एनआरएनए कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ सङ्कलित रकम केन्द्रीय कार्यालयमा बुझायो

 असार ११, २०७८ शुक्रबार ११:२३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति कुवेतले नेपालमा अक्सिजन सिलिन्डर सहयोगार्थ सङ्कलित १६ लाख ७४ हजार ९ सय रुपैयाँ एनआरएन केन्द्रीय कार्यालयको सचिवालयमा बुझाएको छ ।

कोरोना महामारीको दोस्रो लहरका कारण नेपालमा भएको अक्सिजन अभावलाई केही मात्रामा भए पछि सम्बोधन गर्न मध्यपूर्वमा कार्यरत नेपाली माझ अभियान सञ्चालन गरी उठेको १६ लाख ७४ हजार ९ सय रुपैयाँ एनआरएन केन्द्रीय कार्यालयको सचिवालयमा बुझाएको एनआरएनए कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिनुभयो ।

एनआरएन कुवेत राहत कोषबाट २ लाख रुपैयाँ संस्थागत र सहयोगी सङ्घसंस्था र सहयोगी हातहरूबाट सङ्कलन भएको रकम हस्तान्तरण गरिएको आपतकालिन राहत समिति संयोजक राना ध्वज लामाले बताउनुभयो ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बेला पनि मध्यपूर्व(खाडी)का देशमा रहेका नेपालीहरूले नेपाललाई सहयोग गर्न रकम जुटाएका छन् । 

कोरोना भाइरसको दोस्रो लहरको भयावह स्थितिमा नेपालका सातै प्रदेशमा सहयोग पुर्‍याउने लक्ष्यका साथ एनआरएन मध्यपूर्वले आइसिसी सचिव आरके शर्माको संयोजकत्वमा अभियान चलाएको थियो ।

यो रकमका साथै मध्यपूर्वका देशहरूबाट उठेको रकम झण्डै एक करोड बराबरको ५६० अक्सिजन सिलिन्डर र रेगुलेटर स्वास्थ्य सामग्री  एनआरएनएले सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया