नारायणी नदीमा बन्ने 'सिग्नेचर' पुलकाे प्रधानमन्त्रीद्वारा शिलान्यास

 वैशाख ३१, २०८१ सोमबार १२:३२:५३ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवन नारायणगढको नारायणी नदीमा बन्ने आधुनिक नयाँ पुलको शिलान्यास भएको छ । चितवनको भरतपुर महानगरपालिका र नवलपरासी बर्दघाट सुस्तापूर्व गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताउनुभयो । सूचना प्रविधिको विकाससँगै विकासको परिभाषा, आवश्यकता र प्राथमिकतामा फेरबदल आएको भन्दै उहाँले देशव्यापीरूपमा सडक सञ्जालको विस्तार भएसँगै आउने दिनमा गुणस्तरता एवम् दिगोपनलाई विशेष प्राथमिकता दिने बताउनुभयो ।

सडक विभागको पुल महाशाखाका डिभिजनल इन्जिनियर एवम् पुलको योजना प्रमुख कृष्ण अधिकारीकाअनुसार पछिल्लो प्रविधि प्रयोग गरी आधुनिक 'केबल स्टेट ब्रिज' बनाउने तयारी छ । पुल चार सय २० मिटर लामो हुनेछ । जम्मा चार वटा पिल्लर रहने पुलको मुनिबाट ठूला डुङ्गा आवतजावत गर्न मिल्ने गरी बनाइने उहाँले बताउनुभयो ।

पुलको दुई ठाउँमा टावर राखिने छ । पुल १२ मिटर फराकिलो हुनेछ । बीचमा साढे सात मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुनेछ । जहाँ साइकलसमेत चलाउन सकिने उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा बनाइसक्ने गरी ठेक्का सम्झौता गरेको छ ।

पहिलो एक वर्ष डिजाइन समय हो भने बाँकी तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार डिजाइनको काम करिब सकिएको छ । अहिले भएको नारायणीको पुल २०३८ सालमा बनेको हो । यो पुलमा १४ वटा पिल्लर छन् । भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको नारायणी नदीको अहिलेको पुल पुरानो र साँघुरो छ । यसैसँग जोडेर उत्तरतर्फ नयाँ पुल बनाउन लागिएको हो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया