प्रयोग गर्न नजान्दा र चेतनाको कमीले सामाजिक सञ्जाल मानव बेचबिखनको जालो बन्दै

विदेशमा बसेर बेचबिखन गर्नेहरू बढ्दै, सामाजिक सञ्जालका अपराधी पत्ता लगाउन प्रहरीलाई गाह्राे

 भदौ २, २०८१ आइतबार १८:४:४४ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – प्रयोग गर्न नजान्दा र चेतनाको कमीले सामाजिक सञ्जाल मानव बेचबिखनको जालो बन्दै गएको छ । फेसबुक, भाइबर, ह्वाट्स एपजस्ता सामाजिक सञ्जालमार्फत दलालले मानव बेचबिखनको जोखना थापिरहेका छन् । विदेशमा बसेर नेपालमा लक्षित गरी काम गर्ने गिरोहसमेत सक्रिय रहेकाले अपराधमा संलग्न व्यक्ति वा समूहसम्म सम्पर्कमा पुग्न चुनौती पनि थपिएको छ ।

यसको एउटा उदाहरण कैलालीको घटना हो । कैलालीका चार जना किशोरीले घर खर्च जुटाउन जागिर खोजिरहेका बेला उनीहरूले इमोमार्फत भारतीय नागरिक बताउने एक जना पुरुषसँग कुराकानी गर्न थाले । आर्थिक अभावको कमजोरीको फाइदा उठाउँदै ती पुरुषले किशोरीहरूलाई मासिक २० हजार भारतीय रुपैयाँको जागिर दिने प्रलोभन देखाएका थिए । किशोरीहरूलाई कसरी बसको टिकट काट्नेसम्मका कुरा दलालले सिकाएका थिए । घरका कुनै पनि सदस्यलाई जानकारी नगराई भारत जान हिँडेका किशोरीहरूलाई माइती नेपाल कैलालीले सीमामा रोक लगाएपछि उनीहरूलाई दलालले बेच्नबिखनका लागि बोलाएको खुलेको छ । यस्ता घटना दिनदिनै बढिरहेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले गरेको ‘मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७९’ मा १५ देखि १६ वर्षका किशोरीहरू पूजाका लागि, विवाह गरेर जानेलगायतका प्रलोभनमा परी फेसबुक, इमोबाट चिनजानका आधारमा भारततर्फ लाने गरेको अवस्था उल्लेख छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जनचेतना अभिवृद्धि भएकाले पछिल्लो समय मानव बेचबिखनविरुद्धका मुद्दा दर्ता बढ्दै गएको बताउनुभयो । सूचना प्रविधिको विकाससँगै छद्मभेषीमा दलाल संयन्त्र फैलिएको छ । ह्वाट्स एप, भाइबर, इमोजस्ता असङ्ख्य सञ्जाल अपनाएर विदेशबाट दलालले मानव बेचबिखनको जालोमा पारेका थुप्रै मुद्दा रहेको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमार्फत जालोमा पारेर भएका बेचबिखनका घटनाका अपराधी पत्ता लगाउन गाह्रो हुने मिश्रको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया