पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
इलाम – दिनभरि चिया बगानमा काम गर । साँझ परेपछि नयाँ पाहुनासँग गफिँदै दिनभरिको थकान मेटाउ । बिहान सबैसँग सेल्फी खिच्दै र खिच्न दिँदै आएका पाहुनालाई बिदाइ गर । यसैगरि बित्छन् इलामको सूर्योदय नगरपालिका ४ का दिनेश आलेमगरका दिन ।
दिनेशका दुई वटा घर छन् । एउटा पुरानै घर । अर्को भने मलेसियामा सात वर्ष बिताएर नेपाल फर्केपछि बनाएको नयाँ घर । दिनेश २०६८ सालमा मलेसिया जानुभयो र २०७५ मा नेपाल फर्किनुभयो । लामो समय वैदेशिक रोजगारीमा बिताउनुभएका दिनेशलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने लाग्यो अनि आफ्ना दुवै घरमा खोल्नुभयो होमस्टे ।
अन्तु घुम्न आउने पाहुनाहरुलाई कुनै पनि अप्ठ्यारो नहोस् भन्नको लागि सर्वसुलभ सेवामा ध्यान दिने गरेको दिनेश बताउनुहुन्छ । वैदेशिक रोजगारीको क्रममा मलेसियामा लामो समय बिताउनुभएका दिनेश अहिले आफ्नै गाउँठाउँमा रमाइरहनुभएको छ । कमाइरहनुभएको छ । यसैमा सन्तुष्ट हुनुहुन्छ ।
मलेसियामा ६५ हजार रुपैँया तलब हुने जागिर छोडेर दिनेश त्यसै नेपाल फर्किनुभएको होइन । नेपालमा पनि लगानी गरेअनुसारको आम्दानी उहाँले गरिरहनुभएको छ । आम्दानी भन्दा पनि बढी सन्तुष्टि मिलेको छ अन्तुमा । त्यसैले उहाँलाई अब यो व्यवसाय छाेडेर कहीँ जानै मन छैन ।
‘अन्तुमा घुम्न जति रमाइलो छ, होमस्टेमा आएको पाहुनासँग गफिन पाउँदा झन् आनन्द महसुस हुन्छ’, दिनेश भन्नुहुन्छ, ‘विदेशबाट फर्केर होमस्टे सुरु गर्ने बेलाको लक्ष्य पनि यहि थियो ।’
इलामका धेरै युवाले अन्तुमा होमस्टे चलाउँदै आएका छन् । तीमध्ये पनि कतिपय दिनेश जस्तै वैदेशिक रोजगारीबाट फर्किएकाहरु छन् । सूर्योदय नगरपालिका ५ का दीपेन्द्र आले मगरलाई पनि कतारको गर्मी भन्दा अन्तुको बतास नै मन पर्यो । कतारमा तीन वर्ष दुःख गरेर नेपाल आउनुभयो । परदेशबाट फर्केर उहाँले अहिले दुई घरमा होमस्टे सञ्चालन गर्नु भएको छ ।
दीपेन्द्र भने होमस्टेसँगै कार्पेन्टिङ र पेन्टिङ्गको पनि काम गर्नुुहुन्छ । यो काममा उहाँको व्यस्ततासँगै कमाइ पनि भइरहेको छ । साँझ बिहानको समय होमस्टेमा दिए पनि दिउँसोको बेला उहाँ कार्पेन्टिङ र पेन्टिङमा व्यस्त रहनुहुन्छ । साथीको लहलहैमा लागेर एक पटक विदेश अनुभव गरेर आउनुभयो तर अब देशमै केही गर्ने रहर छ उहाँकाे ।
‘घरमै पाकेको भात खाएर कमाइ गर्दा गज्जब रमाइलाे हुँदो रैछ’ उहाँ भन्नुहुन्छ, ‘नेपालको कमाइमा सन्तुष्ट छु, आफ्नो देशमै स्वरोजगार हुनुमा बेग्लै आनन्द छ ।’
२०६४ सालमा कतार पुग्नु भएका दीपेन्द्र २०६७ सालमा नेपाल आउनु भएको हो । उहाँ नेपाली ३५ हजार रुपैयाँ तलबमा कतार जानुभएको थियो । नेपाल फर्किनेबेला बल्लतल्ल ओटीसहित गरेर ४० हजार पुगेको थियो । मेहेनत गरे विदेशको भन्दा राम्रो कमाइ आफ्नै गाउँठाउँमा गर्न सकिने उहाँ बताउनुहुन्छ । भन्नुहुन्छ, ‘विदेशको भन्दा धेरै त नेपालमै पो कमाइ हुने रहेछ ।’
