६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
२०८० साल राजनीतिक उथलपुथलमा बित्यो । २०७९ सालको चुनावी नतिजालगत्तै सत्ता समीकरण फेरबदल थालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षको शुरु र अन्त्यतिर पनि यसलाई निरन्तरता दिनुभयो । एमालेको समर्थनमा प्रधानमन्त्री भएर कांग्रेस नेतृत्वको गठबन्धनमा फर्किएका प्रधानमन्त्री प्रचण्ड फेरि वर्षदिन नपुग्दै एमाले नेतृत्वको गठबन्धनमा पुग्नुभएको छ । सङ्घको अस्थिरताको असर प्रदेश सतहमा समेत छताछुल्ल भएको छ । पटक–पटक सरकार परिवर्तनका कारण शासकीय स्थिरता र सेवा प्रवाहमा असर पुगेको छ । चुस्त सेवा प्रवाह गर्ने र विकासको काम कारबाहीलाई गति दिने प्रधानमन्त्री प्रचण्डको शुरुवाती घोषणा भाषण र कागजमै सीमित हुन पुगेको छ ।
– २०८० सालको शुरुवाती महिनामा उपचुनावले रौनकता बढायो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी प्रकरणमा दोषी देखिएपछि पदसँगै सांसद पद नै रिक्त भयो । चितवन–२ मा फेरि उपचुनाव भयो । उपचुनावबाट लामिछाने नै निर्वाचित हुनुभयो । यस्तै तनहुँ र बारामा पनि उपचुनाव भयो । तनहुँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभयो ।
– २०७९ सालको चुनावमा युवा उम्मेदवारको आकर्षण देखिएका कारण २०८० सालमा पनि राजनीति र युवाको विषयले चर्चा पायो । युवाले जित्ने मात्र होइन पाएको अवसरलाई प्रभावकारी रूपमा सदुपयोग गर्न सक्छन् भन्ने उदाहरण केही जनप्रतिनिधिले देखाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले नेपाली राजनीतिमा युवा पुस्ताको प्रवेश पाएको छ । दलहरूले महत्त्वपूर्ण पदमा युवालाई स्थान दिन थालेका छन् । यही वैशाख १५ गते हुने उपचुनावमा पनि मुख्य दलहरूले युवा उम्मेदवारलाई अगाडि सारेका छन् ।
– यो वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही महत्त्वपूर्ण विदेश भ्रमण गर्नुभयो । भारतबाट शुरु भएको विदेश भ्रमणको शृङ्खला संयुक्त राज्य अमेरिका, चीन तथा विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागी हुन इटलीदेखि दुबईसम्म चल्यो । प्रधानमन्त्री रहुन्जेल अपरिहार्यबाहेक कुनै पनि कार्यक्रममा नजाने उद्घोष गर्नुभएका प्रचण्डले कार्यक्रममा जाने कामलाई निरन्तरता दिइरहनुभयो ।
– कोभिड महामारीका कारण लगभग स्थगित अवस्थामा रहेको उच्चस्तरीय भ्रमणको आदान–प्रदानलाई सरकारले यो वर्ष उच्च प्राथमिकता दियो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण महत्त्वपूर्ण रह्यो । यसै वर्ष अमेरिकी सरकारको अनुदान सहयोगमा आधारित एमसीसी सम्झौता कार्यान्वयनमा जान सफल भयो । त्यसैलाई अवसर बनाएर एमसीसीका प्रमुख एलिस अलब्राइटको नेपाल भ्रमण भयो । अमेरिकाबाटै सहायक उपविदेशमन्त्री डोनाल्ड लु, यूएसएआईडीका प्रशासक सामन्था पावरको भ्रमण पनि महत्त्वपूर्ण रहे । चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री सुन हायनलगायत उच्च तहका पदाधिकारीले नेपाल भ्रमण गरे । भारतीय विदेशमन्त्री एस जयशङ्कर पनि संयन्त्रको बैठकमा सहभागी हुन नेपाल आउनुभयो । नेपाल र भारतको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक तीन वर्षपछि बस्यो ।
– यस वर्ष चर्चा पाएको अर्को विषय हो, भारतीय दूतावासले परियोजना निर्माणमा सिधै २० करोडसम्म लगानी गर्ने व्यवस्था । हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन सहमतिमा भारतीय विदेश सचिव एस जयशङ्करको भ्रमणका क्रममा हस्ताक्षर भयो । तर त्यसको व्यापक विरोधसमेत भइरहेको छ ।
– दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको नेतृत्व गरिरहेको नेपालले यसको शिखर सम्मेलन गर्न भने यस वर्ष पनि सकेन । बरु दक्षिण एशियाली र पूर्वी एशियाली देश मिलेर बनेको क्षेत्रीय सङ्गठन बिमस्टेकको बडापत्र भने संसद्बाट पारित भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को बडापत्र नेपालले प्रतिनिधि सभाबाट अनुमोदन गरेको हो ।
सुशासनको क्षेत्रमा आशा र आशंका, नीतिगत सुधारमा समस्या
– केन्द्रदेखि प्रदेशसम्म सरकार फेरबदलको चर्चासँगै भ्रष्टाचार र अनियमिताका विभिन्न काण्डले पनि २०८० साल तरङ्गित भयो । वर्षको शुरुमै नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरणलगायतका प्रकरणले प्रवेश पायो । यी प्रकरणमा केही उच्च पदस्थ राजनीतिज्ञसमेत पक्राउ परे । नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणदेखि पूर्वमन्त्री टोपबहादुर रायमाझीलगायतका राजनीतिज्ञ तानिए । यस्तै सुन तस्करी प्रकरणमा पूर्वमन्त्री तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन लगायतमाथि अनुसन्धान भइरहेको छ । उच्च पदस्थ व्यक्तिमाथि पनि अनुसन्धान हुन थालेपछि सुशासनको क्षेत्रमा केही होला कि भन्ने धेरैलाई आशा जगायो । तर अनुसन्धान बीचमै रोकिने र पक्राउ परेका उच्च पदस्थहरू छुट्ने क्रमले त्यो आशा आशङ्कामा बदलिएको छ । शरणार्थी प्रकरणको अनुसन्धान एउटा विन्दुमा गएर रोकियो, त्यसपछि अघि बढ्न सकेन । पटक–पटक सुन तस्करीका घटना सार्वजनिक भयो, अनुसन्धान पनि भयो । अनुसन्धानमाथि जाँचबुझ आयोगले छानबिन गर्दा फौजदारी न्यायका आधारभूत मूल्य–मान्यता मिचेर काम कारबाही गरेको फेला पर्याे । प्रभावकारी नेतालाई जोगाउन गरिएको यो कदम छताछुल्ल भएपछि प्रहरीकै अनुसन्धानको विश्वसनीयतामाथि प्रश्न उठेको छ । ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरणको उजुरी पनि पहिल्यै थन्किएको थियो । तर अनुसन्धान अगाडि बढाएर बहालवाला सचिवदेखि प्रभावशाली नेता, पूर्वगृहमन्त्री, सांसदसम्म पक्राउ पर्नुले ढिलै भए पनि अनुसन्धान त भयो भन्ने सकारात्मक सन्देश चाहिँ गएको छ ।
– सरकारको सुशासनको नारालाई विश्वसनीय बनाउन सम्बन्धित निकायले त्यसैअनुसार काम गर्न भने सकेनन् । भ्रष्टाचार नियन्त्रणसम्बन्धी दुई वटा कानुन लामो समयदेखि संसद्मा अलपत्र छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्रलगायत निकाय निष्क्रिय भए । स्वार्थको द्वन्द्वसम्बन्धी कानुन बनाउने घोषणा अघि बढ्न सकेन ।
– भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियारले २०८० सालमा विकल–सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा चलायो । उनीहरूमाथिको सम्पत्ति छानबिन, पशुपतिको जलहरी, मेलम्ची खानेपानी आयोजना, वाइडबडी जहाज खरिदमा भ्रष्टाचार मुद्दा यस वर्षका केही मुख्य काम हुन् । अघिल्लो वर्षको तुलनामा केही सक्रियता देखाएको अख्तियारले नागरिकको तहमा विश्वास जित्न भने सकेको छैन । आयोगभित्र अनुसन्धानरत कैयौँ विषय टुङ्गोमा पुग्न सकेनन् । चर्को राजनीतिक हस्तक्षेपका कारण तीन जना मन्त्री जोडिएको टेरामक्स प्रविधि खरिद अनियमितताको फाइल अलपत्र छ । पोखरा विमानस्थल, बाँसबारी जग्गा, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतको समूह जोडिएको सम्पत्ति छानबिनको विषय अहिले पनि टुङ्गिएकाे छैन । पदमा बहाल मन्त्रीहरू झण्डा हल्लाउँदै अख्तियारमा पुगेर फर्किए । त्यति हुँदासमेत राजीनामा नदिएका उनीहरू सत्ता फेरबदलपछि मात्रै कुर्सीबाट बाहिर पुगे ।
– मिटरब्याज पीडितको आन्दोलन, सहकारी पीडितको समस्या, किसानले दूधको रकम भुक्तानी नपाएकोलगायत आमनागरिकको जीविकाको सवालमा सरकारले यस वर्ष जाँचबुझ आयोग र अध्ययन समिति बनाउनेबाहेक अरू काम गर्न सकेन । मन्त्रीको बारम्बार फेरबदलले सरकारले घोषणा गरेका नीतिगत सुधारका काम शुरु नै हुन नसक्ने अवस्थामा पुगेका छन् ।
