाउने बाटो समाएँ ।
तीन छोराले विदेशमा कमाएर नसुध्रिएको व्यवहार हिजोआज म आफैले मिलाउन थालेको छु । सिजन अनुसारको तरकारी रोप्छु, दूध, दही र घ्यु बेच्छु । पहिला पहिला समस्या पर्दा १० रुपैयाँ पनि नपत्याउने साहुहरु हिजोआज मैले आम्दानीको बाटो गरेको देखेपछि ऋण पनि पत्याउछन् ।
तर खेतबारी, बाख्रा, कुखुरा र गाइभैसी पालेर गरेको आम्दानीले नुनतेल धानेको छ । अनि, थेरथोर बचत पनि गर्न थालेको छु । अहिले त मलाई समस्या पर्दा १० हजार रुपैयाँसम्मको जोहो गर्न साहुको मुख ताक्न पर्दैन ।
म खेतबारी र डटेर कुटोकोदालो गर्न सक्दिन् । बिमारले थलिएको ज्यान भएपनि तगडा मनले काम गर्छु । श्रीमानले पनि सघाउनुहुन्छ । मिलेर काम गर्दा सजिलो पनि भएको छ ।
गाउँघरमै पनि आम्दानी गर्ने बाटो प्रसस्तै रहेछन् भन्ने जानेदेखि मलाई विदेश ठीक लाग्दैन । जेठोलाई विदेश पठाएँ, कमाएको ऋण तिर्दै ठिक्क । माइलोलाई कान्छोलाई पठाएँ ठ्याक्कै त्यस्तै । अनि साहु धनी बनाउन आफ्ना छोराको ज्यान किन घोटाउनु जस्तो लाग्छ ।
अर्कातिर पराइ देश पुगेका सन्तानलाई भवितव्य परिहाल्ने हो कि भन्ने चिन्ता । विदेशमा कमाइ होला भन्दा ऋणले आच्छु आच्छु बनायो । अहिले धेरथोर आफैले गर्दा आनन्दले नुनतेल किन्न पुगेको छ । बचत गरेको पैसाले समस्या पनि टरेको छ । किन जानु विदेश ?
गीता आचार्यसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।