उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
रमा मगर/उदयपुर
माछाबजार नजिकै उत्तर फर्केको एकतले घरको सटरमा किराना पसल छ । भर्खरै खोलिएको किराना पसल टीका थापामगरको हो । पसलमा चटपटे, पानीपुरी, चाउचाउ, कुरमुरे यस्तै–यस्तै सामानहरु पाइन्छन् ।
निकै स्वादिलो चटपटे बनाउनुहुन्छ, टीका । सबैलाई मिठो चटपटेको स्वाद चखाउने टीकाको अवस्था भने नुन नपुगेको तरकारी जस्तै खल्लो छ । उहाँको मनमा बेचैनीको महासागर उर्लिरहन्छ । परदेश गएका श्रीमान् बिरामी भएर फर्किएपछि उपचार खर्च जुटाउन उहाँले पसल खोल्नुभएको हो ।
धन कमाउन परदेशिएका श्रीमान् ३२ वर्षीय बलबहादुर थापामगर दुईवटै मिर्गाैला फेल भएर नेपाल फर्किएपछि टीकालाई समस्याको पहाडले थिच्न थाल्यो । श्रीमान्को उपचारसँगै परिवारको खर्च जुटाउन गाह्रो हुँदै गयो । त्यसपछि घरको आर्थिक अवस्था धान्न र श्रीमान्को उपचार खर्च जुटाउन उहाँले पसल सुरु गर्नुभयो ।
हरेक दिन पसलमा व्यस्त देखिए पनि टीकाको मन भने मंगलबार र शुक्रबारको प्रतिक्षामै हुन्छ । मंगलबार र शुक्रबार बिराटनगरको नोबेल अस्पतालमा बलबहादुरको अनिवार्य डाइलासिस गर्नुपर्छ । त्यही भएर टीकालाई यी दुई दिन याद भइरहन्छ । यी दुई दिनबाहेक अरु दिन आए गएको पत्तो नै हुँदैन ।
उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका, ५ रुम्जाटार हो बलबहादुरको घर । तर ११ वर्षदेखि गाइघाटमा भाडा लिएर बस्दै आउनुभएको छ ।
वि.सं. २०७३ सालको तिहार लगत्तै बलबहादुर परिवारको र छोराछोरीको भविष्य सपार्न भन्दै मलेसिया जानुभयो । श्रीमान मलेसियामा कमाउन थालेपछि टीकालाई थप हौसला मिल्यो ।
श्रीमानको कमाइको भरोसामा टीकाले छोराछोरीलाई निजी विद्यालयमा भर्ना गर्नुभयो । आफ्नो परिवारलाई खुशी दिन बलबहादुरले मलेसियामा पसिना बगाउनुभयो । तागतले भ्याएजति परिश्रम गर्नुभयो । महिना, महिनामा घरमा पैसा पठाइरहनुहुन्थ्यो । घरमा खुशी छाउँदै थियो ।
तर त्यो खुशी सधैँ टिकिरहन सकेन । मलेसिया गएको केही महिनादेखि बलबहादुरका हातखुट्टा सुनिन थाले । काम गर्न गाह्रो हुन थाल्यो । घर फर्किन खोज्नुभयो, तर कम्पनीले जान दिएन । पीडामै पनि जसोतसो उहाँले २६ महिना कटाउनुभयो ।
त्यो बीचमा सुन्निएको कम गर्ने विभिन्न औषधि खाइरहनुभयो । तर त्यसले बीसको उन्नाइस पनि भएन । झनझन समस्या बढ्न थाल्यो । काम गर्नै नसक्ने अवस्था भएपछि उहाँले अस्पताल गएर जाँच गराउनुभयो ।