दिनेश र दीपेन्द्र मात्रै होइन होमस्टेमै सुन्दर भविष्य खोज्नेमा सूर्योदय नगरपालिका ४ का किरण ठकुरी पनि हुनुहुन्छ । बीबीएस पढ्दापढ्दै परदेशिएका किरणले साउदीको रियाद सिटीमा साझा हेल्थ केयर कम्पनीमा काम गर्नुभयो । पाँच वर्ष उतै बिते ।
किरणको साउदीमा काम सजिलै थियो । कमाइ पनि राम्रै, महिनाको ७२ हजार रुपैयाँ । २०६९ मा विदेश जानु भएका उहाँ २०७४ मा नेपाल आउनुुभयो । पुनः विदेश नै जाने भन्ने योजनाका साथ नेपाल आउनु भएको थियो । तर होमस्टे सञ्चालन पछि भने उहाँकाे विदेश जाने योजना रद्ध भयो ।
‘होमस्टेमा मन लोभियो विदेश गइन, नेपालमै पो होमस्टे सञ्चालन गरेर बसेँ ।’ उहाँ भन्नुहुन्छ, ‘अहिले त ऋण नै लिएर भए पनि नेपालमै व्यवस्थित होमस्टे बनाउने लक्ष्य लिएको छु ।’
पर्यटकीय स्थल अन्तु घुम्न आउने पर्यटकलाई खान बस्न सजिलो होस् भनेर वि.स. २०६० सालदेखि होमस्टे सञ्चालनमा ल्याउन थालिएको हो । अन्तुमा घरैपिच्छे होमस्टे छन् । होमस्टेमा सेवासुविधाअनुसार मूल्य तोकिएको छ ।
सामान्यतया ८ जना अट्ने ननएटेज कोठाको आठ सय, १० जना अट्ने एटेज कोठाको एक हजार पाँच सय र ४ जना अट्ने एटेज कोठाको एक हजार रुपैँया लग्ने गरेका छन् । यो नियम अन्तुका ५८ वटा घरमा लागू गरिएको छ । होमस्टे सञ्चालन गरिएका यी घर श्रीअन्तु डाँडा सामुदायिक होमस्टेद्वारा सञ्चालन गरिएका हुन् ।
यस्तै खानाको पनि फरक फरक मूल्य छ । लोकल कुखुराको मासुसँग तीन सय, बोइलर र सुँगुरको मासुसँग दुई सय ५० र सादा खाना भने एक सय ७० रुपैँयामा खान पाइन्छ । यो मूल्यमा पनि कहिलेकाहीँ पर्यटकहरुले गुनासो गर्ने गरेको व्यवसायी बताउछन् ।
‘अहिले महङ्गी बढेको छ । पर्यटकले बसेबापत दिने सेवा शुल्क कम नै छ । बढाएका छैनौँ’, होमस्टे व्यवसायी दीपेन्द्र भन्नुहुन्छ, ‘परिश्रमको पनि हिसाबै गरे त घाटा छ नि, तर पर्यटकलाई खुुशी राख्न सकेकैमा हामी सन्तुष्ट छौँ ।’
समुद्री सतहबाट करिब दुई हजार तीन सय मिटर उचाइमा अवस्थित अन्तु सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ । अहिले अन्तुमा होमस्टे सञ्चालनमा ल्याउने क्रम बढ्दो छ । यसले अन्तु क्षेत्रको सुन्दरता मासिनेमा व्यवसायी आफै चिन्तित् देखिन्छन् ।
‘दिनदिनै बगान भित्र कटेज बन्छन्, चियाबगान र अन्तुको हरियाली मासिदै जाला कि भन्ने डर छ’, दिनेश भन्नुहुन्छ, ‘सुख्खापन बढ्दै गएर अन्तुपोखरीको पानी समेत सुक्ला भन्ने पीर लागेको छ ।’
यसरी सुन्दरता मासिदै जाँदा यसले पर्यटक आवागमनमा प्रत्यक्ष असर पार्छ । यसलाई नियन्त्रण गर्न अहिलेसम्म कुनै पनि प्रकारका कदमहरु चालिएका छैनन् ।