पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
सुनसरी – गरे के हुँदैन । इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ । यही भनाइलाई चरितार्थ गर्नुभएको छ सुनसरीको भोक्राहाका जब्बासा मियाले ।
काम र कमाई भनेजस्तो नभएपछि खाडीबाट फर्किनुभएका जब्बासा यतिबेला भने आफैँ मालिक हुनुहुन्छ । इनरुवा ८ मा १३ बिगाहा जमिन भाडामा लिएर एकल लगानीमा काम थाल्नुभएका उहाँ तेस्रो वर्षमा खेती गरिरहनुभएको छ । जसले उहाँलाई करोडपति बनाइसकेको छ । मौसमी खेती गर्दै आउनुभएका उहाँले यतिबेला खेतमा काँक्रो र भान्टा फलाउनुभएको छ । भाडाको जग्गामा केरा खेतीसँगै विभिन्न तरकारीको उत्पादन बेच्न उहाँलाई भ्याईनभ्याई छ ।
कुनै समय देशमा कुनै अवसर नदेखेर वैदेशिक रोजगारीलाई अंगाल्नुभएको थियो जब्बासाले । आफू सामान्य श्रमिक भएर काम गर्न खाडीका देशमा पुग्नुभएका उहाँ आफै अहिले रोजगारी दिने हुनुभएको छ । आफ्नो फार्ममा काम गर्न उहाँले मासिक २० हजार रुपैयाँसम्म तलब दिएर २० जना कामदारलाई रोजगारी दिनुभएको छ ।
आफ्नो खेती र किसानी पेसामा दङ्ग उहाँ उब्जाउलाई बिस्तार गर्ने सोचमा हुनुहुन्छ । विदेशमा भनेजस्तो नभएपछि फर्केर किसानी पेसामा लागेको बताउने जब्बासा वार्षिक १ करोड हाराहारीको आमदानी गर्ने गरेको बताउनुहुन्छ । जसबाट घरखेत जोड्दै गएको उहाँले बताउनु भयो ।
उहाँ भन्नुहुन्छ, ‘अर्काको अनुशासनमा बस्न र दुःख झेल्न किन विदेश जाने ! आफ्नै माटोमा श्रम बगाए यहीँ छ सबकुच । परिवार,पैसा अनि शान्ति, केरा खेतीमा मनग्य आम्दानी छ । तरकारीमा खर्च कटाएर चार भागको तीन भाग आम्दानी गर्न सकिन्छ । कोही कसैले सिक्न चाहे आफूले जानेको सिकाउन सदैव तयार छु ।’
जब्बासाले उत्पादन गरेको तरकारी अधिकांशजसो पूर्वका ठूला बजारमा पुग्ने गर्छ । तर पनि स्थानीय बजारमा भारतीय व्यापारीको रजाइँका कारण उहाँ खुशी हुनुहुन्न । नेपाली उत्पादनले ठाउँ नै नपाउँदा आफू जस्ता किसान मर्कामा पर्ने गरेको उहाँको दुखेसो छ ।
उहाँ भन्नुहुन्छ, 'सरकारले पनि हामीहरुलाई हेराेस् । हाम्राे उत्पादनकाे सुरक्षा हुनुपर्याे । बजार र मूल्य पाउनुपर्याे । सरकारले यति कुरामा मात्र सहयाेग गरिदिए हामीजस्ता युवा विदेश जाने नै थिएनन् नि ।'