पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
मंसिर १६, २०८१ आइतबार
आफूसँग भएको पुँजीलाई परिचालन गर्दा नपुगेको रकम पछि फेरि तिर्ने वा ब्याजसहित तिर्ने गरी कोही व्यक्ति, संस्था वा बैङ्किङ प्रणालीमार्फत लिने सापटीलाई ऋणको रूपमा बुझ्ने गरिन्छ ।
विशेष गरी आफूसँग भएको स्रोतलाई अझ परिचालित गर्नको लागि ऋणलाई एउटा सहायक भूमिकाको रूपमा लिन सकिन्छ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरू पनि धेरैले ऋण काढेरै पैसा तिरेर जानुभएको छ । वैदेशिक रोजगारीमा जाने बेलामा ऋण काढ्ने सन्दर्भमा कुरा गर्दा अहिलेको समाजमा कस्तो छ भने देशमै केही व्यवसाय गर्छु भन्दा विभिन्न अड्चनहरू आउने अथवा ऋण नपत्याएका गुनासाहरू हामीले सुनेका छौ ।
तर वैदेशिक रोजगारीमा जान्छु भन्दा अनौपचारिक प्रणालीमार्फत ऋण प्राप्त भएको छ । यसरी लिएको ऋणको ब्याजको प्रतिशत बढी हुन्छ । तर ब्याज बढी भए पनि ऋण चाहिँ सजिलै पाउने भएकाले ऋण लिने गरेको भन्ने हामीले सुन्ने गरेका छौँ । तर ऋण लिँदा थुप्रै कुराहरूमा ध्यान पुर्याउन जरुरी छ ।
ऋण लिँदा सबैभन्दा पहिला के प्रयोजनका लागि लिने भन्ने कुरा एकदमै ध्यान दिन पर्छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले विदेशमा गएर कमाएर तिर्छु भन्नकै लागि ऋण लिनुभएको हुन्छ ।
त्यसकारण जसले वैदेशिक रोजगारीमा जानका लागि ऋण लिँदै हुनुहुन्छ उहाँहरूले कुन कामका लागि जाँदै हुनुहुन्छ, महिनामा कति आम्दानी हुन्छ, घर खर्च चलाउन कति लाग्छ, अन्य खर्चहरू के छन्, त्यो खर्चलाई कटाउँदा कति बाँकी रहन्छ, काढेको ऋण कति प्रतिशतमा तिर्न पर्ने हो, कहिलेसम्म तिर्न पर्ने हो भन्ने कुराहरू सबैभन्दा पहिला लेखाजोखा गर्न जरुरी छ ।
यस्ता कुराको विश्लेषण अथवा हिसाब किताब राखेर मात्र ऋण लिन पर्छ । सँगसँगै भोलि विदेश पुगेपछि काम भनेकोजस्तो पाइएन, भनेकोजस्तो भएन भने के गरेर ऋण तिर्ने त भनेर दोस्रो योजना पनि बनाउन पर्छ ।
अर्को कुरा चाहिँ ऋण भनेको एक जना व्यक्तिले भारको रूपमा लिने गरिन्छ । तर ऋण लिँदा पारिवारिक सल्लाह पनि हुनुपर्छ । ऋण तिर्ने जिम्मेवारी परिवारको पनि हो । परिवारले सघायो भने वैदेशिक रोजगारीमा जाने मानिसलाई अझै सजिलो हुन्छ ।
अर्को महत्त्वपूर्ण कुरा भने को ऋण काढ्दा आफूलाई चाहिने कति हो त्यो मात्र लिने गर्नुपर्छ । उदाहरणको लागि हामीले खेतमा धान रोप्दै गर्दा पुगेन भने पो सापटी ल्याउने हो त । सापटी ल्याउने कुरालाई पनि बढी ल्याएर उरलधुरल गर्नुभयो भने त पछि त्यो फेरि फिर्ता गर्नुपर्ने हुन्छ ।
पछि फिर्ता गर्दा उत्पादन भएन भने कसरी फिर्ता गर्ने भन्ने प्रश्न चाहिँ आउँछ । त्यसैले ऋण लिनुअघि नै ऋण कसरी तिर्ने भन्ने कुरा चाहिँ सोच्न पर्छ । ऋण लिएको रकमले नगर्दा पनि हुने खर्चहरू गर्न हुँदैन । एकदमै मितव्ययी व्यवहार गर्नुपर्छ ।