अस्पतालमा जाँच गराउँदा दुईटै मिर्गाैला फेल भएको भन्ने रिपोर्ट आयो । उहाँ छाँगाबाट खसेझैँ हुनुभयो । मनमा सजाएर राखेका सपनाहरु काँचको गिलास फुटेझैँ चकनाचुर भए । सपना हो कि विपना उहाँ बेहोसीझैँ हुनुभयो ।
पहिले बिदा नदिएको कम्पनीले अस्पतालको रिपोर्ट देखेपछि बल्ल बिदा दिने भयो । अन्ततः मलेसिया गएको २७ महिनापछि वि.सं. २०७५ पुसमा बलबहादुर नेपाल फर्किनुभयो ।
नेपाल आएपछि बलबहादुरले आर्थिक सहयोगको लागि वैदेशिक रोजगार विभाग, जिल्ला प्रशासन, गाउँपालिका सबै ठाउँ चाहार्नुभयो । सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासन (सामी) परियोजनाद्वारा सञ्चालित आप्रवासन श्रोत केन्द्रको सहयोगमा उहाँले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट पाइने ७ लाख रुपैयाँ पाउनुभयो । अन्य आर्थिक सहायताबाट ९० हजार रुपैयाँ जति पाउनु भएको छ ।
मिर्गाैलाले काम गरेसम्म बलबहादुरले परिवारलाई पाल्नुभयो । सरकारको रेमिट्यान्स बढाइदिनुभयो । तर जब मृगौला नै काम नलाग्ने भएर बाँच्नु् न मर्नुको दोसाँधमा उभिनुभयो, तब सरकारले सात लाख रुपैयाँ दिएर टारिदियो ।
‘रोगले थलिएर केही गर्न नसक्ने भएपछि त राज्यले पनि बिर्सिंदोरहेछ’, बलबहादुरले आँसु पुछ्दै भन्नुभयो ।
बलबहादुरको अहिले तुरुन्तै दुवै मृगौला फेर्नुपर्ने अवस्था छ । काम नलाग्ने भएका मिर्गाैलाको नियमित डाइलासिस गरिरहनुपर्छ । सरकारले दिने जति आर्थिक सहायता त दियो, तर मिर्गाैला प्रत्यारोपण गर्नको लागि त्यो रकमले पुग्दैन । हप्तामा दुई पटक डाइलासिस गराउन जाँदाआउँदा र त्यहाँ गएर बस्दा लाग्ने खर्चले गर्दापाएको आर्थिक सहयोग पनि सकिन लागिसक्यो ।
टीका आफ्नो एउटा मिर्गाैला दिएर श्रीमानलाई बचाउन चाहनुहुन्छ । तर त्यसको लागि लाग्ने खर्च आफूसँग नहुँदा उहाँले त्यसो गर्न पनि सक्नुभएको छैन ।
‘मसँग पैसा भएको भए श्रीमानलाई यसरी ऋण खोज्दै डाइलासिस गर्दै पीडामा राख्दिन थिएँ’ उहाँ विलौना पोख्दै भन्नुहुन्छ, ‘मेरो श्रीमानको अवस्था दिनदिनै नाजुक हुँदै छ, म भने उहाँको पीडा टुलुटुलु हेर्न बाध्य छु ।’
एउटा मिर्गाैलाले मात्रै काम गर्न सामान्य बेला भन्दा अप्ठ्यारो नै हुन्छ । त्यहीमाथि स–साना छोराछोरी हुर्काउनुपर्ने । आम्दानीको बलियो बाटो केही छैन परिवारमा ।परिवारको कमाउने दुवैजना एउटा–एउटा मिर्गाैलामा चल्नुपरेपछि कति कष्टदायी हुन्छ, त्यो जोकसैले अनुमान लगाउन सक्छन् ।
आफूले श्रीमानलाई मिर्गाैला दिए पनि पछि झन् समस्या थपिन्छ कि भन्ने कुराले टीकालाई पिरोलिरहन्छ । तर फेरि सोच्नुहुन्छ, ‘जसोतसो चलिहाल्छ नि जिन्दगी त ।’