काठमाण्डाै उपत्यकाबाट हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर फेल...
मंसिर १३, २०८१ बिहिबार
यहाँ आइपुगेको २८ दिन हुनै लागेको थियो । यहाँ आएपछि पहिलो पटक हातमा तलब पर्ने दिन नजिकिँदै थियो ।
सोमबार तलब आउने भएकाले शुक्रबार सबै साथीहरूले कसले कति घण्टा काम गर्यो, कति कमायो भनेर कुराकानी गरेका थियौँ ।
अब सोमबार चाहिँ साँच्चै कति पैसा हात पर्ला भन्ने प्रतीक्षा र खुसीपनि थियो । पैसा हात परेपछि खुसीयाली बाँडौँला मासु ल्याएर खाउँला भन्ने थियो । तर यो खुसीसाट्न नपाउँदै यस्तो नसोचेको भयो ।
कहिले काम राती गर्नु पर्ने हुन्छ त कहिले दिउँसो त्यसैले पनि निद्रा मज्जाले पुर्याउन पर्ने हुन्छ । म त सुतिनै रहेको थिएँ । बाहिरको चर्को आवाजले बिउँझिएँ ।
के गर्ने कसो गर्ने सोच्नै भ्याइरहेको थिइनँ । अर्को किबुज फर्ममा काम गर्ने साथीले फोन गर्यो ।
यहाँ त आतकंकारी छिरेर हमला गर्यो । साथीहरू घाइते भएका छन् । छिटो एम्बुलेन्स पठाऊ, रगत बगिरहेको छ भनेर साथीले भन्यो ।
त्यो खबर सुनेपछि मैले दूतावासमा र एनआरएनएका सरहरूलाई फोन गरेर एम्बुलेन्स पठाउन भने । एम्बुलेन्स गयो पनि । तर एम्बुलेन्स जाँदाजाँदै उहाँहरू पनि सम्पर्कविहीन हुनुभयो । बीचबाटोबाटै प्रहरीले एम्बुलेन्सलाई पनि जान दिएन छ । बाटो बाटै एम्बुलेन्स फर्कियो ।
उहाँहरूले हामीलाई बचाउनुस् भन्दै भिडियो पनि बनाएर पठाउनुभएको रहेछ । सुरुवातमा त परिवारलाई चिन्ता हुन्छ यो कुरा बाहिर नभन्ने भन्ने थियो । साथीहरूले हामीलाई खबर गर्न पनि ढिलो नै गर्नुभयो । तर पछि त कता कताबाट उहाँहरू आक्रमणमा परेको कुरा बाहिर आइहाल्यो ।
यो सबै खबरहरू बाहिर आएपछि परिवारहरू आत्तिनु भएको छ । हामी पनि आत्तियौँ । चारैतिर साथीहरूलाई फोन लगायौँ । कतै लाग्दैन । हामीहरू समूहमा भएका ११ जना बङ्करभित्र बस्यौँ । अहिले पनि बङ्करमै छौँ । हामीलाई उद्धार गर्नुहोस् भनेर दूतावास र एनआरएनएलाई पनि भन्यौँ । उहाँहरूले यो आक्रमण कहिलेसम्म चल्छ हेरौँ अहिले नै उद्धारका लागि आउन सक्ने अवस्था छैन भन्ने खालको कुरा गर्नुभयो ।
हामी कति खुसी थियौँ । पढाइमा, कमाइमा छाेटो समयका लागि भए पनि केही गरौँला भन्ने आस थियो । कति ठुलो सपना बोकेर आएका थियौँ । तर खै कसको आँखा लाग्यो । त्यत्रो सपना लिएर आएका थियौँ छिनभरमै चकनाचुर भयो । कसलाई दोष दिने कसलाई नदिने । अहिले मसँग भन्ने केही शब्द नै छैन ।
अब यहाँ बाँचेका हामीलाई केही नहोस् । अहिलेको हाम्रो प्राथमिकता भनेको आफू पनि सुरक्षित हुने र हराएका साथीहरूलाई पनि खोज्ने हो । हामीहरूले टिम बनाएर नै साथीहरूलाई खोजिरहेका छौँ ।
हामी जति बाँचेका छौँ त्यतिलाई सरकारले जतिसक्दो छिटो उद्धार गरिदिएको भए राम्रो हुन्थ्यो । हाम्रो सरकारको बानी के छ भने अलिकति ढिलो भएको त हो प्रयास त गरेको हो नि भन्ने बानी छ । यस्तो बेला पनि त्यस्तै भनाइहरू सुन्न नपरोस् । तपाईँहरूले पत्र काटेर वा कसैलाई निर्देशन दिएर यहाँ नेपालीहरू बाच्ने होइनन् ।
रात भरी त हामी आस मारेर नै बसेका थियौँ । करिब २६/२७ घण्टा त भोक भोकै बस्यौँ । आज बिहान भने बडो हिम्मत गरेर बङ्करबाट कोठामा गएर सुत्ने बिछ्यौना र केही खानेकुरा ल्याएका छौँ । नेपालबाट आउदा ल्याएको ड्राइफुडहरु थियो । त्यही खायौँ ।
सुत्ने बिछ्यौना पनि ल्याएका छौ अब चाहिँ बङ्करमा पनि अलिकति राम्रोसँग बस्न सकिएला भन्ने छ । तर पनि डर छ । किनकि जमिनमाथि हमासका विद्रोही हिँडिरहेको आवाज आउँछ, रकेटको वर्षा भइरहेको छ।
उज्यालो देखेर आक्रमण गर्लान् भनेर बङ्करभित्र पनि लाइट अफ गरेर बसेका छौँ । उता अर्को ठाउँमा रहेका हाम्रो साथीहरूलाई भित्रै छिरेर आक्रमण गरेका हुन् । यहाँ ट्वाइलेट जान पनि समस्या छ । फ्ल्स गर्दा आवाज सुनेर आक्रमण गर्लान् भन्ने डर छ । पिसाब फेर्नको लागि त बङ्करभित्रै बसेका छौँ ।
नेपालबाट आउँदा नै मिसाइल आक्रमण चाहिँ हुन्छ भन्ने सुनेको हो । मिसाइल आक्रमणले मात्र त त्यस्तो केही हुँदैन थियो । तर अहिलेको आक्रमण डरलाग्दो छ । बङ्करभित्र नै छिरेर आक्रमण गर्लान् भन्ने डर छ ।
केही साथीहरूको अस्पतालमा उपचार भइरहेको छ भन्ने सुनिएको छ । एक जनालाई त आक्रमणकारीले नियन्त्रणमा लिएर पनि छाड्यो रे । उहाँले कलेजमा सम्पर्क गर्नुभयो भन्ने कुरा आएको छ । यहाँ धेरै फोन गर्न पनि फोन ट्र्याक गर्लान् भन्ने डर छ । धेरै फोनमा कुरा नगर्नु भन्ने सूचनाहरू पनि आइरहेको छ ।
नेपालबाट सरकारले नेपालको बिहान ८/९ बजेतिर केही सूचना दिने भनेको थियो खै अहिलेसम्म केही आएको छैन । हेरौँ के के हुन्छ । अब भाग्यको खेल हो । जे होला भगवान् भरोसामा बङ्करभित्र बसिरहेका छौँ । तर यति हो कि हामी जति बाँचेका छौँ हामी सबै जना नेपाल फर्कन्छौँ । अब यहाँ बस्दैनौँ । सम्पर्कमा नभएका साथीहरूको पनि खोजी गर्छौँ ।