वैदेशिक रोजगारीमा होस् या अन्य सवालमा पनि ऋण भएको व्यक्तिले समय खेर नफालीकन काम गर्ने, आफ्नो दक्षता अभिवृद्धि गर्ने, सीप तालिमहरू लिने गर्न सकिन्छ ।
किनकि सीप तालिम लिएपछि आम्दानीहरू अझै बढी हुने सम्भावना रहन्छ । राम्रो कार्य वातावरण सृजना गर्ने, अनुशासित व्यवहार गर्ने, आफ्नो खर्चहरूलाई न्यूनतम राख्ने, तडकभडक नगर्ने गर्नुपर्छ ।
अहिलेको परिदृश्यमा परिवारको भूमिका पनि एकदम महत्त्वपूर्ण हुन्छ । विभिन्न किसिमका तडकभडक देखाउने व्यवहारहरू चाहिँ परिवारका सदस्यहरूले पनि गर्न भएन । त्यस्तै परिवारमा पनि ऋण कसरी तिर्ने भनेर सल्लाह गर्ने र त्यही अनुसार बजेट बनाएर खर्चहरूको व्यवस्थापन गर्ने ।
विदेशमा कमाएको रकमलाई सदुपयोग गर्न सहयोग गरिदिने, वैदेशिक रोजगारीको आम्दानीमा मात्र भर नपर्ने । आफूले पनि के गर्न सकिन्छ भनेर उपायहरू खोज्ने । घरायसी आम्दानीहरू गर्ने, करेसाबारीहरूमा खेतीपाती गर्ने, बजारबाट किन्न पर्ने कुराहरूलाई घटाउने जसले गर्दा पैसा बचत हुन्छ ।
भोलि पर्सी वैदेशिक रोजगारीबाट आएर फेरि विदेशमै जानु पर्ने बाध्यताबाट कसरी बच्ने र ऋणलाई कसरी तिर्ने भन्ने कुरामा सकेसम्म बढी ध्यान दिने गर्नुपर्छ ।
हाम्रो गाउँ समाजमा वैदेशिक रोजगारीबाट फर्किएर आएपछि विभिन्न किसिमका तडकभडक गर्ने चलन पनि छ । ऋण लिएको पैसाले वैदेशिक रोजगारीमा जाने र समाजलाई देखाउनका लागि अथवा तडकभडक लागि त्यस्ता पैसाहरू खर्च भएको पनि छ ।
यस्तै विभिन्न कारणहरूले ऋण तिर्न नसकेको उदाहरणहरू पनि धेरै छन् । तर यदि अनुशासित व्यवहार अपनाउने हो र परिवारले पनि सघाउने हो भने ऋण तिर्न अझ सहज हुन्छ ।
बढी ऋण लिँदा तिर्ने नसक्ने सम्भावना बढी हुन्छ । अहिलेको चलन नै के छ भने विदेशमा हुने कमाइको रकम बढी सुन्ने र त्यसमा विश्वास गर्दा बिचौलियाहरूले बीचबीचमा बढी पैसा लिइदिने गर्छन् । त्यसो गर्दा लागत बढी लाग्छ । तर उता पुगेपछि कतिपय अवस्थामा वास्तविक आम्दानी कम हुँदा ऋण तिर्न गाह्रो परिरहेको अवस्था छ ।
त्यसकारण वैदेशिक रोजगारीमा जानुअघि कुन पेसामा जाने, त्यो पेसामा आफ्नो दक्षता क्षमता छ कि छैन, त्यही काममा पहिला जानेहरूले के कति कमाइ रहेका छन् भन्ने कुरा बुझ्न पर्छ । यस्तो कुरा बुझ्नका लागि नेपाल सरकारको पनि प्रणाली छ । यस्ता कुरा बुझेर मात्र लगानी लगायो भने मात्र जोखिम कम हुन्छ ।
त्यो लगानी मैले कति वर्षमा उठाउँछु भनेर हिसाब किताब गरेर मात्र ऋण लिन पर्छ । ऋण लिँदा नै बढी होसियारी हुन पर्छ ।
बचतको बारेमा ऋण लिएको व्यक्तिले अझ बढी ध्यान दिनुपर्ने हुन्छ । विदेशमा आम्दानी भएको रकमलाई एउटा निश्चित प्रतिशतमा ढाल्ने र विभिन्न आवश्यकतासँगै ऋण तिर्न पर्छ ।
ऋण तिर्दा पनि बढी ब्याज तिर्न पर्ने ऋणहरूलाई चाहिँ पहिला तिर्ने गर्नुपर्छ । आफ्नो थाप्लोमा ऋण हुँदासम्म एउटा सजग व्यवहार चाहिँ अपनाउन पर्छ ।