शिक्षा र सेवा प्रवाहमा आशालाग्दो काम
– यस वर्ष शिक्षा क्षेत्रमा केही सुधार देखिएको छ । छ वर्षदेखि थन्किएर बसेको ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग २०७४’ को प्रतिवेदन सार्वजनिक भएको छ । चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने शिक्षा मन्त्रालयले जनाएको छ । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवम् प्रस्तुतिकरणका आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरिएको छ । यस्तै मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया पनि यसै आधारमा अगाडि बढेको छ ।
– जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र शुरु हुनअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने कामलाई तीव्रता दिएको छ । यति बेला देशभरका सबै ठाउँमा किताब पुगिसकेको छ । भर्ना हुने बेलामै विद्यार्थीले किताब पाउने भएका छन् ।
– शिक्षा मन्त्रालयले सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था तथा निजी विद्यालयमा शुल्क निर्धारण र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन पालिकालाई निर्देशन दिएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले पालिकालाई पठाउनुभएको सर्कुलरमा विद्यालय मूल्याङ्कनको आधार छात्रवृत्ति र शुल्कलाई बनाउन आग्रह गरिएको छ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । यस्तै त्रिभुवन विश्वविद्यालयले अब अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ ।
– विभिन्न सरकारी निकाय प्रविधिमैत्री हुँदै गएका छन् । नागरिकलाई सेवा पाउन घण्टौँसम्म लाइन लाग्ने बाध्यता कम हुन थालेको छ । अहिले पासपोर्ट, राष्ट्रिय परिचयपत्र, नागरिकता, श्रम स्वीकृति, लाइसेन्स लिन सजिलो छ । प्रक्रिया पुर्याएर अनलाइन आवेदन दिएपछि सजिलै कागजपत्र बनाउने गरी सरकारी निकायले प्रविधि र सेवालाई सुधार गरेका छन् ।
वायु प्रदूषण र प्राकृतिक प्रकोप
– हरेक वर्षजस्तै यस वर्ष पनि नेपाल वायु प्रदूषणको चपेटामा पर्याे । पोहोर यति बेला वायु प्रदूषण बढेर यस वर्षकै उच्च विन्दुमा पुगेको थियो । यति बेला पनि वायु प्रदूषण अस्वस्थकर अवस्थामै छ । हिजोको पानीले प्रदूषण केही घटाए पनि पूर्ण सुधार हुन सकेको छैन । डढेलोको प्रकोप यस वर्ष पनि उस्तै रहेको छ ।
– यही वर्षको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा एक सय ५३ जनाको ज्यान गयो । हजारौँ परिवार विस्थापित भए । उनीहरूको अझै पुनर्स्थापना हुन सकेको छैन ।
अर्थतन्त्र : तथ्याङ्कमा ठिकठाक, बजार सुनसान
– २०८० सालमा अर्थतन्त्र तथ्यांकमा ठिकठाक रहे पनि भित्रभित्रै भने भ्वाङ पर्यो । नेपाल राष्ट्र बैककाअनुसार चालू आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स नेपाली रुपैयाँमा २१ दशमलव शून्य प्रतिशतले र अमेरिकी डलरमा १८ दशमलव आठ प्रतिशतले बढेको छ । कुल विदेशी विनिमय सञ्चिति एक हजार आठ सय ७२ अर्ब रुपैयाँ र अमेरिकी डलरमा १४ अर्ब १४ करोड रहेको छ । नेपाल सरकारको खर्च आठ सय एक अर्ब ५८ करोड र राजस्व परिचालन छ सय ३९ अर्ब पाँच करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात दशमलव छ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव दुई प्रतिशतले बढेको छ ।
तर मुख्य सूचक राम्रै भए पनि व्यापार व्यवसाय ठप्पजस्तै भयो ।
– आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋणको साँवा–ब्याजको दायित्व झण्डै पाँच खर्ब ५० अर्ब रुपैयाँ हाराहारी पुगेपछि सरकारलाई बजेटको स्रोत जुटाउन सकस परेको छ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।
