पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
मलेसियाको कुखुरा आपूर्ति गर्ने कम्पनी होङ टिज इनरप्राइजेज कम्पनीमा २८ जना नेपालीहरूमाथि काम गर्ने सिलसिलामा कम्पनीका तर्फबाट भनाभन र कुटपिट भएको छ । कुटपिट भएपछि कम्पनीबाट निकालेर अन्यत्र ठाउँमा राखेको गुनासो म्यानपावर कम्पनीका प्रतिनिधि र श्रमिकले दूतावासमा राखेका थिए । ३ जनवरीमा श्रमिकको समस्या आएपछि दूतावासले त्यसै दिन प्रहरीमा उजुरी गरेको थियो । श्रमिकमाथि कुटपिट गर्नेलाई मलेसियन प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । श्रमिकको समस्या समाधानमा भने दूतावासले रोजगारदाता र म्यानपावरका प्रतिनिधिसहिते छलफल गरेको थियो । छलफलमा श्रमिकको चाहना अनुसार घर फर्कन चाहनेलाई घर फर्काउने र काममा फर्कन चाहनेलाई सुरक्षित कार्य वातावरणको प्रत्याभूति गर्ने प्रतिबद्धता रोजगारदाता कम्पनीले गरेको दूतावासले जनाएको छ । उनीहरू रोजगारीका लागि ८ सेप्टेम्बर २०२२ मा पुगेका थिए । कम्पनीमा भएको के हो त ? आफूहरूले भोगेको समस्याबारे समस्यामा पर्ने मध्येका एक ठाकुर रेग्मीले उज्यालोको फेसबुक म्यासेजमार्फत आफ्नो अनुभव साट्नुभएको छ ।
म्यानपावरले महिनामा ८० हजार कमाइ हुने प्रलोभन देखायो । हप्तामा एक दिन बिदा पनि पाउने भएपछि मलेसियामा पाइने काम राम्रो लाग्यो । खोजी म्यानपावरलाई तीन लाखदेखि तीन लाख १० हजार रुपैयाँसम्म बुझाइयो । करार पनि त्यही अनुसार नै गराएको थियो ।
तर यहाँ आएको एक हप्तादेखि नै कम्पनीका मालिकले कुटपिट र गाली गलौच गर्न थाले । यसबारेमा हामीले एजेण्टलाई जानकारी गरायौँ । ऋण काढेरै आएकाले परिवारको मुख हरेर भए पनि सहेर नै बस्यौँ । तर शारीरिक र मानसिक यातना दिन क्रम रोकिएन ।
एक दिन त एक जना साथीलाई कम्पनीका मालिकले कार्टुनमा टेप लगाउने मेसिनले नै झटारो हाने । उसको निधारमा चोट लाग्यो । हामीले यो कुरा नेपालमा म्यानपावरलाई जानकारी पनि गरायौँ । केही दिनपछि म्यानपावरका व्यक्ति नै कम्पनीमा आउनुभयो । चोट देखेपछि उहाँले अब आइन्दा यस्तो नहोस् भनेर कम्पनीसँग सम्झौता गरिदिएर जानुभयो । तर उहाँ गएपछि पनि यो क्रम रोकिएन । करार अनुसार तलब पनि दिएन । फेरि म्यानपावरका व्यक्ति आउनुभयो र सान्त्वना दिनुभयो ।
मसहित नेपाली साथी जसोतसो काम गरिरहेकै थियौँ । तर यही जनवरी १ का दिन कम्पनीको मासु डेलिभरी गर्ने क्रममा कम्पनीले २५ २५ किलोको मासुको दुई वटा झोला एउटा एउटा हातले झुन्डाएर एकै पटक लैजान भनेछन् । मेरो साथीले नसकेपछि एउटा एउटा गर्दै बाेकेछन् ।
तर कम्पनी साहुले मैले तँलाई पैसा तिरेर ल्याएको हो मैले जे भन्छु त्यो तैँले गर्न पर्छ भन्दै दुई थप्पड हानेछन् । साथीलाई जङ्गलमा लगेर पनि कुटपिट गरेछन् । बाटो भरी पनि त्यसरी नै पिट्दै ल्याएछन् । मेरो साथीले ज्यान जोगाउन साहुको खुट्टा ढोग्दै यो कुरा कसैलाई भन्दिन तर मलाई केही नगर्नु भनेपछि बल्ल कोठामा ल्याइदिएछन् । साथीले आउनासाथ यो कुरा सुनाए । हामी सबै जना तर्सियौँ ।
अब यसरी सहेर हुँदैन भन्ने निधो गरी हामी सबै जना नेपाली मिलेर हाम्रो साथीलाई किन यसरी कुटपिट गरेको भनेर कम्पनी मालिकसँग सोध्यौँ । यही क्रममा भनाभन भयो । हामीले काम गरेर परिवार पाल्न आएको हौ । तर अन्याय सहँदैनौँ भनेपछि साहुले केही पनि कुरै नसुनी हामीलाई कम्पनीबाट बाहिर निकालियो ।
कम्पनीका साहु, मलेसियन प्रहरी र चाइनिज एजेण्टले हामीलाई गाडीमा हालेर झण्डै १५ किलोमिटर टाढा अनकन्टार बन्द कोठामा पानी, बत्ती केही पनि नभएको ठाउँमा थुनिदियो । यो कुरा हामीले मलेसियामा रहेको हाम्रो दूतावासलाई जानकारी गरायौँ ।
४ दिनपछि दूतावासका कर्मचारी आएर हाम्रो अवस्थाको अवलोकन गर्नुभयो । म्यानपावर कम्पनीलाई सुरक्षित रूपमा राख्न भन्नुभयो होला सायद भोलिपल्ट लिन मान्छे आउनुभयो । तर हामीले दुई ग्रुपमा बस्नु पर्ने भयो । झोलाबाट नाम लिस्ट निकाल्दै बोलाइयो र ९ जनालाईलाई लिएर जानुभयो ।
हामीलाई पनि लिन आउनुहुन्छ होला भन्दै हामी तयारी अवस्थामा बस्यौँ । निकै बेरसम्म नआएपछि हामीले नै फोन गर्यौँ । तर मलाई सन्चो छैन सोमबार मात्र आउँछु भन्दै फोन काटिदिनुभयो । पछि साथीहरूसँग बुझ्दा लगेका ९ जनालाई पनि कुनै अर्को कोठामा होइन कम्पनीमा लगेर छाडेको रहेछ ।
उनीहरूलाई सहमतिमा काममा लगाइयो या जबरजस्ती यसबारेमा हामी १९ जनालाई जानकारी छैन । तर हामीले नेपाल फर्कने भन्यौ । जसअनुसार आज ७ जना स्वदेश फर्कनुभएको छ । हामी पनि नेपाल फर्कन चाहन्छौँ ।