उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डौ – केही दिनको लगातार वर्षाले भिजाएको जमिन सुक्दैछ । धुम्म भएको आकाश खुलेर धर्तीमा घामका किरणहरु बाक्लिंदैछन् । मौसमले समेत दशैँलाई साथ दिन थालेपछि सबैतिर खुशीयाली र रौनक बढेको छ ।
विदेशबाट जहाज चढेर त्रिभुवन विमानस्थलमा ओर्लिनेहरुको अनुहार पनि खुशी र रौनकले धपक्क बलेको छ । लाग्छ, योबेला विमानस्थलमा अवतरण हुने जहाजहरु दशैँको कोशेली बोकेर आइरहेका छन् ।
तर यहीबेला खुशीलाई विमानस्थलमै छाडेर विदेश जानेहरु पनि छन् । दशैँको बेला गह्रौं पाइला चाल्दै विदेश जान बाध्य चारजना युवा विमानस्थलमा भेटिए । पिठ्यूँमा झोला र हातमा फाइल बोकेर हतारहतार टर्मिनल भित्र छिर्ने प्रवेशद्वारतर्फ लम्किए ।
वैदेशिक रोजगारीमा जानेहरुको लागि भनेर बनाइएको प्रवेशद्वार अगाडि पुगेर टक्क अडिए । गेटको बाहिर छेउको कुर्सीमा बसे । गमलामाथि रोपेका फूलहरु र फूलमाथि नाच्दै गरेका पुतलीलाई एक टकले हेरेर टोलाए ।
‘तपाईँ विदेश जान लाग्नुभएको हो ?’
सोध्नेबत्तिकै उहाँ झस्किनुभयो, ‘हजुर ।’
चितवनका दिपक रेग्मी । दशैँको मुखैमा मलेसिया जानको लागि भनेर विमानस्थल पुग्नुभएको हो । उहाँसँगै हुनुहुन्छ, चितवनकै समिर थापा र नवलपरासीका इस्तेहाक जोला । अर्को कुर्सीमा हुनुहुन्छ, तनहुँका एका राना ।
दशैँको रौनकलाई छाडेर जान मन त कसलाई हुन्छ र ! तर दिपकको पहिलो पटकको विदेश यात्रा भने दशैँको मुखैमा हुन पुग्यो । आजसम्म कहिल्यै नछुटाएको दशैँको टिका यसपालि छुटाउनुपर्यो ।
‘के गर्ने गरिबीले नै त हो’, उहाँले भन्नुभयो, ‘विदेश जाने भनेर म्यानपावरलाई पैसा बुझाएको थिएँ, अहिले बल्ल भिसा लाग्यो, नगए त पैसा फस्छ नि ।’
बाध्यता र परिस्थितिले न चाडपर्व भन्छ न त परिवारको माया नै । अभावले एक्लोमा पनि रमाउन सिकाउँछ । परदेशिन बाध्य पार्छ । त्यही बाध्यताले दशैँतिहारको माया मारेर आफू यसरी मलेसिया जान लागेको दिपकले दुखेसो पोख्नुभयो ।
दिपक रेग्मी जस्तै समिर थापा र इस्तेहाक जोला पनि पहिलो पटक नै देश छोड्दै हुनुहुन्छ । यो दशैँमा खाली भएको निधारमा तीन वर्षपछि खुशीको टीका लगाउने सपना बोकेर उहाँहरु त्रिभुवन विमानस्थलको गेटमा पालो पर्खिंदै हुनुहुन्छ ।
समिर थापाले मोबाइलमा तीनैजनाको सेल्फी लिनुभयो ।
‘पछि उता पुगेपछि को कुन कम्पनीमा पर्छ थाहा हुन्न, छुट्टिनुपर्छ’, उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘हामी नेपालबाट यसरी विदेश आएका थियौँ भन्ने याद हुन्छ नि पछि ।’
इस्तेहाक जोला सबै कुरा सुनेर हाँस्नुभयो । मज्जाले नेपाली बोल्न नजाने पनि उहाँको मुस्कान पारदर्शी थियो । सबै घर फर्किनेबेला आफूहरु विदेशिनुपरेको भन्दै उहाँले थप्नुभयोे, ‘दशैँले खान त दिन्न नि, पैसा भए पो चाडवाड ।’
तनहुँका एका राना कतार जानको लागि भनेर विमानस्थल पुग्नुुभएको छ । एका रानाको भने यो पहिलापटक थिएन । घर बिदामा केही महिना अगाडि नेपाल आउनुभएका एका घटस्थापनाकै दिन कतार फर्किने भनेर विमानस्थल पुग्नुभएको हो ।
‘म तीन वर्षदेखि कतारमा काम गर्दैछु, केही दिन पहिले छुट्टीमा घर आएको थिएँ, फेरि जान लागेको’, उहाँले भन्नुभयो, ‘अर्काको नोकरी गर्नुछ, दशैँ आयो म जान्न भन्न कहाँ पाइन्छ र ?’
मन नभए पनि आफू फर्केर जानुपरेको पीडा उहाँका टोलाइरहेका आँखाले पोखिरहेको थियो । नेपालमा काम खोज्यो भने नपाइने र पाए पनि १०/१५ हजारको जागिर मात्र पाइने भएकाले आफू विदेश जान बाध्य भएको उहाँले गुनासो पोख्नुभयो ।
महिनाभरको खर्च कटाएर थोरै बचाउन मिल्ने काम देशमै पाए आफू विदेश नजाने उहाँले बताउनुभयो ।
विमानस्थलमा आउने जानेहरुको चहलपहल बढ्दै जाँदा उनीहरुको भित्र जाने बेला भयो । गोजी र ब्याग छामछुम गरे । पासपोर्ट र अरु प्रमाण आफैसँग भएको पक्कापक्की गरे । अब ढिलो हुन्छ भन्दै वैदेशिक रोजगारीमा जानेहरुको लागि भनेर लेखिएको प्रवेशद्वारबाट भित्र छिरे ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरु दशैँ मनाउन घर फर्किने क्रम चलिरहेको छ । तर दशैँको बेला घरपरिवारलाई छाडेर परदेशिनेहरुको सङ्ख्या पनि त्यत्तिकै छ । दशैँ नजिकिएपछि भदौमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्नुपर्ने हो । तर उल्टै साउनमा भन्दा भदौमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ह्वात्तै बढेको छ ।
साउनमा ३२ हजार ४ सय ८ जना (कोरियाबाहे) वैदेशिक रोजगारीमा गएका थिए । तर भदौ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेर ३८ हजार सात सय ४ (कोरियाबाहेक) पुगेको छ ।
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।