ऋण भएको मानिसले बचत पनि बढाउँदै लैजान पर्छ । किनकि बचत पनि एउटा योजना हो । भोलिका दिनमा केही भइहाल्यो भने बचतले नै हो अप्ठेरोमा साथ दिने ।
आम्दानी भएको पैसाबाट पहिला बचतमा छुट्टाएर अनि खर्च गर्ने भन्ने नियम पनि छ । धेरै कमाएपछि बचत गर्ने भन्ने पनि धेरैको मानसिकता हुनसक्छ । बचत भनेको कमाएर मात्र गर्ने कुरा होइन । बचत गर्ने पनि एउटा बानी हो । बचत गर्दा भविष्यका जोखिमहरू त्यसबाट न्यूनीकरण हुन सक्छ ।
बचतले पहिले तिमीलाई बचाउन अनि म तिमीलाई बचाउँछु भन्छ । त्यस कारण आफ्नो आम्दानीको निश्चित रकमलाई चाहिँ बचत गर्नु पर्छ । पैसा मात्र होइन बचत पानीको गर्नुहोस् । बिजुलीको बचत, खाने अन्नको बचत, समयको बचत गर्नुहोस् । यसले पनि अनुशासित बनाउँछ ।
नेपालीमा एउटा उखान छ ‘ऋण लिने घिउ पिउने’ भन्छन् । त्यो सोचबाट त जसरी भए पनि बाँच्ने भन्ने पनि एउटा सोच छ ।
ऋण भनेको घिन हो ऋण लिन हुन्न भन्ने सोच पनि छ । त्यो दुई वटै सोचमा तटस्थ चाहिँ केमा आउन पर्छ भने कतिपय व्यापार व्यवसाय गर्दा खेरी पनि कति व्यक्तिहरूले ऋण लिएर नै गरिरहनुभएको हुन्छ । आफूसँग नभएको पैसा ऋण लिने नै हो । तथापि ऋण लिँदा चाहिँ के प्रयोजनका लागि ऋण लिन लागेको, कति पैसा लाग्छ, तिर्ने मेरो क्षमता कति हो, त्यसलाई कसरी तिर्ने हो त्यसको विस्तृत योजना र हिसाबकिताब नभईकन चाहिँ ऋण लिनु हुँदैन । अहिले देशगत हिसाबले हेर्दा खेरी पनि कतिपय देश ऋणले डुबेको भन्ने सुन्नमा आउँछ । हाम्रो वरिपरिका कतिपय व्यक्तिहरू पनि ऋणकै कारण विभिन्न अप्ठेराहरू भोगिरहेका छन् ।
ऋण लिनका लागि मानसिक रूपमा पनि तयार भएर ऋण लिन पर्छ । ऋण लिएपछि साहूको दबाब आउँछ । सामाजिक दबाब हुन्छ । यी सबै खाले दबाबलाई म सामना गर्न सक्छु भनेर नै एक किसिमको तम्तयार भएर मात्र ऋण लिन पर्छ । पाइयो भन्दैमा ऋण लिइहाल्ने कुरा चाहिँ होइन ।
र, वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ र ऋण लिएर जाने योजनामा हुनुहुन्छ भने मेरो अनुरोध वैदेशिक रोजगारीमा जानका लागि सकेसम्म बैङ्किङ प्रणालीमार्फत ऋण लिनुहोस् । अहिले त्यस्ता अवसरहरू धरै छन् । वैदेशिक रोजगारीमा गइसकेपछि पनि अनुशासित व्यवहार अपनाउन पर्छ ।
किनभने वैदेशिक रोजगारी भनेको अवसरको खेती जस्तै हो । त्यो सधैँ नरहन सक्छ । ठुलो लगानी गरेर वैदेशिक रोजगारीमा जाँदा ध्यान पुर्याउन पर्छ । बजेट बनाउन पर्छ । त्यो बजेट अनुसार आफू पनि चल्ने र परिवारलाई पनि चलाउने गर्नुपर्छ ।
अहिले म दुःखमा छु वा ऋणमा छु भने पनि भोलि मेरो राम्रो दिन आउँछ भनेर सकारात्मक सोच राख्दै अघि बढ्न पर्छ । फजुल खर्चहरू केही समयका लागि कटाउन पर्छ ।
ऋण तिरिसकेपछि राम्रा दिन आउँछ भनेर एक किसिमको सुखद भविष्यको योजना बनाउँदै वैदेशिक रोजगारीको कमाइलाई चाहिँ सही सदुपयोग गर्न म अनुरोध गर्छु ।
सापकोटा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) मा तालिम तथा वित्तीय साक्षरता कार्यक्रम संयोजक हुनुहुन्छ ।