विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

 मंसिर १६, २०८१ आइतबार ७:३१:११ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – नेपालमा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो ।

केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआइभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ सङ्क्रमित भेटिएका थिए । उहाँले सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ सङ्क्रमित कम भइरहेको बताउनुभयो । सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याएकोले सर्न कम भएर घटेको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले देखिएका सङ्क्रतिमध्ये ८७ प्रतिशतले औषधि खाइरहेका छन् ।

औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । सन् २०२३ सम्म नेपालमा ३० हजार ३०० व्यक्ति एचआइभी सङक्रमित रहेका छन् । केन्द्रका निर्देशक डा‍. शर्माले अझै झन्डै करिब पाँच हजार सङ्क्रमित उपचारभन्दा बाहिर रहेका र ती सङ्क्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । उहाँले एचआइभी सङक्रमितमाथि अझै समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताउनुभयो ।

नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि विदेशिने रहेका छन् । तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमणदर अरू जोखिम समूहभन्दा उच्च रहेको छ ।

अहिले ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ । आज डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चतता गरौँ’ भन्ने नाराका साथ ३७औँ विश्व एड्स दिवस मनाइँदै छ । 

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया