पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – मौसमी कामदारका रूपमा नेपालीलाई विभिन्न देशमा सरकारी तवर बाटै पठाइने भएको छ ।
कुनै पनि देशबाट मौसमी कामदारको माग आएमा त्यो देशसँग श्रम सम्बन्ध कायम गरी सम्बन्धित पालिका र श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागबाटै आवश्यक प्रक्रिया गरी मौसमी कामदार पठाउने नयाँ व्यवस्था भएको हो ।
मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ ल्याउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति नै प्रदान गरेर मौसमी कामदारका रूपमा पठाउने व्यवस्था गरेको छ ।
मौसमी कामदारका रूपमा नेपालीहरू विभिन्न तरिकाबाट विदेश उड्न थालेपछि कानुनी रूपमा नै पठाउने गरी मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ ल्याइएको श्रम मन्त्रालयले जनाएको छ । यो निर्देशिका मन्त्रीपरिषदबाट समेत पास भएर कार्यान्वयनमा आइसकेको छ ।
निर्देशिकाले नेपाली नागरिकले मौसमी रोजगारीको लागि वैदेशिक रोजगारीको अवसर प्राप्त गर्ने देखिएमा श्रम मन्त्रालयले सम्बन्धित देशको सरकारसँग छलफल गरी द्विपक्षीय श्रम सम्बन्ध स्थापना गर्न सक्ने व्यवस्था गरेको छ ।
नेपाल सरकारसँग श्रम सम्बन्ध स्थापना भएपछि मौसमी श्रमिक लैजान चाहने सम्बन्धित देशका स्थानीय निकाय वा संस्थाले त्यही रहेको नेपाली दूतावासमा गई कामको मागपत्र प्रमाणीकरण गर्नुपर्छ ।
यस अघिजस्तो विभिन्न नेपालका पालिकासँग सिधै भगिनी सम्बन्ध कायम गर्ने र श्रमिक लैजाने प्रक्रिया थाल्ने गर्न पाइने छैन ।
मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा पेस गर्नु पर्छ । नेपाली नागरिकले त्यो देशमा गर्नु पर्ने काम, पाउने न्यूनतम सेवा सुविधा , आवास, स्वास्थ्य बिमा र सुरक्षाका साथै त्यो देशमा जाँदा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै व्यहोर्ने सुनिश्चितता भएपछि मात्र मागपत्र प्रमाणीकरण हुन्छ ।
यस्तै जाँदा मात्र होइन गन्तव्य देशमा काम सकेर स्वदेश फर्कँदासमेत रोजगारदाताले नै टिकट खर्च व्यहोर्नु पर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।
मागपत्र पठाउँदा नै नेपालको कुनै खास पालिकामार्फत श्रमिक छनौट गर्ने गरी पठाउन सकिने व्यवस्था निर्देशिकाले गरेको छ । मागपत्र प्रमाणीकरण भइसकेपछि विभागले ७ दिनभित्र श्रमिक छनौट गरी सूची पठाउनका लागि सम्बन्धित पालिकालाई जानकारी गराउने छ ।
मौसमी कामदारको माग आएपछि सम्बन्धी पालिकाले मौसमी कामदारका रूपमा जान चाहनेहरूका लागि भनेर आवेदन माग गर्दै सार्वजनिक सूचना जारी गर्ने छ ।
आवेदन परेका व्यक्तिहरूबाट पालिकाले जातीय, लैङ्गिक, उमेरगत लगायत विविधता कायम हुने गरी श्रमिक छनौट गरी सूची विभागमा पठाउन पर्ने छ ।
छनौट भएकाहरूको सूची विभागले समेत सार्वजनिक जानकारीको लागि प्रकाशित गर्ने छ र उनीहरूलाई विभागले नै मौसमी कामदारका रूपमा पठाउने व्यवस्था मिलाउने छ ।
मौसमी कामदारका रूपमा जान छनौट भएर भिसा र करार पत्रसमेत प्राप्त गरिसकेपछि विदेश उड्नुभन्दा अघि कम्तीमा दुई दिनको अभिमुखीकरण तालिम लिन पर्ने छ ।
यस्तै वैदेशिक रोजगारीमा जाने अरू श्रमिकले जस्तै मौसमी कामदारका रूपमा जाने श्रमिकले पनि कल्याणकारी कोषमा १५ सय रुपैयाँ जम्मा गर्न पर्ने छ भने बिमा पनि गर्नु पर्ने छ । यसका साथै नियम अनुसार स्वास्थ्य परीक्षणसमेत गर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेको प्रमाण विभागको वेबसाइटमा अनिवार्य समावेश हुनै पर्छ ।
यी सबै प्रक्रिया पुरा गरिसकेपछि मौसमी कामदारकै रूपमा विभागले श्रम स्वीकृति प्रदान गर्ने छ । मौसमी कामदारको रूपमा एक पटक गएकाले त्यही रोजगारदाताकोमा फेरि पनि रोजगारी पाउने अवस्था रहेमा भने विभागले पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।
पछिल्लो समय कोरियाका विभिन्न पालिकाले नेपालका केही पालिकासँग भगिनी सम्बन्ध कायम गरी मौसमी कामदार लैजान प्रयास गरेका थिए । तर नेपालमा स्पष्ट कानुनी आधार नभएकाले सहज रूपमा पठाउन सक्ने अवस्था थिएन ।
कतिपयलाई भने एजेण्टहरुले लाखौँ रुपैयाँ लिएर कोरियामा मौसमी कामदारको रूपमा पठाएका थिए । कोरियाजस्तै रोमानिया, जापान, बेलायत, कतार लगायतका देशमा समेत मौसमी कामदारका रूपमा नेपालीहरू गइरहेका छन् ।
उनीहरू कतिपय व्यक्तिगत पहलमा त कतिपय विभिन्न एजेण्टहरुलाई पैसा तिरेर गइरहेका छन् । अब भने यो निर्देशिकाले कानुनी रूपमा सरकारी तवर बाटै निःशुल्क जान पाउने व्यवस्था गरेको छ ।
बेलायतसहित विभिन्न देशमा मौसमी कामदारका रूपमा जानेले राम्रो कमाइ गरिरहेका छन् ।
surya prasad pandey
Jan. 24, 2023, 3 a.m.कुन कुन ठाउको लागि मौसमी भिसाको ब्यबस्था छ र के कसरी जान् सकिन्छ ?