काबुलबाट उद्धार गरिएका थप ८७ जना काठमाण्डौ आइपुगे

 भदौ २, २०७८ बुधबार ६:४५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

जजिरा एयरलाइन्स विमानमार्फत नेपाल आइपुगेका नेपाली नागरिकहरुलाई नेपाली सेनाले सहयोग गर्दै । तस्वीर : रासस

काठमाण्डाै – अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत पुर्‍याइएका थप ८७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् ।  

गएराति ११ बजे जजिरा एअरमाफर्त कुवेतबाट ८७ जना नेपाली काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उज्यालोलाई जानकारी दिएको छ । हिजो बिहान १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगेका थिए ।  अमेरिकी सरकारको बन्दोबस्तीमा नेपालीहरु काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३ सय ८५ मध्ये २ सय ५  जना नेपाल आइपुगेका छन् भने उद्धार गरेर कतार पुर्‍याइएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ ।

स्वदेश ल्याइएकाहरुलाई प्रक्रिया पुर्‍याएर घर पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल ल्याइएकामध्ये सबैको कोरोना परीक्षण गरिएको छ, संक्रमण देखिएकालाई उपचार पछि घर पठाइने र संक्रमण नभएकालाई सिधै घर पठाइएको छ ।

अफगानिस्तानमा अझ धेरै नेपालीहरु उद्धारको पर्खाइमा छन् । विदेशी नियोगहरुमा कार्यरत नेपालीलाई सम्बन्धित देशले उद्दार गरेर सुरक्षित ठाउँमा राखेको जनाएका छन् भने नेपालले पनि सम्पर्कमा आउन आग्रह गरिरहेको छ । 
 

तपाईको प्रतिक्रिया