काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
भोजपुरकी मञ्जु तामाङको दैनिकी पहिलेको भन्दा अहिले फरक भएको छ । पहिले वल्लोपल्लो घर गर्दै, गाउँका दिदीबहिनीहरुसँग गफ गर्दै दिन बित्थे । तर अहिले कुखुराका चल्ला र बंगुरका पाठासँग रमाउँदै मञ्जुका दिन बित्छन् ।
‘श्रीमान् विदेशमा कमाउने छ, मलाई के को चिन्ता’ भन्ने मञ्जु अहिले श्रीमानलाई पनि स्वदेशमै केही गर्नुपर्छ भन्नुहुन्छ ।
२४ वर्षीया मञ्जुका श्रीमान् वैदेशिक रोजगारीको क्रममा यूएईमा हुनुहुन्थ्यो । श्रीमान विदेशमा छँदा मञ्जुलाई ढुक्क थियो । महिनामा श्रीमानले पैसा पठाउँथे । त्यो पैसाले घरखर्च राम्रै चल्थ्यो । मिठो मसिनो खान र राम्रो लाउन पुगेकै थियो । मञ्जु यसैमा ढुक्क हुनुहुन्थ्यो ।
तर मञ्जुको सोचाइमा परिवर्तन ल्याइदियो, वित्तीय साक्षरता कक्षाले । भोजपुर नगरपालिकाद्वारा सञ्चालन गरिएको सुरक्षित आप्रवासन परियोजना अन्तर्गत वित्तीय साक्षरता नमूना कक्षा समूहमा मञ्जु ९ हप्तासम्म सहभागी हुनुभयो । त्यहीँबाट सिकेको ज्ञानले विप्रेषणको महत्व र पैसा बचतको कला थाहा भयो ।
वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यका लागि भनेर सञ्चालन गरिएको वित्तीय कक्षाबाट उहाँलाई निकै फाइदा पुग्यो ।
‘वित्तीय साक्षरता कक्षाले नै मलाई विदेशमा श्रीमानले दुःख गरेर कमाएको पैसा बचत गर्नुपर्छ भन्ने सिकायो’, उहाँले भन्नुभयो, ‘त्यतिमात्र नभएर त्यसरी बचत गरेको पैसाले गाउँमै केही व्यवसाय गर्न पनि हौसला मिल्यो ।’
२०७६ साल माघदेखि नै वित्तीय साक्षरता कक्षा सञ्चालन हुदाँ उहाँले आफ्नो श्रीमान प्रदीप तामाङलाई फोन गरेर कक्षामा बस्न थालेको कुरा बताउनुभयो । प्रदीपलाई मञ्जुको कुरा राम्रो लाग्यो । ‘कक्षामा सिकाएका कुरा व्यवहारमा उतार्नु पर्छ है’, विदेशबाट प्रदीपले फोनमै भन्नुभयो ।
त्यसपछि मञ्जुले कक्षाबाट धेरै कुरा सिक्नुभयो । लोग्नेले परदेशबाट पठाएको पैसालाई विप्रेषण भन्छन् भन्ने कुरा त्यसपछि मात्रै थाहा पाउनुभयो मञ्जुले । यस्तै परदेशमा श्रीमानले दुःख गरेर कमाएको पैसा स्वदेशमा मिठो मसिनो खाएर र राम्रो लाएर मात्रै सक्ने होइन, उत्पादनमूलक काममा पनि लगाउनुपर्छ भन्ने बुझ्नुभयो ।
७ वर्ष विदेश बसेर प्रदीप गएको साउनमा नेपाल फर्किनु भयो । त्यसपछि मञ्जु र प्रदीपले गाउँमै केही गर्ने साेचे । मञ्जुले आफूले वित्तीय कक्षामा सिकेका कुरा र प्रदीपले विदेशमा सिकेकाे ज्ञान बाँड्नुभयाे ।
त्यसपछि दुवैजनाले सल्लाह गरेर कुखुरा र बंगुर पालन गर्ने तय गर्नुभयो । अहिले मञ्जुले तीन सय बोयलर कुखुरा र १० वटा बंगुर पाल्नुभएको छ ।
आधुनिक बंगुरको खोर बनाएर कुखुरा र बंगुरका लागि १ लाख ८० हजारको लगानीमा व्यवसाय सुरु गर्नु भएको छ । अहिले उहाँको पारिवारिक व्यवस्थापनमा पनि निकै सुधार आएको छ । व्यवसायलाई अझ धेरै बढाउँदै लैजाने उहाँको लक्ष्य छ ।
‘यो हाम्रो व्यवसायको पहिलो खुड्किलो हो’, प्रदीप र मञ्जु एकसाथ भन्नुहुन्छ, ‘आम्दानी राम्रो भयो भने यही व्यसायलाई निरन्तरता दिने सोचेका छौं ।’
भोजपुरकी मञ्जु जस्तै खोटाङकी जमुना तामाङ्को दैनिकी पनि पहिलेको भन्दा निकै व्यस्त छ । केपिलासगढी गाउँपालिका–४ की जमुना अहिले ४० वर्षको हुनुभयो । उहाँका श्रीमान् प्रजाबहादुर तामाङ विगत ४ वर्षदेखि वैदेशिक रोजगारीको क्रममा साउदी अरब हुनुहुन्छ ।
जमुना आफ्ना दुई बालबच्चा सहित घरमै बस्नुहुन्छ । पहिले त जमुनाको दैनिकी घरमै बालबच्चालाई हेरचाह गरेरै बित्थ्यो । जमुना घर हेरचाह गर्ने समय बाहेक अरु समय हाट बजार जाने, साथीहरुसँग घुम्ने जस्ता कुरामै बित्ने गर्थ्याे । श्रीमानले पठाएको पैसा घर खर्चमै सकिन्थ्यो ।
श्रीमानले विदेशबाट पठाएको पैसा बचत गर्नुपर्छ भन्ने उहाँलाई थाहा नै थिएन । जब उहाँ केपिलासगढी गाउँपालिकामार्फत बालसेवा समाजले नेतृत्व गरी रहेको सुरक्षित आप्रवासन परियोजना मार्फत वित्तीय साक्षरता कक्षामा सहभागी हुनुभयो, उहाँको सोचाइ नै परिवर्तन भयो ।
अहिले जमुना उद्यमी बन्नुभएको छ । वित्तीय साक्षरता कक्षामा सिकेको आम्दानीलाई बचत गर्ने र बचतलाई आम्दानीको बाटोमा लगाउने कुराले उहाँलाई निकै प्रभाव पार्याे ।
त्यसैले जमुनाले गएको साउनमा कुखुरा पालन गर्ने निर्णय गर्नुभयो र खोर तयार पार्नुभयो । असोज महिनादेखि उहाँले ५० वटा बोइलरको चल्ला राखेर व्यवसायको सुरुवात गर्नुभएको छ । यति गर्नको लागि करिब २० हजारको लगानी लागेको उहाँको भनाइ छ । विस्तारै अनुभव बटुलेपछि धेरै कुखुरा लगाउने तयारीमा हुनुहुन्छ ।
उहाँले व्यवसाय गर्दाको जोखिम र त्यसको पूर्व तयारीको बारेमा पनि वित्तीय कक्षाबाटै सिक्नुभयो । त्यसैले उहाँ भन्नुहुन्छ, ‘यो पहिलो अनुभव हो, त्यसैले यसले कस्तो परिणाम दिन्छ, त्यही अनुसार पछि कुखुराका चल्ला बढाउनुपर्छ ।’
जमुनालाई अहिले आम्दानीका बाटोहरु आफैले खोज्नु पर्छ भन्ने लाग्छ । कुखुराको स्याहार गरेर बचेको समय तरकारी खेती गर्ने समेत सोचमा हुनुहुन्छ उहाँ ।
‘श्रीमानको विदेशको कमाइमा मात्र भर पर्नु नहुँदो रहेछ’, उहाँ भन्नुहुन्छ, ‘विदेशको कमाइले त स्वदेशमा दिगो भविष्यको लागि आर्थिक आम्दानीको जग बसाउनु पर्ने रहेछ ।’