– एक सर्वेक्षणअनुसार ४० प्रतिशत शटर बिक्रीमा छन् । लघुवित्तमा अहिले ३३ लाख जना ऋणी पुगिसकेका छन् । देशका ३३ लाख जना ऋणीलाई चार खर्ब ५० अर्ब रुपैयाँसम्मको ऋण प्रवाह भएको तथ्याङ्क सार्वजनिक भएको छ । बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार सङ्घ, नाडा अटोमोबाइल्स एसोसिएशनलगायत निजी क्षेत्रका छाता सङ्गठनमा आबद्ध व्यवसायी आन्दोलित भए ।
– यद्यपि यस वर्षको मार्चमा हवाई माध्यमबाट नेपाल भित्रिने पर्यटक २८ दशमलव नौ प्रतिशतले बढ्नुले केही सकारात्मक सन्देश दिएको छ । नेपाल पर्यटन बोर्डकाअनुसार गएको वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रिने पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले बढेको हो । यो वर्ष यही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् ।
– पूर्वाधारको कुरा गर्दा यो वर्ष कुनै पनि निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको निर्माण सकिएन । लामो समयदेखि निर्माणाधीन दर्जनौँ राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सुस्त छन् । नागढुङ्गा सुरुङमार्ग छिचोल्ने तयारी भए पनि अन्तिम चरणमा रोकियो । दमकमा बनिरहेको भ्युटावर सकिने चरणमा पगेको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका कम्पनीमार्फत बनिरहेका रसुवागढी र मध्यभोटेकोशी जलविद्युत् परियोजनाले परीक्षण उत्पादन थाल्नु नै यो वर्षको पूर्वाधारका ठूला उपलब्धि हुन् । तर यी कुनै पनि आयोजनाका सबै काम सकिइसकेका छैनन् ।
खेल : क्रिकेटमा फड्को, फुटबलमा अड्को
– नेपाली खेलकुद क्षेत्रका लागि २०८० सालमा सफलता, असफलता, विवाद र जालझेलको सम्मिश्रण रह्यो । नेपाली क्रिकेटले छलाङ लगाउँदा फुटबल खेलले निराशाबाहेक केही दिएन । वर्षको शुरुवातमै नेपाली क्रिकेट टिमले एसीसी प्रिमियर कपको उपाधि जित्यो । उपाधिसँगै नेपालले यसै वर्ष भएको एशिया कपमा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गर्याे । एशिया कप क्रिकेटमा नेपालले भारत र पाकिस्तानसँग खेल्यो । यस्तै नेपालले जिम्बाबेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता पनि खेल्यो । नेपाली क्रिकेट टिमले उमेर समूहका खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ । एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको उपाधि जित्दै १९ वर्षमुनिको एसिया कप खेल्यो । त्यसपछि नेपालले दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको पुरुष विश्वकप क्रिकेटमा पनि आफ्नो खेल कौशल देखायो । यस्तै नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको पनि उपाधि जित्यो । अबको दुई महिनापछि नेपाली पुरुष टोलीले टी–२० विश्वकप क्रिकेट खेल्दैछ । नेपालको समूहमा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स छन् । यस्तै नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय सहभागिताको झण्डै दुई दशकपछि रुबिना क्षेत्रीको शतकसँगै यो वर्ष एउटा अर्को उपलब्धि हासिल गर्न सफल भयो ।
– क्रिकेटकै कुरा गर्दा बलात्कारको मुद्दामा सन्दीप लामिछाने जिल्ला अदालतबाट दोषी ठहर भएका छन् । तर खेल मिलेमतोको आरोप लागेका मेहबुब आलम र मोहम्मद आदिल अन्सारीले भने सफाइ पाएका छन् ।
– क्रिकेट उल्लासमय हुँदा फुटबल भने तुलानात्मक रूपमा शान्त रह्यो । यही वर्षकै कुरा गर्दा दशरथ रङ्गशालाको अवस्था खराब हुँदा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने विश्वकप छनोटको खेलसमेत बहराइनको मैदानमा खेल्नुपर्ने तितो घटना भयो ।
१४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले अपेक्षाकृत खेल्न सकेन । यस्तै विश्वकप छनोट खेलमा पनि नेपाल नराम्ररी हार बेहोर्न पुग्यो । बरु फुटबल खेलाडी पलायन झनै बढ्यो । तर नेपाली महिला राष्ट्रिय फुटबलकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ का लागि मात्र होइन, महिला फुटबलका लागि नै २०८० साल सम्झनलायक बन्यो । अझ व्यक्तिगत उपलब्धिका हिसाबले साम्बा युरोपमा फुटबल खेल्ने पहिलो नेपाली खेलाडीको रूपमा रहन सफल भइन् ।
– केही महिला खेलाडीले दिलाएको सफलताले भने २०८० साल सर्वाधिक सफल र सधैँ यादगार वर्षका रूपमा छाप छोड्न सफल भयो । नेपाली खेलकुदमा महिला खेलाडीको वर्चस्व र सफलताको शृङ्खला २०८० सालको शुरुवातबाटै भयो । दृष्टिविहीन महिला क्रिकेटमा विश्व कीर्तिमानी प्रदर्शनदेखि एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा नेपालले व्यक्तिगत स्पर्धामा जितेको रजत पदक महिला खेलाडीकै नाममा रह्यो ।
नेपालले झण्डै सात वर्षअघि विश्वमै पहिलो पटक दृष्टिविहीन महिला क्रिकेट टोली बनाएर कीर्तिमान बनाएको थियो । गएको असोजमा ‘जम्बो’ टोलीसहित एसियाली खेलकुद सर्वाधिक ठूलो इभेन्ट ‘एसियाड’ मा अन्तिम क्षणमा कबड्डीले टिम इभेन्टमा पदकविहीन हुने खतरा टार्दै पहिलो कास्य पदक जित्यो । तर नेपालका लागि सर्वाधिक सम्झनलायक क्षण भने १९ वर्षीया एरिका गुरुङले करातेको कुमुतेतर्फ ६८ केजीमाथिको तौल समूहमा रजत पदक जित्दै ऐतिहासिक उपलब्धि दिलाइन् ।
सविता राजभण्डारीले तेक्वान्दोमा रजत जितेको २५ वर्षपछि एरिकाले नेपाललाई रजत दिलाउँदै २०८० सालमा नेपाली खेलकुदका लागि सम्झनलायक वर्षका रूपमा छोड्न सफल भइन् ।
नेपाललाई अन्तर्राष्ट्रिय पारा खेलमा लगातार उपलब्धि दिलाउँदै आएकी पलेशा गोवर्धनले चीनको हाङझाउमा भएको एसियाली पारा खेलकुदमा ऐतिहासिक कास्य जित्दै पहिलो पटक नेपाललाई पारा एसियाडमा पदक दिलाउन सफल भइन् ।
– खेल पूर्वाधारको कुरा गर्दा सरकारले यो वर्ष काठमाण्डाैकाे मूलपानी मैदान (तल्लो), मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला र चितवन भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय त गरेको छ तर ती पूर्वाधारको निर्माणले गति पाउने गरी खासै काम गरेको छैन । बरु यो वर्ष भैरहवामा गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा निर्माण गरेको ‘एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशाला’ चर्चाको विषय बन्यो ।
मनोरञ्जन : केही चलचित्र चले, नयाँ अनुहारको प्रवेश
२०८० सालमा नेपाली चलचित्रमा केहीबाहेक अन्य चलचित्रले लगानी पनि उठाउन सकेनन् । यो वर्ष अन्तिमतिर चलचित्र 'अगत्स्य' र 'महाजात्रा' ले चर्चा बटुले । यस्तै नेपाली चलचित्रमा थुप्रै नयाँ अनुहार देखिए । यस वर्षको पहिलो महिना वैशाखमा प्रदर्शन भएको चलचित्र ‘नाइँ नभन्नु ल–६’ बाट आशीर्वाद क्षेत्री, असारमा प्रदर्शन भएको ‘बगान’ मार्फत अभिनयमा अभिनेत्री प्रमिला कार्की, मङ्सिरको अन्तिम हप्ता प्रदर्शन भएको चलचित्र ‘दुई कदम’ बाट दुई नयाँ अनुहार इओन लिम्बू र सिमोन गिरीले अभिनयको शुरुवात गरे । यस्तै माघे सङ्क्रान्ति लक्षित गर्दै पुसको अन्तिम हप्ता प्रदर्शनमा आएकाे चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ मार्फत अभिनयमा रक्षा बुढाथोकी र किरण श्रेष्ठ तथा पुसमै प्रदर्शन भएको चलचित्र ‘चित्रा’ मार्फत सन्तोष अधिकारीले डेब्यु गरे । यस वर्ष पर्दामा देखिएका नयाँ अनुहारले अभिनयमा सम्भावना देखाए पनि धेरैजसाेले निर्माताको लगानी सुरक्षित गर्न सकेनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।